कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुने

बाँके ,१ जेठ ।
कोहलपुर नगरपालिकामा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आयोजनामा जेठ १ गतेदेखि ‘प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ (ख) अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता’ सञ्चालन गर्न लागिएको हो ।
शिक्षक महासंघ कोहलपुर नगरपालिकाका अध्यक्ष निमप्रकाश थापाका अनुसार प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ (ख) अन्तर्गतका स्थानीय तहका विद्यालयमा अध्ययनरत १६ वर्षमुनिका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।
उनका अनुसार प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले विद्यालय तहमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै लुकेका प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा क्षेत्र नम्बर १ (ख) अन्तर्गतका ३० भन्दा बढी विद्यालयको सहभागिता रहनेछ । सहभागी खेलाडीको जन्ममिति २०६७ वैशाख २८ गतेपछि र २०७० वैशाख २८ गतेअगाडि भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, २०८२ सालमा एसइई परीक्षा दिएका विद्यार्थीले पनि प्रतियोगितामा सहभागी हुन पाउने अध्यक्ष थापाले जानकारी दिए ।
जेठ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कृष्ण माध्यमिक विद्यालय तथा कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलको खेलमैदानमा सञ्चालन गरिनेछन् ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई पाँच लाख रुपैयाँ, द्वितीय हुने टोलीलाई तीन लाख रुपैयाँ तथा तृतीय हुने टोलीलाई दुई लाख रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । साथै, सहभागी विद्यालयले निःशुल्क रूपमा टिम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।






