नरैनापुरमा ९ जना कुष्ठरोगीसहित २६६ जनामा छालाको रोगको संक्रमण

बाँके,१८ जेष्ठ ।
नरैनापुर गाउँपालिका भित्र छालाका रोग तीव्र रूपमा फैलन थालेका छन्। हालै सम्पन्न स्वास्थ्य परीक्षणमा ९ जना कुष्ठरोगीसहित २ सय ६६ जनामा विभिन्न प्रकारका छालासम्बन्धी रोगहरू फेला परेका छन्।
स्वास्थ्य शिविर नरैनापुर गाउँपालिका वडा नम्बर १ (मटैया) मा सञ्चालन गरिएको थियो। जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार शिविरमा सहभागि भएका २ सय ३६ जनाको परीक्षण गर्दा ९ जनामा कुष्ठरोग पुष्टि भएको हो। तीमध्ये ८ जना पुरुष र एक जना महिला रहेका छन्। कुष्ठ रोगका सबै बिरामी युवा उमेर समूहका रहेका छन्।
स्थानीय स्वास्थ्य चौकीका अहेब दिनेश कुमार मौर्याका अनुसार, नरैनापुरको वडा नम्बर ५ कुष्ठरोग प्रभावित क्षेत्रको रुपमा पहिलो नम्बरमा पर्छ भने दोस्रोमा वडा नम्बर १ पर्छ। उहाँका अनुसार वडा नम्बर १ मटैयामै मात्र १० जनाले हाल कुष्ठरोगको औषधि सेवन गरिरहेका छन्। उहाँले बताउनुभयो “हामीकहाँ दैनिक ४० जना जति छालासम्बन्धी समस्या लिएर परामर्शमा आउँछन्, जसमध्ये २०–३० जनामा छालाको कुनै न कुनै समस्या देखिएको हुन्छ।”
अहेब मौर्याका अनुसार भारतको बम्बई लगायत क्षेत्रबाट फर्किएका व्यक्तिहरूमा छालासम्बन्धी समस्याहरू बढी देखिएको पाइन्छ। यस्तै, खुला सिमाना, ग्रामीण क्षेत्रको अवस्था, स्वच्छ खानेपानीको अभाव तथा स्वास्थ्य चेतनाको कमीले समस्या झनै गहिरिएको जनाइएको छ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठका अनुसार बाँकेको नरैनापुर प्रदेशका अन्य पालिकाहरूको तुलनामा पछाडि परेको क्षेत्र हो र यहाँ यस्ता रोगको प्रकोप दोहोरिने सम्भावना उच्च देखिन्छ। “बाँके र कपिलवस्तु जिल्लामा छालाका रोग लगायत अन्य रोगहरूको ‘आउटब्रेक’ बढी हुने देखिन्छ, त्यसैले यहाँ रोगको पहिचान र उपचारमा विशेष ध्यान दिनुपर्छ,” सचिव श्रेष्ठले भन्नुभयो।
जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले रोग पहिचानमा अहिले नयाँ प्रविधिको प्रयोग भैरहेको बताउँदै पहिले नदेखिएका रोगहरू समेत अब पत्ता लाग्न थालेको बताउनुभयो।
कुष्ठरोग फोकल व्यक्ति रविन्द्र कुमार शाहले ९ जना कुष्ठरोग पोजेटिभ भेटिएको पुष्टि गर्दै अब ती बिरामीका परिवार र छिमेकीहरूको पनि परीक्षण गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कुष्ठरोग समयमा उपचार नभएमा नशा, छाला र अंगहरूमा गम्भीर असर पर्न सक्छ, जसले अंगभंगसम्म गराउन सक्छ।”
नरैनापुरमा कुष्ठरोग र अन्य छालाका रोगहरूलाई लिएर सार्वजनिक स्वास्थ्यमा गम्भीर चिन्ता बढेको छ। यसप्रकारका रोगहरूलाई जरा नैबाट नियन्त्रण गर्न प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय गरी रोग नियन्त्रण, जनचेतना तथा प्रभावकारी उपचारमा बल दिनुपर्ने आवश्यकता देखिन्छ।






