सहकारी क्षेत्रको मर्यादा र विश्वास पुनःस्थापित गर्न इमान्दारीपूर्वक काम गर्नुपर्ने: मन्त्री अधिकारी

बाँके , ३१ बैशाख ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीहरू मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ।
नेपालगञ्जमा आज बिहान आयोजित प्रदेश स्तरीय बचत तथा ऋण सहकारी संस्था (साकोस) गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पछिल्लो समय “सबै सहकारी खराब छन्” भन्ने नकारात्मक धारणा बनेको भन्दै त्यसलाई खण्डन गर्न सहकारीहरूबाट नै असल अभ्यास प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो।
“गुमेको जनविश्वास फर्काउन वित्तीय अनुशासन कायम गर्दै इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकता छ,” मन्त्री अधिकारीले भन्नुभयो, “तीन खम्बे अर्थनीतिको एक महत्वपूर्ण आधारका रूपमा सहकारी क्षेत्रले समुन्नत समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ।”
मन्त्री अधिकारीले सहकारीहरूको निगरानी तथा नियमनका लागि स्थापना गरिएको सहकारी प्राधिकरणलाई अझ प्रभावकारी ढंगले परिचालन गरिने पनि बताउनुभयो।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा आयोजित उक्त गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साकोसहरूको सहभागिता रहेको थियो। गोष्ठीको उद्घाटन सत्र नेफ्स्कूनका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन बोर्ड सदस्य दिप्ती शाहीले गर्नुभएको थियो।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाका अनुसार सहकारी क्षेत्रका साझा चुनौती, सम्भावना र साकोस अभियानलाई दीगो विकासतर्फ अघि बढाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा सहकारी व्यवस्थापन, सुशासन, वित्तीय पारदर्शिता तथा भविष्यका रणनीतिबारे गहन छलफल र अन्तरक्रिया हुने जानकारी सापकोटाले दिनुभयो।






