जेन्सी आन्दोलनको प्रभाव न्यून, नेपालगञ्ज भन्सारको राजस्व असुलीमा वृद्धि
बाँके,२३ कार्तिक ।
जेन्सी आन्दोलनका कारण बाँके र आसपासका क्षेत्रमा केही आर्थिक प्रभावित भए पनि नेपालगञ्ज भन्सारको राजस्व असुलीमा सकारात्मक संकेत देखिएको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व असुलीमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका पहिलो तीन महिनामा ४ अर्ब ४७ करोड ६३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा झन्डै ७ करोड रुपैयाँले बढी हो।
भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार जेन्सी आन्दोलनले आर्थिक गतिविधिमा केही असर पारे पनि भन्सार राजस्वमा ठूलो प्रभाव नपरेको हो। उनका अनुसार राजस्व वृद्धि हुनु सकारात्मक सन्देश हो, जसले बजार आपूर्तिमा स्थायित्व र सीमावर्ती व्यापारमा नियमितता देखाउँछ।
नेपालगञ्ज भन्सार कार्यालयको वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ८७ लाख ८२ हजार रुपैयाँ रहेको छ। पौडेलका अनुसार हालको प्रवृत्तिलाई हेर्दा वार्षिक लक्ष्य हासिल हुने सम्भावना बलियो छ।
नेपालगञ्ज भन्सार हुँदै पेट्रोलियम पदार्थ, फलाम, सिरेमिक्स, चामल, चिनी र उद्योगका कच्चा पदार्थ आयात हुने गर्छन्। साथै, जडीबुटी लगायतका सामग्रीहरूको निर्यात पनि यस भन्सारमार्फतै हुँदै आएको छ।
नेपालगञ्ज भन्सारको यो निरन्तर सुधारले सीमावर्ती व्यापारलाई थप गति दिने तथा प्रदेशको आर्थिक सन्तुलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





