नरैनापुरका विद्यालयमा ‘शिक्षक डायरी’ लागू

बाँके, १८ भदौ ।
बाँकेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न ‘शिक्षक डायरी’ लागू गरिएको छ । यो डायरीमार्फत शिक्षकले दैनिक, त्रैमासिक तथा वार्षिक योजना बनाउन, अध्यापन कार्यको अभिलेख राख्न र पाठ्यक्रमसँग सम्बन्धित आवश्यक प्रारुप समेट्न सक्ने व्यवस्था गरिएको छ ।
शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले भने, “शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको योजना बनाई समयमै सम्पन्न गर्न शिक्षक डायरीले महत्वपूर्ण भूमिका खेल्छ ।” शिक्षा शाखा अधिकृत कमल केसीका अनुसार नियमित प्रयोगले शिक्षकमा शैक्षिक सूचनाको खोज गर्ने बानी विकास हुने र शिक्षण विधि छनोट गर्न सजिलो हुने बताए ।
गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले “डायरीले शिक्षकको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यार्थीको पढाइप्रतिको चासो र मोह बढाउँछ,” भने । प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले भने डायरीमा विद्यालयको प्रशासनिक विवरण, वार्षिक शैक्षिक क्यालेन्डर, पाठ्यक्रम संरचना, मूल्याङ्कन प्रक्रिया, विद्यार्थीको व्यक्तिगत विवरण र अतिरिक्त गतिविधि विवरण समेत समावेश गरिएको जानकारी दिए । गाउँपालिकाले सुरु गरेको यो नयाँ अभ्यासले विद्यालयमा गुणस्तरीय पठन–पाठन र शिक्षकको पेशागत विकासमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ ।






