सम्पादकीय : स्याउ किसानलाई राहत देऊ !

यस वर्षको बैशाख र जेठमा परेको भीषण असिनापानीले जुम्लामा कम्तीमा १५ करोड रुपैयाँबराबरको स्याउ नष्ट भएको छ । प्रारम्भिक तथ्यांकले उक्त अवस्था देखाएको भए पनि त्योभन्दा पनि बढी क्षति भएको अनुमान गरिएको छ । जुम्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति चन्दननाथ नगरपालिकामा भएको देखिएको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार चन्दननाथ नगरपालिकामा ११ सय ४४ जना किसानका एक लाख ४४ हजार एक सय स्याउका बिरुवा नष्ट हुँदा तीन करोड ८९ लाख सात हजारबराबरको क्षति भएको छ ।
यस्तै, तातोपानी गाउँपालिकामा १२ सय ७९ जना किसानको ८२ हजार ९ सय २० वटा बिरुवा नष्ट हुँदा तीन करोड ७३ लाख १४ हजार, तिला गाउँपालिकामा तीन सय १२ जना किसानको ३० हजार ६ सय ५७ बिरुवा नष्ट हुँदा एक करोड ६९ लाख ८ हजार पाँच सय २६ रुपैयाँबराबरको क्षति भएको छ । त्यसैगरी, हिमा गाउँपालिकामा असिनाले १२ सय दुई किसानको ७२ हजार आठ सय ९२ वटा स्याउका बिरुवा नष्ट गर्दा आर्थिक क्षति एक करोड ७७ लाख १२ हजार ७ सय ५६ रुपैयाँबराबरको भएको छ ।
सिंजा गाउँपालिकाका तीन सय किसानका सात हजार ५० बिरुवामा क्षति पुग्दा किसानले १४ लाख १७ हजार पाँच सय बराबरको घाटा व्यवहोरेको कृषि विकास कार्यालयको प्रक्षेपण छ । कनका सुन्दरी गाउँपालिमा एक हजार १५ जना किसानका ८७ हजार तीन सय २८ वटा स्याउका बिरुवा नष्ट हुँदा दुई करोड ५९ लाख ३६ हजार चार सय १६ रुपैयाँ, पातारासी गाउँपालिकामा नौ सय ३० जना किसानको ९७ हजार पाँच सय बिरुवामा क्षति पुग्दा एक करोड ८४ लाख २७ हजार पाँच सय बराबरको क्षति भएको छ ।
जिल्लाकै सबैभन्दा ठूलो स्याउ बगैँचा भएको गुठिचौर गाउँपालिकाका तीन सय १० जना किसानका ६१ हजार एक सय ३० वटा बिरुवा नष्ट हुँदा एक करोड ६५ लाख पाँच हजार एक सय रुपैयाँ बराबरको क्षति भएको छ । कृषि विकास कार्यालय जुम्लाले एक महिनाभन्दा बढी समय खर्चेर गाउँगाउँमा पुगेर तथ्यांक संकलन गरेको हो । प्राप्त तथ्यांकले विगतमा सरकारले बजार सुनिश्चित गरेन, मूल्य पाइएन, समयै सिफारिस पएनौँ भन्ने किसानहरू यस वर्ष झनै घाटामा गएको देखाएको छ । बीमा कम्पन्नीले बीमा दाबी भुक्तानी दिन आलटाल गरिरहेको र बीमा गर्न कठिनाइ रहेको भनिरहँदा असिनाले स्याउमा क्षति हुँदा जुम्लाका किसान स्याउ खेतीबाटै विस्थापित हुने अवस्था आएको छ ।
अहिले असिनाबाट प्रभावित सात हजार एक सय ९२ जना किसान राहत तथा स्याउ खेतीमा पुनस्र्थापनाको प्रतीक्षामा छन् । कर्णालीका स्याउ किसानलाई मौसममा आउने फेरबदलले सताइरहन्छ । कहिले असिना पानी त कहिले रोग किराका कारण किसानलाई स्याउ जोगाउनै मुस्किल परिरहेको छ । सरकारले प्राकृतिक प्रकोपबाट क्षति पुगे राहत दिने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यस्ता कार्यक्रम झन्झटिलो प्रक्रियाका कारण अधिकांश किसान यसको पहुँचमै पुग्न सक्दैनन् ।
यसरी दिइने राहत पनि क्षतिको तुलनामा निकै कम छ । स्याउ उत्पादक किसानहरु उत्पादनदेखि बजारीकरणसम्म ठुलो समस्या झेलिरहेका छन् । यसर्थ, किसानलाई स्याउ खेतीबाट पलायन हुन नदिन उनीहरुले महशुस गर्ने गरी सरकारले सरलिकृत राहत तथा बीमाका प्याकेजहरु अघि सार्नु पर्दछ । कर्णालीको स्याउबाट यहाँको अर्थतन्त्र सुधार गर्न सकिने निकै सम्भावना छ । मौसमजन्य प्रकोपबाट स्याउ खेतीलाई जोगान वैकल्पिक उपाय खोजेर स्याउ उत्पादक किसानलाई पलायन हुनबाट जोगाउँनु राज्यको पहिलो दायित्व हो ।






