प्रकाशकीय : सत्यको अविचलित यात्रा

युगआव्हान दैनिकले आफ्नो रजत जयन्तीको अवसरमा एक महत्वपूर्ण माइलस्टोन पार गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट प्रकाशित यो पत्रिका पश्चिम नेपालको पत्रकारिता क्षेत्रको एक अविस्मरणीय नाम बन्न पुगेको सुखद सन्देश बाँड्न पाउँदा हामी खुसी भएका छौं । २५ बर्षको निरन्तर संघर्ष र समर्पणका साथ युगआव्हानले आफ्नो पाठक वर्गसँग निकट सम्बन्ध बनाउँदै एक विश्वासिलो पत्रिकाको रूपमा स्थापित हुन सफल भएका छौं ।

वि.सं. २०५७ फागुन २४ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता भई प्रारम्भमा साप्ताहिक रुपमा प्रकाशन भयो । २०६६ चैत्र २९ गतेदेखि दैनिक तथा २०७६ भदौ १ गतेदेखि कर्णाली प्रदेशमै पहिलोपटक ब्रोडसिट आकारमा प्रकाशन गर्न सफल भयौं । ठीक एक वर्षदेखि हामीले हाम्रो पत्रिकालाई मल्टिमिडियामा परिणत गरेका छौं । युगन्युज टिभी, युगन्युज डटकम, फेसबुक पेज, टिकटिक, मोबाइल एपमार्फत हाम्रा सञ्चार सामग्रीहरु प्रकाशन गर्दै आएको अवगत गराउन चाहान्छौं ।

निष्पक्षता, निर्भिकता र निरन्तरतालाई मुल मन्त्र बनाई स्थानीय स्रोतसाधन, उपलब्ध प्रविधिको भरपुर उपयोग गर्दै हामीले आफ्नो प्रकाशनलाई थप परिस्कृत, परिमार्जित, सुव्यवस्थित साथ दैनिक फरक÷फरक विषयवस्तुमा पाठकमाझ उपस्थिति जनाउने गरेका छौं । कोभिड–१९ को विश्वव्यापी महामारी, लकडाउनको अवस्थामा पनि देशका ठुला भनिएका सबै छापामाध्यम केही दिन बन्द भए । तर प्रदेशस्तरमा रहेर हाम्रो टिमले आफ्नो प्रकाशनलाई एक दिनपनि नरोकि नियमित प्रकाशन गरेर महामारीको ठूलो संकटपूर्ण अवस्थामा हाम्रा पाठकहरुलाई अन्यौलता, सन्त्रासमा सही सूचना र सन्देश प्रवाह गरी उक्त ऐतिहाँसिक क्षणको साक्षी हाम्रा पाठकवर्गहरु नै हुनुहुन्छ ।

कर्णालीको अभाव र बेरोजगारी समस्यालाई छिचोल्दै उद्यमशिलता, खानी, जल, जंगल, कृषि, जडिबुटीको उत्खनन्, प्रशोधन र पर्यटनको सम्भावना खोजीबारे हाम्रो निरन्तर पैरवी जारी छ । प्रदेश सरकार, संसद र स्थानीय सरकारका क्रियाकलापबारे नागरिकलाई जानकारी दिलाउनु हाम्रो मुख्य कर्म हो । पद, प्रतिष्ठा र शक्तिको दुरुपयोगबाट हुन सक्ने कानुन विपरितका गतिविधिलाई रोक्न, सुधार गर्नु, खबरदारी गर्नु हाम्रो प्रमुख धर्म हो । अधिकार प्राप्त अधिकारीबाट हुन सक्ने अनियमितता, भ्रष्टाचार, मनपरीविरुद्ध खबरदारी गर्न चुकेका छैनौं । पत्रिकामार्फत खोज, अनुसन्धानमूलक समाचार, लेख रचनासँगै कला, साहित्य, भाषाभाषी, लोककलाको संरक्षण र सम्वद्र्धन समेत हाम्रो प्राथमिकता हो ।

आयातमूखी मुलकको अर्थतन्त्रले संकटपूर्ण अवस्थामा पुगेको व्यवसायी क्षेत्रका मुद्दाहरुलाई निरन्तर उठाउँदै आएका छौं । स्थानीय उत्पादनको बजारीकरण, लागत महंगो, प्रचार प्रसारको अभावमा पलायन हुने अवस्थामा पुगेका स्थानीय कच्चा पदार्थमा आधारित उद्यमीहरुलाई प्रोत्साहन गर्न हामीले नियमित स्तम्भमार्फत स्थानीय उद्योगी, व्यवसायी र उत्पादनका बारेमा निरन्तर पैरवी प्रचार प्रसार गर्ने गरेका छौं । राज्य पुर्नसंरचनाले तीन तहमा अधिकार बाँडफाँड गर्दा पनि आ–आफ्ना कार्यक्षेत्रमा इमान्दारीपूर्वक कार्य नहुँदा जनताको चाहना, आकांक्षा र मुलभुत आवश्यकता पुरा भएको देखिँदैन । यसप्रति हाम्रो चिन्ता र चासो निरन्तर रहँदै आएको छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, समानता, पहिचान, शान्ति, न्याय र विकासका लागि संघर्षरत जाति, वर्ग, समुदाय र क्षेत्रका मुद्दा हाम्रो प्राथमिकतामा रहँदै आएका छन् ।

