नेपालमा पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । सरकारले निशुल्क रुपमा अघि बढाउन लागेको खोप अभियान अन्तर्गत सुर्खेतमा २५ हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (हृयुमन प्यापुलोना भाइरस) खोप लगाइँदै छ । जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने ९ देखि १४ वर्षका किशोरीहरुलाई उक्त खोप लगाउन लागिएको हो । खोप अभियान आगामी मंगलबारदेखि ६ फागुनसम्म सञ्चालन हुनेछ । महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । एचपीभी यौन सम्पर्कबाट फैलिने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरु कुनै न कुनै समयमा यो भाइरसबाट सक्रमित हुन्छ्न, तर अधिकांशमा कुनै पनि लक्षण देखा नपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको अनुमान छ ।
हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । जसमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने सरकारी अनुमान छ । यो आफैमा डर लाग्दो तथ्यांक हो ।पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपीभी भाइरसको संक्रमण हुनु हो । एचपीभी भाइरस दुई सयभन्दा धेरै प्रजातिका हुन्छन् । तर, मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । ती प्रजातिहरू १६, १८, ३१, ३३, ३५, ३९, ४५, ५१ ५२, ५६, ५८ र ५९ हुन् । यीमध्ये सबैभन्दा बढी जोखिम १६ र १८ प्रजातिको हुने गरेको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट हुने गरेको बताइन्छ । खोप अभियानमा प्रयोग हुने खोपले एचपीभी प्रजातिका १६ र १८ का कारणबाट संक्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित बनाउने बताइएको छ । खोप शतप्रतिशत प्रभावकारी रहेको स्वास्थ्यकर्मी बताउँछन् ।यो खोपनौ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर, यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।
नेपालमा आपूर्ति हुने खोपहरु विश्वस्वास्थ्य संगठनबाट गुणस्तरयूक्त प्रमाणित भएर आउने हुँदा यो खोपपनि अन्य खोप सरह सुरक्षित छ ।किशोरावस्थादेखि नै पाठेघरको मुखमा हुने क्यान्सर रोकथाममा सरकारले थालेको अभियान महत्वपूर्ण छ । पहिलो पटक थालिएको अभियानलाई सफल बनाउन प्रचार–प्रचारलाई व्यापक बनाउन जरुरी छ । आर्थिकरुपमा सबैको पहुँच नपुग्ने खोप सरकारले निशुल्करुपमा लगाउन थालेको अभियानमा लक्षित समूहका किशोरीहरु छुट्नु हुँदैन । हरेक नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवाको ग्यारेण्टी गर्नु राज्यको पहिलो दायित्व हो ।यसका लागि राज्यले ठुलो लगानी गरिरहेको छ ।राज्यको मात्रै नभई दिर्घकालिन महत्व राख्ने योजना सफल बनाउन नागरिककोसहभागिता पनि उत्तिकै महत्वपूर्ण रहन्छ । आवश्यक जनचेतनाको अभावले खोपप्रतिको नकारात्मक दृष्टिकोणले किशोरीहरुले खुलेर खोप नलगाउने गरेको पनि सुनिन्छ । यसर्थ, पाठेघरको मुखमा हुने क्यान्सर र यसविरुद्ध लगाइने खोपका बारेमा मसिनो गरी सचेतनाको स्तरलाई फैलाउन आवश्यक छ । रोग र खोपका बारेमा लक्षित समूहलाईपूर्ण जानकारी भएमात्रै खोप अभियानले सार्थकता पाउने छ ।यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।
युग संवाददाता । सुर्खेत । २० माघ २०८१, आईतवार ११:३४