प्रभावकारी बन्दै बारेकोटको मानव–पशु अलग घर कार्यक्रम

सुर्खेत, २५ जेठ ।
जाजरकोटको बारेकोट गाउँपालिकाले थालेको अलग मानव, अलग पशु घर निर्माण कार्यक्रम प्रभावकारी बनेको छ । आर्थिक वर्ष २०७९/०८० बाट सुरु भएको कार्यक्रममा चालु आर्थिक वर्षको हालसम्म दुई सय १९ परिवार लाभाविन्त भएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा कर्णाली प्रदेश सरकारले अलग मानव र पशुको घर निर्माण कार्यक्रमका लागि ५० लाख बजेट व्यवस्थापन गरेको थियो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार चालु आर्थिक वर्षमा प्रदेश सरकारले मानव र पशुलाई अलग राख्नका लागि गोठ निर्माण कार्यक्रममा एक करोड अनुदान व्यवस्थापन गरिएको छ । पालिकाले पनि यस कार्यक्रमका लागि ४० लाख रुपैयाँ लगानी गरेको छ ।
बारेकोट मात्रै होइन कर्णालीका अधिकांश जिल्लामा माथिल्लो तलामा मानव र भुइँ तलामा पशु चौपायको गोठ निर्माण गरेर बस्ने प्रचलन अझै कायम छ । २०७९ को स्थानीय तहको निर्वाचनमा बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष गिरीले थालेको कार्यक्रम पालिकाका सबै वडामा विस्तार भएको छ । मान्छे र पशु सँगै बस्दा पशु तथा मानव स्वास्थ्यमा नकरात्मक असर नपरोस् भन्ने हेतुले मानव–पशु अलग घर कार्यक्रम सुरु गरिएको अध्यक्ष गिरीले बताए ।

‘हालसम्म दुई सय १९ परिवार यो कार्यक्रममा आवद्ध हुनु भएको छ । अरु लाभग्राही छनौट हुने प्रक्रियामा हुनुहुन्छ । यस कार्यक्रमबाट मानवका कारण पशुलाई र पशुका कारण मानवलाई असर नपरोस् भन्ने हाम्रो ध्येय हो,’ अध्यक्ष गिरीले भने । उनका अनुसार सुरुमा १० भैंसी पालेका किसानलाई यो कार्यक्रममा समावेश गरिएको थियो । चालु आर्थिक वर्षमा पाँच भैंसी पालेका किसानलाई कार्यक्रममा समावेश गरिएको उल्लेख गर्दै उनले आगामी वर्षबाट पाँचभन्दा कम भैंसी पालेका किसानलाई पनि आवद्ध गराइने बताए ।
भैंसी पालेका किसानलाई कार्यक्रममा समावेश गरे पश्चात गाई र बाख्रा पालन गर्ने किसानलाई समेत मानव–पशु अलग घर कार्यक्रममा समावेश गर्ने योजना रहेको गिरीले सुनाए । यस कार्यक्रमबाट मानव तथा पशु स्वास्थ्यको प्रवद्र्धनसँगै पशुपालनमा किसानलाई आकर्षित गर्ने लक्ष्य पालिकाले राखेको छ ।
पालिकाभित्र पशुपालन गरेर दैनिक गुजारा चलाइरहेका किसानलाई पशु घर निर्माणको कार्यक्रमले समेट्ने गरेको उनले बताए । उनका अनुसार कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माण गरिएका छ भने स्थानीय स्रोत साधन प्रयोग गरेर पशु घर निर्माण गर्ने गरिएको छ ।
‘पशु घर निर्माणले पशु चौपायाको स्वास्थ्य राम्रो हुनुका साथै मानवको स्वास्थ्यलाई समेत सघाउ पुग्ने हाम्रो अपेक्षा हो,’ उनले भने, ‘आर्थिक अभावका कारण मानव र पशु चौपाया एकै ठाउँमा हुँदा स्वास्थ्यमा समस्या आउने देखिएपछि हामीले यो कार्यक्रम शुभारम्भ गरेका हौं ।’
गाउँपालिका र प्रदेश सरकारको लगानीमा उक्त कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै उनले आगामी वर्ष पनि कार्यक्रमले निरन्तरता पाउने अपेक्षाग रेको बताए । उनका अनुसार बारेकोट गाउँपालिकाको कुल २५ हजार जनसंख्यामा एकाध बाहेक अधिकांश मानिसहरु पशुसँगैको घरमा बस्ने गरेका छन् ।






