जग्गा भोगाधिकार र रुख कटानको प्रक्रिया अघि बढ्ने



ओम शाही
सुर्खेत, २७ फागुन ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरदेखि खम्बागाडे सडकको १३.१ किलोमिटरमा जग्गा भोगाधिकार र रुख कटानको बाटो खुलेको छ । साढे दुई वर्षदेखि राष्ट्रिय प्राथमिकताप्राप्त सडकलाई कर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएपछि सिर्जना भएको अवरोध अन्ततः हट्ने भएको हो । सोमबार बसेको संघीय मन्त्रीपरिषद् बैठकले उक्त खण्डको वातावरणीय प्रभाव मूल्यांकन (आइई) स्वीकृत गरेसँगै लामो समयदेखिको भोगाधिकार र रुख कटानको अल्झन सुल्झिने संकेत देखा परेको छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त सडकमा हात हालेको प्रदेश सरकारले संघीय सरकारलाई जग्गा भोगाधिकारको अनुमति नपाइने छाँट देखापरेपछि पुनः मदन भण्डारी राजमार्गकै स्वामित्वमा रहने गरी प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेको थियो । २ पुस २०८१ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले बड्डीचौर–बिउरेनी–बाबियाचौर–विद्यापुर सडक खण्ड (१३.१ किमि) लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरिदिन पत्र लेखेको थियो ।

प्रदेश सरकारको अनुरोधपछि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २१ पुस २०८१ मा बड्डिचौर–खम्बागाडे सडकलाई राष्ट्रिय प्राथमिकतामा समावेश गरिदिन राष्ट्रिय योजना आयोगलाई पत्र लेखेको थियो । आयोगले संघीय वन तथा वातावरण मन्त्रालयलाई पत्र लेख्दै मदन भण्डारी लोकमार्गअन्तर्गत बड्डीचौर–बिउरेनी–बावियाचौर–विद्यापुर सडक खण्ड (१३.१ किमि) स्तरोन्नति गर्ने कार्यका लागि आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १० बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकेपछि आइई स्वीकृतीको प्रक्रिया अघि बढेको थियो ।

आइई स्वीकृत भएसँगै बड्डीचौर–खम्बागाडे सडक खण्डमा पर्ने जग्गा भोगाधिकार र रुख कटानका बाँकी प्रक्रिया अघि बढ्ने पूर्वाधार निर्देशनालय सुर्खेतका निमित्त निर्देशक इन्जिनियर सूर्यबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अब वन मन्त्रालयले स्वीकृति प्रदान गरेपछि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बमोजिम उक्त सडक खण्डमा पर्ने रुख कटान र जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइनेछ ।
शाहीका अनुसार बड्डीचौर–खम्बागाडे सडक स्तरोन्नतिको जिम्मा पाएको अनक जयदेवी जेभी बाँकेले वन क्षेत्र र भोगाधिकार विवाद नभएका ठाउँमा सडक चौडा पार्नेदेखि संरचना निर्माणको काम गरिहेको छ । गत पुसमा उक्त सडक निर्माणको काम सुरु नभए कानुनी प्रक्रिया थाल्ने प्रदेश सरकारको चेतावनीपछि अनक जयदेवीले फिल्डस्तरमा काम सुरु गरेको शाहीले बताए । ५ साउन २०७९ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे सडकको पहिलोखण्ड बराहताल गाउँपालिका– ५ स्थित बड्डीचौरमा डोजर चलाएर निर्माण व्यवसायी एवं संघीय सांसद दिक्पालकुमार शाहीले स्तरोन्नतिको जिम्मा लिएका थिए ।

राष्ट्रिय प्राथमिकता प्राप्त उक्त खण्डमा पर्ने १३.१ किलोमिटर सडक २०८१ असार मसान्तसम्म सम्पन्न गर्ने कार्यादेशसहित सांसद शाहीले जिम्मा लिएका थिए । शाही सांसदमा निर्वाचित भएपछि उक्त कम्पनी उनका छोराले सञ्चालन गर्दै आएका छन् । दुई वर्षभित्र सक्ने गरी कुल ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा अनक जयदेवी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच १४ असार २०७९ मा सम्झौता भई काम अघि बढेको थियो । तर, निर्धारित समय सकिएको ६ महिनासम्म उक्त सडकले २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको छ ।

रुख कटान र जग्गा भोगाधिकारलाई देखाउँदै आएको निर्माण कम्पनीले पाएको थप एक वर्षमा पाँच महिना बित्दासमेत फिल्डमा काम अघि नबढेपछि प्रदेश सरकार एक्सनमा उत्रिएको थियो । विवाद नभएका ठाउँमा यथाशीघ्र काम नथाले कालो सूचीमा राख्ने प्रदेश सरकारको चेतावनीपछि निर्माण व्यवसायीले काम थालेको पूर्वाधार निर्देशनालयले जनाएको छ । ५० को दशकमा निर्माण गरिएको जीर्ण सडकमा सास्ती भोग्दै आएका पश्चिम सुर्खेतका नागरिकमा मदन भण्डारी राजमार्गले पूर्णता पाउने देखेपछि आशा पलाएको छ ।

