मासु व्यवसायबाट बदलिएको दिलबहादुरको जीवन

गाेल्डेन बुढा
जुम्ला,१ जेठ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलका ४९ वर्षीय दिलबहादुर विश्वकर्मा २०६८ सालमा जुम्ला आउँदा उनका हात साँच्चै खाली थिए। न बैंक खातामा रकम थियो, न राजनीतिक चिनजान, न व्यापारको ठूलो योजना। थियो त केवल एउटा अडिग विश्वास,“मेहनत गरे जिन्दगी बदलिन्छ।”त्यो समय देशका हजारौं युवाजस्तै उनीसँग पनि विदेश जाने विकल्प थियो। गाउँका धेरै साथी खाडी पुगेका थिए। कोही भारततिर लागेका थिए। गाउँका घरहरू युवाविहीन बन्दै थिए। तर दिलबहादुरले फरक बाटो रोजे। उनले परदेश होइन, जुम्लाको चिसो माटो रोजे।खलंगा उक्लिँदा उनले सपनाको भारी बोकेका थिए, तर साथमा कुनै सुरक्षा थिएन। जीवन धान्न जे काम पाइन्छ, त्यही गर्नुपर्ने अवस्था थियो। अन्ततः उनले भेडाखसीको मासु बेच्ने व्यवसाय रोजे,त्यस्तो काम, जसलाई समाजले धेरै सम्मानका साथ हेर्दैन। रगत, गन्ध र छुरासँग जोडिएको काम।तर दिलबहादुरका लागि त्यो केवल मासु बेच्ने पेशा थिएन। त्यो परिवार बचाउने युद्ध थियो।चन्दननाथ नगरपालिका–४ टुडिखेल लाइनस्थित भारतीबाडामा उनले ‘सुर्खेती फ्रेस हाउस’ सुरु गर्दा धेरैले टिक्दैन भन्ने सोचे। तर उनी टिकिए। किनकि उनीसँग विकल्प थिएन। हार्नु भनेको परिवार हार्नु थियो।उनको दिन बिहान होइन, रात नबित्दै सुरु हुन्छ। बिहान ४ बज्नुअघि नै उनी उठिसकेका हुन्छन्। अरू मानिस निद्रामै हुँदा उनी चिसो पानीले हात धोएर छुरा समातिरहेका हुन्छन्।
शरीरमा मासुको गन्ध टाँसिन्छ। हात रगतले रातिन्छ। बजार खुल्नुअघि नै पसल तयार पार्नुपर्छ।“८ बजेसम्म बिक्री सकिन्छ,” उनी भन्छन्, “त्यसपछि बल्ल शरीरले थकाइ महसुस गर्छ।”तर त्यो पसलमा मासु मात्र बेचिँदैन। त्यहाँ संघर्ष बेचिन्छ। जिम्मेवारी बेचिन्छ। एउटा बाबुको निद्रा बेचिन्छ। आफ्ना सन्तानको भविष्य किन्न उनले हरेक बिहान आफ्नो आराम काटिरहेका हुन्छन्।उनले जुम्लाका गाउँ–गाउँ डुलेर किसानसँग सम्बन्ध बनाए। भेडापालकसँग विश्वास जोडे। १० हजारदेखि ४५ हजार रुपैयाँसम्मका भेडाखसी किनेर बजार ल्याउँछन्। कहिलेकाहीँ किसानले फोन गरेर “ सुर्खेती दाइ, भेडा तयार छ” आउनुहोस्,भन्छन्। दिलबहादुर कहिलेकाहीँ आफै लिन पुग्छन्,कहिलेकाहीँ ल्याइदिनु भनेर भन्छन्,अहिले उनीसँग २० ज्यान भेडाखसी छन्।जुम्लामा उनले पहिलोपटक मासु प्रतिकेजी ४ सय ५० रुपैयाँमा बेचेका थिए। अहिले त्यही मासु १ हजार १ सय रुपैयाँ पुगेको छ। मूल्य बढेको छ, तर संघर्ष झन् महँगो भएको उनी महसुस गर्छन्।उनको पसलमा आउने ग्राहक ग्राहक मात्र होइनन्, वर्षौंको विश्वास हुन्। सिद्धार्थ होटल, खड्का होटलजस्ता चर्चित होटल नियमित ग्राहक बनेका छन्।खड्का होटलका सञ्चालक खड्क थापा भन्छन्, “मैले व्यवसाय थालेदेखि उनकै पसलबाट मासु लिन्छु। सफा छ, विश्वासिलो छ, चाहिएको बेला पाइन्छ।प्रतिदिन सयौं जना मासु लिन लाइनमा हुन्छन्।”विश्वास पैसा तिरेर किन्न सकिँदैन। त्यो समय, पसिना र इमानले कमाउनुपर्छ। दिलबहादुरले त्यो विश्वास आफ्नो शरीरको श्रमबाट बनाएका छन्।६ जनाको परिवार यही व्यवसायले धानेको छ। घरभाडा, लुगाफाटो, छोराछोरीको पढाइदेखि दैनिक खर्चसम्म सबै यही पसलको कमाइले चलेको छ। मासु पसलको मात्रै मासिक १३ हजार ५ सय रुपैयाँ भाडा तिर्छन्।सबै खर्च कटाएर पनि उनी मासिक ४५ हजार रुपैयाँ बचत गर्न सफल छन्। वार्षिक बचत ५ लाख ४० हजार रुपैयाँ पुग्छ।त्यही कमाइबाट उनले एक वर्षअघि खलंगामै ६ सय ५० वर्गमिटर घडेरी किने। ५० लाख रुपैयाँ खर्चिएको त्यो घडेरी उनका लागि जग्गा होइन, आफ्नो पसिनाको प्रमाणपत्र हो।सायद दिलबहादुर आफैंले धेरै पढ्न पाएनन्। तर उनले आफ्नो अधुरो सपना छोराछोरीको आँखामा सारिदिएका छन्।उनका छोरा काठमाडौंमा साइन्स पढिरहेका छन्। जेठी छोरी जुम्लाको कर्णाली प्राविधिक शिक्षालय (केटीएस) मा ओभरसियर पढ्दैछिन्। कान्छी छोरी निजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्।“छोराछोरीलाई पढाउन सकेको छु,” उनी भन्छन्, “त्यही नै मेरो सबैभन्दा ठूलो कमाइ हो।”यो कुराकानी गर्दै गर्दा उनको अनुहारमा थकानभन्दा बढी सन्तुष्टि देखिन्छ। किनकि उनले जीवनमा धेरै कुरा गुमाए, तर आफ्ना सन्तानको भविष्य गुम्न दिएनन्।उनकी धर्मपत्नी कौशिला विश्वकर्मा पनि व्यवसायमा सँगसँगै खटिन्छिन्। भेडाखसीका खुट्टा प्रतिकेजी ९ सय रुपैयाँ र आन्द्राभुँडी प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री हुने गरेको उनी बताउँछिन्।आज देशका हजारौं युवा विदेशी भूमिमा पसिना बगाइरहेका छन्। कोही बाकसमा फर्किरहेका छन्, कोही ऋणमै डुबिरहेका छन्। गाउँका खेत बाँझिएका छन्। घरहरू रित्तिएका छन्। तर दिलबहादुर भने आफ्नै माटोमा सम्भावना खोजिरहेका छन्।उनी भन्छन्,“गर्नेलाई आफ्नै देशमै अवसर छ। विदेशिनै पर्छ भन्ने छैन। मेहनत गर्नुपर्छ, जोखिम मोल्नुपर्छ। परिवारसँग बसेर पनि राम्रो कमाइ गर्न सकिन्छ।”मान्छे ठूलो पूँजीले होइन, ठूलो साहसले उठ्छ।उनी भन्छिन्,





