कर्णालीमा राष्ट्रिय पारा खेलकुद प्रतियोगिता हुँदै

सुर्खेत ,५ पुस।
कर्णाली प्रदेशमा राष्ट्रियस्तरको पारा खेलुकद प्रतियोगिता आयोजना हुने भएको छ । पारा फाउण्डेशनको आयोजनामा ९ देखि १४ माघसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । शनिबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पारा फाउण्डेशनका अध्यक्ष किशोरबहादुर शाहीले आसन्न १०औं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा संघीय सरकारलाई दवाब दिन कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
उनले कर्णालीमा पहिलो पटक हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगितासँगै पारा खेलकुद पनि कर्णालीमै गर्नुपर्ने माग गरे । उनका अनुसार सात प्रदेश र दुई विभागीय टिमबाट दुई सय जना ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरु प्रतियोगितामा सहभागी हुनेछन् । जसमा ह्ववीलचियर बास्केटबल, ह्ववीलचियर क्रिकेट, ह्ववीलचियर महिला–पुरुष पाँच किलोमिटर दौड र ह्वीलचियर नाच आयोजना हुने अध्यक्ष शाहीले बताए । उनका अनुसार बास्केटबल कर्णाली प्रादेशकि रंगशाला र क्रिकेट कालिञ्चोक क्रिकेट मैदानमा आयोजना हुनेछ । पाँच किलोमिटर दौड वीरेन्द्रनगरस्थित जुम्ला रोडमा सञ्चालन हुनेछ । अपाङ्गता भएका व्यक्तिहरु सहभागी हुने ठुलो प्रकृतिको खेल सञ्चालन गर्न बजेट अभावकै बीच प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले बताए ।
उनका अनुसार प्रतियोगिता सञ्चालन, खेलाडीको आवास व्यवस्थापन र यातायात खर्चवापत झण्डै ५० लाख बजेट आवश्यक छ । केही रकम स्थानीय तहसँग माग गरिएको बताउँदै उनले कर्णालीको खेलकुद हेर्ने विभागिय जिम्मेवारी पाएको सामाजिक विकास मन्त्रालयले असहयोग गरेको गुनासोसमेत गरे । उनले खेलका माध्ययमबाट अपाङ्गता भएका व्यक्तिहरुलाई हेरिने दृष्टिकोण बदल्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘अपाङ्गता भएका व्यक्तिहरुलाई अझै पनि समाजमा केही गर्न सक्दैनन्, उनीहरु घरभन्दा बाहिर निस्कन सक्दैनन् भन्ने मनोविज्ञान बसेको छ, यसलाई चिर्दै अपाङ्गता भएका व्यक्तिहरुले पनि अवसर पाए आफुलाई प्रमाणित गर्न सक्छन भन्ने सन्देश दिन प्रतियोगिता महत्वपूर्ण हुनेछ,’ अध्यक्ष शाहीले भने ।






