दैलेखको भुगर्वमा ५० वर्ष पुग्ने प्राकृति मिथेन ग्यासको भण्डार भएकाे पुष्टी

सुर्खेत, ६ असार ।
२०७२ सालमा जारी नेपालको संविधानपश्चात् चर्चामा आएको आयोजना हो, दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण । तत्कालीन समयमा जारी संविधानप्रति असन्तुष्टि जनाउँदै दक्षिणी छिमेकी देश भारतले अघोषित नाकाबन्दी लगाइदिएपछि यो परियोजना अगाडि बढाउने साइत जुरेको थियो । दक्षिणी छिमेकीको भारतको नाकाबन्दीपछि नेपालमा चुलिएको पेट्रोलियम सङ्कट टार्न पहिलोपटक आफ्नै देशमा अन्वेषण गर्ने कार्य सुरु भएको थियो ।

दक्षिणी छिमेकीको अघोषित सङ्कटका बेला पाठ सिक्दै अघि बढाइएको आयोजनालाई उत्तरी छिमेकीले झण्डै एक दशकपछि नतिजा दिने चरणमा प्रवेश गराएको छ । चिनियाँ सरकारको अनुदानमा सञ्चालित परियोजनाबाट प्राप्त पछिल्ला प्रारम्भिक नतिजाहरू सकारात्मक देखिएका छन् ।

चीनको जिओलोजिकल सर्बे कम्पनीले नेपाल सरकारलाई बुझाएको दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदनले अन्वेषण स्थलमा ठुलो मात्रामा मिथेन ग्यासको भण्डार रहेको तथ्य सार्वजनिक गरेको छ ।

२८ वैशाख २०८१ मा सुरु भएको ड्रिलिङको काम २० पुसमा चार हजार १३ मिटर गहिराईमा पुगेर सम्पन्न भएको थियो । दैलेखको भैरवी गाउँपालिका– १, जलजलेस्थित अन्वेषणस्थलमा ड्रिलिङको काम सम्पन्न भएसँगै तेस्रो चरणका कामअन्तर्गत सङ्कलित नमुना परीक्षण गर्न चीनतर्फ पठाइएको थियो । संकलित नमुनाको अन्तिम परीक्षणबाट अन्वेषणस्थलमा एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास भण्डार रहेको पाइएको छ ।

खानी तथा भूगर्व विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख निदेशकुमार नापितले जलजले क्षेत्रमा चारवटा सम्भावित कुवामध्ये पहिलो कुवाको मात्रै प्रारम्भिक नतिजा आएको बताए । उनका अनुसार बाँकी तीन कुवाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कुल चार सय ३० अर्ब घनमिटर ग्यास हुनेसक्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यो परिणामको ग्यासले नेपालको झण्डै ५० वर्षको आवश्यकतालाई पूर्ति गर्ने दावी गरिएको छ ।

‘हाल अवेन्वषस्थलबाट संकलन गरिएका नमुनाबाट प्राप्त नतिजा प्रारम्भिक हुन् । ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा अझ विस्तृत परीक्षण भइरहेको छ,’ परियोजना प्रमुख नापितले भने, ‘चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन प्राप्त हुन्छ ।’

अन्वेषणमा संलग्न नेपाली तथा चिनियाँ अधिकारीहरूले प्राकृतिक ग्यास रहेका पर्याप्त प्रमाणहरू यसअघि नै फेला पारिसकेका थिए । दैलेखमा वर्षौदेखि दैविक शक्तिका रुपमा पानीमा बल्ने ज्वालालाई विज्ञानले प्राकृतिक इन्धन भएको पुष्टि गरेसँगै इन्धनमा भारतसँगको परनिर्भरताको अन्त्य हुने चर्चा भइरहेको । कर्णालीको पहिचानमा जल, जंगल, पर्यटन, जडिबुटी, खानि तथा खनिजसँगै अब प्राकृतिक इन्धन पनि थपिएको छ ।

संकटबाट सिकेको पाठले मूर्तरुप लिदैँ
खानी तथा भूगर्भ विभागले विगत चार दशकदेखि पेट्रोलियम पदार्थको अन्वेषण गर्दै आएको छ । प्राविधिक जनशक्ति र उपकरण अभावले अन्वेषणले गति लिन भने सकेको थिएन । ३ असोज २०७२ मा नेपालको नयाँ संविधान जारी भएलगत्तै छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी लगायो । नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलियो । अभावकै बीचमा देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजी थालियो ।

अनि सुरु भयो दैलेखमा पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम । भारतीय नाकाबन्दीले नै यहाँ पेट्रोलियम पदार्थको उत्खननका लागि अन्वेषणको काम गर्ने साइत जुरेको थियो ।

२०७२ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ टोली दैलेख पुग्यो । पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न दैलेख आएको मन्त्री पाण्डेसहितको टोलीले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरुवात गर्ने उद्घोष गरेर फर्किएको थियो । उतिबेला अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ रहेको पुष्टि गरयो ।

२०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । नेपालले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण गर्न चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । उक्त सहमतिअनुसार २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

१६ असार २०७६ मा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नेतृत्वको टोलीले दैलेखको नाभिस्थान आएर अन्वेषणको औपचारिक उद्घाटन गरेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेको विज्ञ टोलीले अन्वेषणको काम थालेको थियो । दुई देशको प्राविधिक टोलीले साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ सर्भेलगायतका काम सम्पन गरिसकेको छ ।

स्थलगत सर्भेको काम सकेर कोरोना माहामारी सुरु हुनासाथ २०७६ फागुनमा चिनियाँ टोली चीन फर्किएको थियो । सन् २०२२ सम्म अन्वेषणको काम सक्ने गरी सम्झौता गरिएको भए पनि कोरोना महामारीका कारण हुन सकेन । त्यसपछि १४ चैत २०७८ को मन्त्रिपरिषद् बैठकले परियोजनाको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको थियो । दुई वर्ष म्याद थप गरेको एक वर्ष बित्दासमेत थप अन्वेषणको काम हुन सकेको थिएन ।

पञ्चकोशी तीर्थस्थलमध्ये अहिले श्रीस्थान, नाभिस्थान र पादुकामा अखण्ड रूपमा ज्वाला बलिरहेका छन । श्रीस्थानमा जमिनमुनिबाट निस्किएको अखण्ड दीपका रूपमा मन्दिरमा बाल्ने गरिएको छ । त्यो करिब तीन सय वर्षदेखि बलिरहेको स्थानीय बताउँछन् । तर, सरकारी अध्ययनले यसरी निरन्तर जमिनमा ज्वाला बल्नुको पछाडि कुनै दैविक चमत्कार नभएर जमिनमुनि प्राकृतिक ग्यास रहेको पुष्टि गरिसकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *