कर्णालीको मौलिक संस्कृतिः मष्टो पूजा


भाषा संस्कृति र परम्पराको हिसाबले कर्णाली भरिपूर्ण छ । घरघरमा कलाकार र कलाकारिता छ । त्यतिमात्र नभई धार्मिक आस्थाका ऐतिहाँसिक धरोहर कर्णालीमा थुप्रै छन् । तीमध्ये एक हो, कर्णालीको मष्टो सस्ंकृति । मष्टो संस्कृति आदिम संस्कृति हो । यसलाई प्राकृत धर्म संस्कृति पनि मानिएको छ । जुन सुदुरपश्चिम र कर्णाली प्रदेशमा हालसम्म पनि जीवित छ । खस जातिका कुल देवताका रुपमा लिइने मष्टो देवता सुदुरपश्चिम र कर्णालीबासीका घरघरमा छन् । इतिहाँसअनुसार मष्टो सस्ंकृतिको उद्गम स्थल हाल कर्णाली प्रदेश अन्तर्गत रहेको जुम्लाको सिंजा उपत्यकालाई मानिन्छ ।
पछि भारतको कुमाउ गड्वाल हुँदै नेपालका बझाङ, बाजुरा, डोटी डडेल्धुरा, अछाम लगायतका जिल्लामा मष्टो संस्कृति प्रचलित रहेको पाइन्छ । छैटौँ शताब्दीमा खस जातिको अस्तित्व कर्णालीमा देखिन्छ । त्यसको ४०० बर्ष अघि जुम्लाबाट गई कुमाउँ गडवालमा खस जातीले राज्य गरेका थिए । त्यसैले जुम्लाबाट जहाँ गएपनि त्यहाँ रहेका खस जातीले मष्टो देवता पुज्ने गर्छन् । जुम्लाबाटै कर्णाली र सुदूरपश्चिमभरी खस जाती समुदायमा मष्टो देवताको पूजा गर्ने प्रचलन सुरु भएको मानिएको छ ।
हिन्दू धर्मका ठकुरी, बाहुन, क्षेत्री, सन्न्यासी, कामी, दमाई, सार्की गन्धर्व, वादी, राउटे लगायतका जातीहरू कुलदेवताको रुपमा मष्टोको पूजाआजा गर्दछन् । नेपाली भाषाको उद्गम स्थल जुम्लामा मष्टो संस्कृतिको ऐतिहाँसिक महत्व छ । मष्टोले पश्चिम नेपालको खस संस्कृतिमा गहिरो प्रभाव पार्दै आएको छ ।
जुम्लामा हरेक दुई महिनाको अन्तरमा मष्टो मेला लाग्छ । आफूले चाहेको पूरा होस् भनेर फूल अक्षता चढाउने भन्दा आफूले चाहेको सोचेको पूरा भएको खुसीमा मष्टो देवतालाई खसी बोका चढाउने भक्तजनहरूको ताँती बढी हुन्छ । कर्णालीको मष्टो संस्कृति हिन्दू धर्म मान्ने सबैको पहिचान पनि हो । संस्कृतिविद् रमानन्द आचार्य भन्छन्, “मष्टो संस्कृति कर्णाली त्यसमा पनि जुम्लाकै मौलिक पहिचान हो । हाम्रा पुर्खाहरूले मष्टो देवताको आस्थामा सिंजा राज्य प्राप्तिदेखि युद्धमा विजय प्राप्त गरेका छन् । पछिल्लो समय भारतका विभिन्न ठाउँमा नेपालको पूर्व तथा सुदूरपश्चिममा मष्टो संस्कृतिको चलन सुरु भएपछि समग्र हिन्दूहरूको पहिचानका रुपमा रहेको पाइन्छ । तर मष्टो सस्ंकृति कर्णालीबाटै शुरु भएकोले यसको महत्व जुम्लामा विशेष छ ।”
मष्टो संस्कृति बारे आजसम्म लेखिएका कृतिहरूमा “मष्टो संस्कृति र परम्परा” भन्ने पुस्तकका लेखक श्यामबहादुर खड्काले मष्टोलाई इन्द्रका छोरा जयन्त हुन् भनेका छन् तर, कतिले यिनलाई पाण्डवको सन्तान पनि मान्ने गरेका छन् । इन्द्रकी पत्नी सचीलाई मन्डालिनी पनि भनिने र यिनै मन्डालिनीलाई सम्झेर मष्टो मन्डाली र अछाममा मष्टो बन्डाली पनि भन्ने गरिएको छ । लेखक डा. प्रयागराज शर्माका अनुसार मष्टोलाई कर्णाली प्रदेशको अत्याधिक लोकप्रिय ग्राम देवता मानिन्छ । मष्ट र खस भाषाको अन्तर सम्बन्ध रहेको बताइन्छ । विद्धानहरूका फरक फरक धारणाले मष्टोलाई व्याख्या गरिए पनि खासगरी कर्णालीमा १२ भाई मष्टो र नौ बहिनी दुर्गा भवानी रहेको सस्ंकृतिविद् रमानन्द आचार्यको दावी छ ।
-मष्ट पुजाको साँस्कृतिक पृष्ठभूमी
तत्कालिन माओवादीले वि. सं. २०५८ सालतिर जुम्लामा देवता नमान्ने भन्दै मन्दिर र थानहरू भत्काउँदै हिँडेको थियो । स्थानीय रवि बुढा भन्छन्, “त्यहि बेला बाबिरा मष्टका धामी बल बुढाले आफ्नो दैनिक नृत्य कर्म गरिरहेका थिए । माओवादीका केहि सेनाले उनलाई घेरेर धम्काए । कि गोली हान्छौं कि हामीले भनेजस्तै शक्ति देखाउ भनी परीक्षा लिएछन् । पहिलो परिक्षा (सिकापाती) कालो टिका निकालेछन्, त्यसपछि (सालिमार) निकालेछन् । तताएको रातो पुनिउँ समेत चाटेको इतिहास उनी सुनाउछन् ।” उक्त घटनापछि माओवादीले मन्दिरलाई छुन र पूजारी, धामीहरुलाई धम्काउन समेत छोडेको थियो ।