पश्चिम सुर्खेत मात्रै होइन, समग्र सुर्खेत जिल्ला नै मदन भण्डारी राजमार्गका कारण मुहार फेर्ने सुरसारमा छ । यो राजमार्ग सुर्खेतका नौमध्ये ६ वटा स्थानीय तहको बीचभागबाट पूर्वपश्चिम लाग्छ । गुर्भाकोट, लेकबेँसी, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकाको बीच भागबाट छिचोलिने यो सडकलाई नागरिकहरूले लाइफ लाइनका रूपमा बुझेका छन् । यो सडकले यी पालिकाको तीन लाख २२ हजार पाँच सय २१ जनसंख्यालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ दिनेछ । सुर्खेत पूर्व र पश्चिम खण्डमा मदन भण्डारी राजमार्ग आयोजनाले ठेक्का व्यवस्थापन गरेर धमाधम काम अघि बढाएपछि स्थानीय उत्साहित बनिरहेका छन् ।

पश्चिम सुर्खेतका नागरिकले व्यवस्थित सडकमा यात्रा गर्ने धोको अहिलेको भने होइन । २०५१ सालमै पश्चिम सुर्खेतलाई सडक सञ्जालमा जोड्न ट्याक खोलिएको थियो । तर, भण्डै ३१ वर्षसम्म पनि यो सडकको स्तरोन्नति नहुँदा नागरिक ४ घण्टा लाग्ने बाटोमा दुई दिन लगाएर कष्टकर यात्रा गर्न बाध्य छन् । सरकारले मदन भण्डारी सडक नामकरण गरी धमाधम स्तरोन्नतिको काम अघि बढाएपछि यहाँका नागरिकमा आशाको सञ्चार भइरहेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत खण्डको कामले गति लिएसँगै बिस्तारै सडकक्षेउमा व्यवस्थित ठूला बस्ती विकास हुँदै गएका छन् भने स्थानीयहरू आर्थिक उपार्जनमा समेत जोडिँदै जान थालेका छन् । यसले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने अपेक्षा राखिएको सरोकारवालाहरू बताउँछन् । मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको पूर्णतापछि कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेश पुग्न छोटा मार्गहरूसँग पहुँच विस्तार गर्नेछ । हाल कर्णालीका नागरिकलाई लुम्बिनी र सुदूरपश्चिम पुग्न सुर्खेत–कोहलपुर सडक खण्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

पश्चिम खण्डमा धमाधम काम
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले पश्चिम खण्डमा स्तरोन्नतिको काम दुई चरणमा अघि बढाइरहेको छ । सुर्खेतमा पहिलो चरणको काम थालिएको भेडाबारी–धुलियाविट ३५ किलोमिटर सडक खण्ड सम्पन्न हुने चरणमा छ । जसमा २५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।

सुर्खेत खण्डमा मदन भण्डारीले २०७८ बाट स्तरोन्तीको काम थालेको थियो । पश्चिम खण्डमा १७ फागुन २०७९ बाट विद्यापुर–विजौरा–बल्दे सडक खण्ड निर्माण सुरु भएको थियो । अहिले तेस्रो चरणमा विद्यापुर–चतुरे–चौर र बल्दै–बेतान–लगाम खण्डको २५ किलोमिटर सडकको ठेक्का व्यवस्थापन गरेर काम थालिएको छ । विद्यापुर डाँडादेखि दुलालथाई, चतुरे चोक भएर सडक चौर खोला जोडिनेछ ।
१० किलोमिटर सडक निर्माणको जिम्मा दिवा यती बिल्डर्स ललितपुरले पाएको छ । विद्यापुर डाँडाबाट सुरु गरिएको कामको हाल नयाँ सडक कटिङ, कल्भर्ट र नाला निर्माणको कामले गति लिइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इन्जिनियर रेशम वली बताउँछन् ।

उनका अनुसार बल्दे–लगाम १५ किलोमिटर सडक निर्माणको जिम्मा पनि यही निर्माण कम्पनीले पाएको छ । आगामी असारसम्म विद्यापुर–चौर खोला सडकमा सब बेस बिछ्याउने लक्ष्यका साथ काम भइरहेको दिवा यती बिल्डर्सका इन्चार्ज चन्द्रबहादुर खत्री बताउँछन् । माया तालसम्म रुख कटान सकिएको र माया ताल–लगाम २८ किलोमिटर क्षेत्रको कटानको प्रक्रियामा छ । वनको सबै प्रक्रिया अन्तिम चरणमा पुगेकाले अबको केही समयमै रुख कटान सुरु गरिने इन्जिनियर वलीले बताए ।

‘दोस्रो ठेक्का व्यवस्थापनपछि निर्माण व्यवसायीले सन्तोषजनक काम गरिरहेका छन्,’ इन्जिनियर वलीले भन्छन्, ‘यहीँ गतिमा काम भए असारसम्म ग्राभेल हुनेमा विश्वस्त छौँ ।’ २५ किलोमिटर सडक निर्माणका लागि १ अर्ब ३६ करोडमा यती बिल्डर्ससँग १४ भदौ २०८१ मा सम्झौता भएको उनले बताए । पश्चिम खण्डमा सडक विस्तारका लागि अधिकांश स्थानहरूमा विवाद समाधान भइसकेको छ । बाँकी रहेका स्थानमा पनि विवाद समाधानको प्रयास भइरहेको इन्जिनियर वलीले बताए । सुर्खेत खण्डमा निर्माण थालिएको सडक उत्कृष्ट डिजाइनमा तयार पारिएको वलीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *