जुम्लामा यो वर्ष ४० प्रतिशत स्याउ उत्पादन

गाेल्डेन बुढा

जुम्ला,२२ भदौ।
गतवर्षकाे तुलनामा जुम्लामा यो वर्ष ४० प्रतिशत मात्रै स्याउ उत्पादन भएको छ।यो वर्ष असिनापानी र खडेरीले स्याउको उत्पादनमा गिरावट आएको हो।कृषि विकास कार्यालयका अनुसार अहिले स्याउको गुणस्तर र गुलियोपना भए नभएको नापजाँच गरेर मात्र बजार पठाइएको छ। ‘स्याउको उत्पादन, निर्यात र आम्दानीका विषयमा तथ्यांक संकलनको काम सुरु भइसकेको छ,’ कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउँछन्।आजभोलि जुम्लाका किसान बिहानैदेखि बेलुका अबेरसम्म बगैंचा देखिन्छन्।यो समयमा किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ ।

तल्लो क्षेत्रका किसानले स्याउ टिपेर व्यापारीलाई बेचिसकेका छन्। भने माथिल्लो क्षेत्रका किसान स्याउ टिप्दै छन्।जुम्लाको एक चन्दननाथ नगरपालिका, सात गाउँपालिकाका ६० वटै वटामा किसानले स्याउ टिप्न सुरु गरेका छन्। यसपालि स्याउको उत्पादन कम भए पनि गुणस्तरीय फल लागेकाले व्यापारीहरु बगैंचामै पुगेर स्याउ खरिद गरिरहेका छन् । बगैंचामै प्रतिकेजी ७० रुपैयाँमा स्याउ बेचिरहेको किसानहरु बताउँछन्। केही ठाउँका बगैंचाका स्याउ भने बजार पुगिसकेका छन् । ‘लेकाली क्षेत्रको स्याउ टिप्न भर्खरै सुरु भइरहेको छ,’ किसान रामबहादुर रावतका अनुसार, ‘जिल्ला एकै भए पनि ठाउँ अनुसारको फरकफरक समयमा पाक्ने गरेको छ ।’पहिले कृषि विकास कार्यालयले नै स्याउको मूल्य तोक्ने गरेकामा यसपालि किसान आफैले मूल्य तोकेर बेचिरहेका छन् । ‘केही स्याउ किसान आफैले बेच्न लगेका छन्,’ रावतले भने भने, ‘धेरै किसानले गाउँमै आउने व्यापारीलाई बेचेका छन् ।’ कृषिका अनुसार तथ्यांक संकलनका लागि कर्णाली राजमार्गमा रहेको नाग्म प्रहरीचौकीलाई जिम्मेवारी दिइएको छ ।

हरेक स्याउ बोकेका मालवाहक गाडीको तथ्यांक राख्ने काम चौकीले गरिरहेको छ ।अहिले स्याउ टिप्ने, स्याउ बोकेर सडकमा पुर्‍याउनेदेखि गाडीमा राखेर ढुवानी गर्नेसम्मको काम पनि चलिरहेको छ । समयमै जुम्ली स्याउको कार्टुन नहुँदा भारतीय र चिनियाँको स्याउको कार्टुनमा किसानले स्याउ पठाइरहेका छन् । केही किसानले त तराईदेखि आएका गोलभेडाका कार्टुनसमेत प्रयोग गर्ने गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान मेटिने हो कि भन्नेमा किसान चिन्तित छन् ।अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन इकाइ स्याउ सुपरजोनले ११ हजार कार्टुन ल्याएर बाँडेको छ । कृषि विकास कार्यालय जुम्लाले ‘जुम्ली एप्पल’ लेखेको १२ हजार कार्टुन ल्याएको छ । समूह, सहकारीलाई ५० प्रतिशत अनुदानमा दिने भएकाले साना किसान समस्यामा परेको देखिएको छ ।अहिले सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौं लगायतका सहरमा जुम्ली स्याउको किनबेच भइरहेको छ । जुम्लामा ४ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भइरहेकामा यसपालि २ हजार ९ सय हेक्टरमा रोपिएको स्याउले मात्र फल दिएको कृषि विकास कार्यालयले जनाएको छ । ‘स्याउले किसानको जीवन शैली फेरिएको छ,’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले भने, ‘सहज रुपमा ढुवानी गर्ने बाटो नहुँदा भने हरेक वर्ष सास्ती खेपिरहनुपर्ने बाध्यता कायमै छ ।’जुम्लामा स्थानीय जातको रेड, रोयल, जोनाथन र गोल्डेन जातको स्याउ फलिरहेको छ ।

विदेशी जातको गाला, गोल्डेन फुजी र जोनाप्रिन्स जातको स्याउको खेती पनि यहाँ हुने गरेको छ ।जुम्लाका झन्डै १८ हजार घरमा स्याउ बगैंचा रहेको स्याउ सुपरजोनको तथ्यांकमा उल्लेख छ । जुम्लाको स्याउ भदौ २ गतेदेखि टिप्न सुरु भएको थियो । स्थानीय तहले भदौ १५ भन्दा अगाडि नटिप्न आग्रह गरेपछि छिटो पाकेकाले भदौ सुरुदेखि नै स्थानीय तहले स्याउ निर्यातको सिफारिस दिन थालेका हुन् ।

जुम्लामा यो वर्ष ४० प्रतिशत स्याउ उत्पादन

सुशासनका लागि गर्नुपर्ने पहल

जुम्लामा यो वर्ष ४० प्रतिशत स्याउ उत्पादन

जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम

Leave a comment

Your email address will not be published. Required fields are marked *