फेरिँदो बुलबुलेको स्वरुप : कलात्मक शैलीका ढुंगेधारा बनाउन सुरु
सुर्खेत, २५ जेठ ।
सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुले ताललाई मौलिक कलात्मक बनाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि निर्माण गरिएको पानी पिउन र नुहाउँन प्रयोग गरिने मुख्य तालको स्वरुप परिवर्तन गर्न लागेको हो ।
नगरपालिकाले पुराना संरचना जिर्ण हुँदा वालबाट पानी चुहिने समस्याको समाधानका साथै यसको सौन्दर्य बढाउन पुराना धारा हटाएर नयाँ कलात्मक शैलीका मौलिक ढुङ्गेधार जडान गर्न थालेको छ ।
३० लाख लागतमा ताल वरिपरीका जिर्ण पुराना संरचना भत्काएर स्थानीय पत्थर तथा मौलिक कलात्मक शैलीका ढुङ्गेधारा जडान गर्ने कार्य थालिएको नगरपालिकाले जनाएको छ । यसले बुलबुलेको मुख्य चिनारी तालको थप सोभा बढ्ने नगरपालिकाको विश्वास छ ।
नगर गौरवको योजना अन्तर्गत तालको बाहिरी भागमा पानी चुहावट रोक्न मेस जालीसहितको प्लाष्टर गरिने र त्यसको बाहिरी भागमा स्थानीय पत्थरसँगै कलात्मक ढुङ्गेधारा जडान गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाका सव–इन्जिनियर रामचन्द्र गौतमले बताए ।
बुलबुलेको गुरुयोजना अन्तर्गत तालको स्वरुप परिवर्तन गर्न लागिएको उनले बताए । गुरुयोजनाअनुसार अहिले नुहाउन प्रयोग गरिएका तालका धाराहरू प्लाजाका रूपमा स्थापना गरिने उल्लेख छ । तालको स्वरुप परिवर्तनसँगै अबदेखि बुलबुलेमा नुहाउन पाइने छैन ।
नगरपालिकाले बुलबुलेलाई व्यवस्थित गर्न गुरुयोजना अनुसारका व्यवस्थित संरचना निर्माणका कामहरु यसअघि नै बढाइ सकेको छ । सुर्खेत नगर विकास समितिले आर्थिक वर्ष २०७४/०७५ बाट प्राथमिकताका साथ अघि बढाएको व्यवस्थित बुलबुले तालको योजनाअन्तर्गत दोस्रो चरणका संरचनाहरू निर्माण कार्यहरु भइरहेका छन् । नगर विकास समितिले आर्थिक वर्ष २०७४/०७५ मा २० वर्षे बुलबुले उद्यान गुरुयोजना तयार पारेको थियो ।
बुलबुलेमा पूर्वाधार निर्माणलाई समेटेर विभिन्न २२ वटा योजना समेटिएको गुरुयोजना बने पनि अझै अधिकांश योजना पूरा हुन सकेका छैनन् । गुरुयोजनामा ताल क्षेत्रमा पक्की पर्खाल निर्माण, माथिल्लो एक छेउमा कमलका फूलहरू फुलाइनेदेखि ताल विस्तारसँगै उद्यानभित्र टिकट घर, स्वीमिङ पुल, पिकनिक क्षेत्र, रिङरोड, डुङ्गा सवारी, रङ्गीन बगैँचा, बाल उद्यान, धार्मिक मानिसका लागि भौतिक संरचना, विश्राम कक्षलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
गुरुयोजनाको पहिलो चरणका कामहरूमा ताल क्षेत्रलाई पक्की पर्खालले सुरक्षित बनाइएको छ भने मुख्य ताललाई विस्तार गरी डुङ्गा चल्ने बनाइएको छ । यस्तै, ताल क्षेत्रभित्र अन्य भौतिक संरचनासँगै पिकनिकस्थल, यात्रु विश्रामस्थल, इत्राम खोलामा तटबन्ध, पैदलमार्ग, ताल संरक्षणका लागि घेरबार, रेलिङ, सोलार बत्ती जडानलगायतका काम सम्पन्न भएका छन् ।
दोस्रो चरणको कामअन्तर्गत यसअघि विस्तार गरिएको तालको माथिल्लो भागमा अर्को ताल निर्माण गर्न गर्ने कार्य जारी छ । उक्त ताललाई चार हजार दुई सय वर्गमिटरमा विस्तार गरिने छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बुलबुले गुरुयोजना कार्यान्वयनअन्तर्गत विनियोजन गरेको एक करोड बजेटबाट नयाँ ताल निर्माण थालिएको हो ।
नयाँ निर्माण गर्न लागिएको तालमा जैविक विविधता (पानीमा खेल्ने चरा) को अस्तित्व जोगाउने गरी ताल निर्माण, कम्पाउन्ड वाल, क्यानल कभर, प्लस्टर र फुटपाथ व्यवस्थापन गरिने जनाइएको छ । नयाँ बनाउन लागिएको तालमा पानीको संरक्षणसँगै डुङ्गा चल्ने मुख्य तालमा पानीको आपूर्तिको व्यवस्था मिलाइनेछ ।
गुरुयोजना कार्यान्वयनअन्तर्गतको पहिलो चरणको काममा मुख्य ताललाई ११ हजार वर्गमिटरबाट २८ हजार वर्गमिटरमा विस्तार गरी डुङ्गा सञ्चालन गर्न मिल्ने बनाइएको छ । गुरुयोजनामा समेटिएका बाँकी कामहरू क्रमशः अघि बढाउँदै लगिने नगरपालिकाले जनाएको छ । गुरुयोजना कार्यान्वयनका लागि आवश्यक पर्ने दुई करोड ३० लाख बजेटमध्ये प्रदेश सरकारले चालु आर्थिक वर्षमा बहुवर्षीय योजनामा स्रोत सुनिश्चितसमेत गरिसकेको छ ।
पर्यटकको चापसँगै बढ्दै राजश्व
पछिल्लो समय बुलबुले तालमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ । यसले नगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय प्रदेशको राजधानी बनेसँगै १० वटै जिल्लाका नागरिकको रोजाइमा परेको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट चल्न सुरु भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ ।
विगतका वर्षमा बुलबुले ताल परिसरबाट मुस्किलले २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने गरेकोमा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको नगर प्रमुख मोहनमाया ढकाल बताउँछिन । पहिला बुलबुले ताल परिसरमा जानेहरूसँग टिकट बिक्रीबाट मात्रै राजस्व सङ्कलन हुन्थ्यो । तर अहिले राजश्व संकलनको स्रोत थपिएको उनले बताइन ।
उनका अनुसार मोटरबोटबाट वार्षिक १३ लाख, फोटो खिच्नेहरुबाट बार्षिक १२ लाख आम्दानी भइरहेको छ । उनका अनुसार बुलबुलेमा दर्जन बढी युवालाई नियमित रोजगारीको अवसर मिलेको छ । बुलबुले घुम्न आउने पर्यटकको दैनिक फोटो खिचेर उनीहरुले मनग्य आम्दानीसमेत गरिरहेको उनले बताइन ।
सुर्खेत उपत्यका नगर विकास समितिका अनुसार गत वर्ष बुलबुले अवलोकन गर्न आउने पर्यटकबाट ९९ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । नगर विकास समितिका उपत्यका निरीक्षक दिनेश ढकालले यस वर्ष बुलबुलेबाट एक करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए ।
उनका अनुसार शनिबारलगायत बिदाको दिन एक लाखभन्दा बढीको टिकट बिक्री हुने गरेको छ भने अन्य समयमा १५ हजारदेखि २० हजार रुपैयाँबराबरको टिकट बिक्री हुने गरेको छ ।
२०३० सालमा तत्कालीन राजा वीरेन्द्रले बुलबुलेलाई उद्यानको रूपमा विकास गर्न लगाएका थिए । त्यसयता २०४५ सालदेखि बुलबुलेलाई उद्यानको रूपमा विकास गर्न सरकारले अपनत्व लिन सुरु गरेको थियो । ताल क्षेत्रमा निर्माण गरिएका विभिन्न उद्यान, शक्तिपीठ र यहाँ फुलेका रङ्गीचङ्गी फूल तथा मनोरम हरियाली वातावरणले पर्यटकको मन लोभ्याउने गरेको छ ।
शान्त वातावरणका साथ प्राकृतिक सुन्दरताले भरिएको बुलबुले ताल पुग्ने जोकोही पनि प्रकृतिको आनन्द लिएर फर्कने गर्छन् । बुलबुले आन्तरिक पर्यटकका लागि पिक्निकस्थल पनि हो । बुलबुले ताल मात्रै होइन, यो समग्र सुर्खेत जिल्लाको चिनारीसमेत हो । तालकै नामबाट सिर्जना गरिएका गीत सङ्गीतका माध्ययमबाट सुर्खेतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन मद्दत पुगेको छ ।