हावाहुरीले पोल ढाल्दा ३ पालिका बिजुलीविहीन, दर्जनौं घरमा क्षति


बुधबार रातिको ठूलो हावाहुरीका कारण ठाउँठाउँका पोल ढल्दा जिल्लाका ३ पालिका बिजुलीविहीन भएका छन् । बन्गाड कुपिण्डे नगरपालिका, कुमाख र दार्मा गाउँपालिकाका नागरिक बिजुली बाल्नबाट वन्चित भएका हुन् ।
बिजुली नहुँदा ३ पालिकामा रहेका कार्यालयहरुमा कामकाज प्रभावित भएको छ भने लिप्ट खानेपानीको मोटर संचालन गर्न नपाउँदा सल्लीबजारलगायत केही स्थानमा खानेपानी समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । उनका अनुसार ३ पालिकामा स्थानीयका २ दर्जनभन्दा बढी घर, भूकम्प पीडितका अस्थायी टहरा, विद्यालय तथा प्रहरी चौकीमा समेत क्षति पुगेको छ । जसले दर्जनौं स्थानीय प्रभावित भएका छन् ।
हावाहुरीले दार्मामा केही भूकम्प पीडित बस्दै आएका अस्थायी टहरा, घर, कुमाखको ईप्रका रागेचौर र सिद्धुकुमाख ४ चिनालीस्थित कालिका आधारभूत विद्यालयको छाना फालेको विवरण आएको र अन्य विवरण संकलन भैरहेको उनले जनाए । यसअघि जेठ १९ गते राति आएको भीषण हावाहुरीले पनि जिल्लामा चार दर्जनभन्दा बढी घरका छाना उडाएको उनको भनाइ छ ।
हावाहुरीले बन्गाड कुपिण्डे ६ मा एउटै बस्तीमा ६ घरको छाना फालेको र अन्य वडाको विवरण संकलन भइरहेको नगर उपप्रमुख पुरुषोत्तम आचार्यले बताए । हावाहुरीले छिन्चुतिर पोल ढल्दा रातिदेखि नै पालिका बिजुलीविहीन भएपछि कार्यालयको कामकाज र सर्वसाधारण प्रभावित भएको उनले बताए ।
कुमाख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छवि खड्काले बत्ति नहुँदा कार्यालय, वडाबाट दिने सेवामा कठिनाई भएको बताए । उनका अनुसार बत्ति नभएका कारण फोन सेवासमेत प्रभावित भएको उनको भनाइ छ ।
दार्मा गाउँपालिकाका विपद व्यवस्थापन समितिका संयोजक रहेका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले १९ र २३ गते रातिको हावाहुरीले १६÷१७ घर, अस्थायी टहरा र विद्यालयमा क्षति पुगेको र धेरै जसो घरको छाना फालेको बताए ।
विद्युत् प्राधिकरण सल्यानका प्रशासन प्रमुख कालीबहादुर बुढाथोकीले विभिन्न स्थानमा हावाहुरीले पोल ढलेको, कतै चट्याङले ट्रान्समिटरमा क्षति पु¥याएको र कतै तार चुँडिएकाले बत्ति बनाउन जिल्लाबाट प्राविधिक टोली खटिरहेको जानकारी गराए । भौगोलिक विकटताका कारण प्राविधिकले समयमै काम गर्न नसक्दा केही ढिलाई भएको उनको भनाइ छ ।






