फोर्स गाडीलाई ट्रकले ठक्कर दियो, ८ घाइते

सुर्खेत, २५ जेठ ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा शनिबार साँझ एक यात्रुवाहक फोर्स गाडीलाई ट्रकले ठक्कर दिँदा ८ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ भने प्रहरीले दुर्घटनालगत्तै फरार भएका ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख ०८५० नम्बरको फोर्स गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०१–००१ ख २९३४ नम्बरको ट्रकले भेरीगंगा नगरपालिका–५ मा ठक्कर दिएको हो ।

फोर्स गाडीमा ३८ वर्षीय चालक तेज बहादुर कार्कीसहित ११ जना सवार रहेकोमा ८ जना घाइते भएका हुन् । अन्य तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार भएका ट्रक चालकलाई बबईस्थित प्रहरी पोष्टले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *