सम्पादकीय : कर्णाली समृद्धिको आधार रारा

नेपालको प्राकृतिक सौन्दर्यको अनुपम उपहार मध्ये एक हो, रारा ताल । नेपालकै सबैभन्दा ठूलो ताल रारा कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ । सुन्दर हिमाली भूगोल, जैविक विविधता, सांस्कृतिक समृद्धि र मौलिक जीवनशैलीले भरिपूर्ण यो क्षेत्र समर्ग देशकै ठुलो सम्भावना बोकेको खानी हो । तर विडम्बना कर्णाली प्रदेश अझै पनि सबैभन्दा पछि परेको क्षेत्रको बिम्बले थिचिएको छ ।
राज्यका सेवा, सुविधा, पूर्वाधार विकास र रोजगारीका अवसरबाट बञ्चित रहँदै आएको यो प्रदेशका लागि रारा परिवर्तनको सम्भावनाले भरिएको एक समृद्धिको सम्वाहक हो । रारा ताललाई केन्द्रविन्दु बनाएर विकासको मोडेल तयार गर्न सक्ने हो भने यसले स्थानीय अर्थतन्त्र मात्र होइन, समग्र कर्णाली प्रदेशको सामाजिक र आर्थिक रूपान्तरण सम्भव छ । यो ताल पर्यावरणीय, सांस्कृतिक र पर्यटकीय दृष्टिले मात्रै महत्वपूर्ण छैन, यसले विकास र समृद्धिको ढोका खोल्ने आधार पनि प्रशस्त छन् ।
रारा क्षेत्र र यसको वरिपरिका गाउँहरूमा यदि दिगो र योजनाबद्ध विकासको रणनीति अपनाइयो भने यसले शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात लगायतका क्षेत्रमा व्यापक सुधार ल्याउन सक्छ । रारालाई प्रमु पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना अपार छ । बर्षेनी थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरू रारा पुग्छन् । तर कमजोर पूर्वाधार, यातायातको असहजता र सुविधायूक्त सेवाको अभावले अपेक्षित लाभ प्राप्त हुन सकेको छैन ।

यदि होटल, होमस्टे, सडक, सञ्चार र स्वास्थ्य सेवाहरूमा सुधार गरियो भने यो क्षेत्र पर्यटकहरूको आकर्षण केन्द्र बन्नेछ । यसले होटल व्यवसाय, गाइड सेवा, हस्तकला, कृषि र यातायात जस्ता क्षेत्रमा स्थानीय युवाहरूलाई रोजगारी दिन सकिन्छ । यसका लागि कम्यूनिटी बेस्ड टुरिज्म अर्थात् समुदायमा आधारित पर्यटन विकासको अवधारणा अपनाउन सके स्थानीय जनताको प्रत्यक्ष संलग्नता र लाभ सुनिश्चित हुने सम्भावना ठुलो छ ।
स्थानीय संस्कृतिको संरक्षणसँगै पर्यटनबाट आयआर्जन गर्ने वातावरण बनेमा युवाहरूलाई विदेश पलायन हुनुपर्ने छैन । तर विकासको दौडमा राराको प्राकृतिक सन्तुलन र जैविक विविधता क्षतिग्रस्त नहोस् भन्ने कुरा अत्यन्त महत्वपूर्ण छ । रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले यहाँको वन्यजन्तु, बनस्पति र तालको स्वच्छता संवेदनशील विषय हुन् ।
अनियन्त्रित निर्माण कार्य, फोहोर व्यवस्थापनको अभाव वा पर्यटकहरूबाट हुने अतिक्रमणले ताल र निकुञ्ज दुवै जोखिममा पर्न सक्छ । त्यसैले दिगो पर्यटन, वातावरण मैत्री पूर्वाधार र स्थानीय सहभागितामूलक व्यवस्थापन आवश्यक छ । सडक सञ्जाल र यातायात प्रणालीको सुधार पनि रारा विकासको पूर्व शर्त हो । बर्षायाममा सडक अवरुद्ध हुने, स्वास्थ्य सेवा नपुग्ने, आपतकालिन अवस्थामा सहायताको पहुँच नपुग्ने समस्या समाधान नगरी यहाँको पर्यटन दिगो बन्न सक्दैन ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच स्पष्ट जिम्मेवारी बाँडफाँड गरेर दिर्घकालिन नीति निर्माण गर्नुपर्छ । साथै, निजी क्षेत्र, गैरसरकारी संस्था र स्थानीय समुदायबीच सहकार्य गर्न सक्ने संयन्त्रको विकास आवश्यक छ । रारा केवल एक सुन्दर पर्यटकीय गन्तव्य होइन, यो कर्णालीको समृद्धिको मुहान हो । यो सम्भावनालाई मूर्तरूप दिन राजनीतिक इच्छाशक्ति, योजनाबद्ध रणनीति, पूर्वाधारको विकास, स्थानीय सहभागिता र वातावरण संरक्षणको सन्तुलन आवश्यक छ । यदि सही रूपमा यसको उपयोग गरियो भने राराले साँच्चै नै कर्णाली प्रदेशको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था परिवर्तनमा योगदान पु¥याउने छ ।