पत्रकारिताको जग र इतिहास बनेको प्रिन्ट (छापा माध्यम) पत्रकारिता पछिल्लो समय संकट उन्मुख रहेको छ । इन्टरनेटको माध्यमबाट सञ्चालित डिजिटल प्लेटफर्मले मिडियाको अस्तित्व, व्यवसायीकता र प्रभावकारितामा चुनौती खडा गरेको छ । सूचना प्रविधिको विकाससंगै मिडियाका आयामहरुमा र पाठकका अभिरुची परिवर्तन हुँदै गएका छन् । ठुला उद्योग, कलकारखानाको अभाव, सिमित स्रोत, साधन, भौगोलिक विकटता, सार्वजनिक खरिद ऐन÷नियमावली मोफसलका मिडियामैत्री नहुँदा सरकारी विज्ञापन काठमाडौं केन्द्रित हुने प्रवृत्तिलाई छिचोल्न केही हदसम्म सक्षम भएका छौं । राष्ट्रिय ‘ख’ वर्गमा स्तरोन्नतिसंगै देशभर हाम्रो उपस्थिति सशक्त बनाउने मिसनमा केन्द्रित छौं ।

सूचना प्रविधिको विकाससंगै आम नागरिकहरुको दैनिकी बदलिएको छ । सूचना र प्रविधि वर्तमान समयको उत्कृष्ट र अत्यावश्यक औजार हो । सूचनाको खोजीमा रहेका आम नागरिक, पाठक, स्रोता, दर्शकलाई एउटै प्लेटफर्म युगन्यूज मोबाइल एपबाट समाचार, मनोरञ्जन, शिक्षा, रोजगारीका विभिन्न अवसर, स्थानीय उद्यमशिलता र उत्पादनको डिजिटल मार्केटिङ गरी विश्वभर प्रचार प्रसार गरिरहेका छौं । सार्वजनिक खरिद प्रक्रियाको बोलपत्र, शिलबन्दी, आशयपत्र, प्रस्ताव आव्हान जस्ता सबै प्रकृतिका सूचनाहरु सःशुल्क र निःशुल्क उपलब्ध गराउँदै युगन्यूज डटकमलाई सूचनाको केन्द्र बिन्दुको रुपमा विकास गरिएको छ । डिजिटल प्लेटफर्मलाई उपयोग गरी आधारभूत
मुल्यमान्यता सहित पत्रकारिताको इतिहास जोगाउँदै आफ्ना समाचारजन्य उत्पादन, प्रकाशन सामाग्रीलाई थप व्यवस्थित, मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउनु हाम्रो मुल्य लक्ष्य रहेको छ ।

अझै पनि, युगआव्हानले आफ्नो पाठक वर्गको विश्वास जित्नका लागि निष्पक्ष पत्रकारिता गर्ने प्रतिवद्धता लिएको छ । यसका लागि, आफ्नो २५ वर्षको यात्रा एक कसमका रूपमा मानेर आगामी दिनहरूमा अझ उत्कृष्टता र सत्य समाचार प्रस्तुत गर्नका लागि आफ्नो प्रयासलाई निरन्तर अघि बढाउनेछौं । यो रजत जयन्ती केवल अतीतको सम्मान मात्र होइन, भविष्यको एक नयाँ सुरुवात पनि हो । युगआव्हान दैनिकको पत्रकारितामा विश्वसनीयता र निष्पक्षता कायम राखिरहन हामी हरक्षण प्रतिवद्ध भएर पाठकहरूलाई सत्यतथ्य समाचार र समर्पित सेवा दिन सकौं भन्ने प्रण व्यक्त गर्दछौं ।

अन्त्यमा, हाम्रो प्रगतिका सारथी बन्नुभएका पत्रिकामा आवद्ध पत्रकार, लेखक, व्यवस्थापन कर्मचारी, विज्ञापनदाता, पाठकवर्ग र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

दीपककुमार बुढाक्षेत्री
(प्रकाशक/सम्पादक)

प्रकाशकीय : सत्यको अविचलित यात्रा

सम्पादकीय : कर्णाली समृद्धिको आधार रारा

Leave a comment

Your email address will not be published. Required fields are marked *