सांसद ढकालको संसदमा ध्यानाकर्षण : किसान, शिक्षा, यातायात र भष्टाचार समाधानमा तत्काल पहल गर्न सरकारलाई आग्रह

काठमाडौं ,१९ भदौ।
बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै विभिन्न ज्वलन्त समस्यातर्फ सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
ढकालले देशभर मल अभाव, उखु किसानले भोगिरहेको समस्या र लम्पी स्किन रोगबाट पीडित किसानको पीडाको तत्काल समाधान गर्न सरकारलाई आग्रह गरे। साथै, हाल कार्यान्वयनमा ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र र एम्बोस्ड नम्बर प्लेट प्रणालीलाई तत्कालका लागि स्थगन गर्नुपर्ने माग गरे।

पर्वलाई लक्षित गरेर बजारमा हुने कृत्रिम मूल्य वृद्धि, यातायात भाडामा हुने अनावश्यक वृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराउँदै उनले निजी विद्यालय, बाल शिक्षक र विद्यालय कर्मचारीहरूले उठाएका जायज मागलाई पनि तत्काल सम्बोधन गर्नुपर्ने बताए।
चाडपर्वमा यात्रुहरूको भीडलाई ध्यानमा राख्दै असोज १ गतेदेखि मसिर मसान्तसम्म काठमाडौं उपत्यका लगायतका प्रमुख शहरमा सार्वजनिक यातायात २४ घण्टा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने सुझावसमेत उनले दिए।
सांसद ढकालले बलात्कारजस्तो गम्भीर अपराधलाई सामान्य झगडासँग तुलना गर्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस्ता भनाइप्रति खेद प्रकट गरे। साथै, सांसद रवि लामिछानेको बैंकमा रहेको भनिएको २७ करोडको आम्दानीको स्रोतबारे सदनमार्फत प्रश्न पनि उठाए।
यातायात कार्यालयमा भइरहेको भष्टाचारलाई तत्काल रोक्न वा कम गर्न विशेष कदम चाल्नुपर्नेमा जोड दिँदै उनले सरकार ढिलाइमा नगई प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरे।