घरपरिवारको सुरक्षा, पशुधनको रक्षा, बाधा व्यवधानको निराकरण, अन्यायबाट मुक्ति, सुस्वास्थ्यको कामना, राक्षसहरुको भयबाट मुक्ति, सुखद भविष्य, ज्ञानको अपेक्षा, वर्षा र पानीको माग, रोगव्याधिबाट रक्षा, व्यक्तिगत व्यवसाय र यात्राको सफलता, सरकारी जागिरको प्राप्ती, सन्तान प्राप्तीको लागि वर माग्ने इत्यादि आआफ्नो मनका इच्छाहरु पूरा होउन् भन्ने कामना गरेर मष्टो देवताको पूजा गर्ने र बली दिने गरिन्छ । हजारांैको संख्यामा भक्तजनहरु बोका, कुखुरा ल्याएर आउँछन् । आफ्नो इच्छा अनुसार कुनैलाई बलि काट्छन् भने कुनैलाई मन्दिरमा जीवितै छोड्छन् । भक्तजनहरूको बढ्दो आस्थाकै कारण मष्टो सस्ंकृति सुदुर पश्चिम र कर्णाली प्रदेशमा अहिलेसम्म पनि यथावत् प्रचलित रहेको पाइन्छ ।
खसहरुको कुलपूजालाई देवाली भनिन्छ । रक्तभोग गर्ने र नगर्ने गरी मष्टो दुई प्रकारका हुन्छन् । दुधे मष्टलाई पशुबलि दिनु हुँदैन भने अन्य मष्टलाई पशुबलि दिइन्छ । दुधेमष्ट बाहेक अन्य मष्टको कुलपूजामा बोकाको वलि चढाइन्छ । दुधेमष्टलाई दुध, दही, खीर, रोटी (बाबर), फलपूmल इत्यादि चढाइन्छ । मष्ट देवताको कुनै ढुङ्गा, मूर्ति वा मन्दिर हँुदैन । दियो, धजा, घण्ट, चमर (चौरी गाईको पुच्छर¬¬) इत्यादि सामग्रीहरुबाट मष्टो पूजा गरिन्छ र पूजा गर्ने स्थानलाई थान, माडु वा माडौं भनिन्छ । काठको माडौं भएकोले खस भाषाको सोही शब्दबाट नेपालको राजधानी ‘काठमाडौं’ भनि नामाकरण गरिएको हो ।
बोका काटेपछि त्यसको रगत पिउँदै, उफ्रदै, नाँच्दै कुलधामीले बोकाको भोग (रगत) खान्छन् । बोकालाई काटेर बोका तथा भेडालाई अंगालोमा राखेर आलोपालो रगत पिउँदै मुल धामी मण्डल परिक्रमा गर्छन् । सेतो वस्त्रको पहिरन लगाएका बाह्र भाई मष्टका धामीहरू हातमा चमर (चौरी गाईको पुच्छर), घण्ट, धजा समातेर बाह्र भाई मष्टाका नामहरु उच्चारण गर्दै बाजाको तालमा आँगनमा खेल लगाउँदै नाँच्ने गर्दछन् । यही क्रममा पूजा भनेर बलि गरिँदै गरेका बोकाहरूको रगत पिउँदा तिनको त्यो सेतो बस्त्र रगतले भिजेर रातो हुन्छ । धामीको टाउकोमा बलि गरिएको बोकाको रगत छर्किने गर्दा धामी खुशी हुन्छन् । बलिको बोका काट्नेलाई धामीले धाप दिन्छन् । बोका काटेपछि त्यसको खुन पिउँदै, उफ्रदै, नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गर्छन । बलि गरिएको बोकाको मासु त्यहाँ गएकाहरु प्रसाद भनेर सबै बाँडेर खाने गर्दछन् । यस पूजामा नौ बहिनी मालिका, बाह्रभाई मष्टा, अठार डाईनी, मसानी, भूत पिचासको पूजा हुन्छ । नरवलिको स्थानमा नरवलि नगरेर त्यहाँ नरिवल बलि गर्ने चलन छ । नरिवल मूल देवताको मण्डवको ढोकामा लगेर काट्ने गरिन्छ ।
मष्टो पूजा मुख्यतया वैशाख पूर्णिमा, वैशाख चर्तुदशी, जेठ पुर्णिमा, मंसिर पूर्णिमा, पौष पूर्णिमा र भाद्र अनन्ते चतुर्दशी र भाद्र पूर्णिमाको सेरोफेरोमा गरिन्छ । तीन तीन बर्षको अन्तरमा गरिने कुल पुजामा कुलका सबैको जमघट हुने चलन छ । कुलदेवता पूज्ने तान्त्रिक चलन पूरानै परम्परागत हुने गर्दछ । मष्टोलाई विभिन्न सम्प्रदायका मानिसहरुले मान्दै आएका छन । यी मस्टो बाह्र भाई र नवदुर्गा भवानीलाई नौ बहिनी भनिन्छ । बाह्र भाइ मस्टोहरु भनिएता पनि कहिलेकाही बाह्र भन्दा बढि नाम पनि भेटिन्छन ।
प्राचीन ग्रन्थ अनुसार बाह्र भाई मष्टाहरुको नाम ः
१. थार्पु मष्ट वा थार्प मष्ट
२. बाविरामष्ट
३. क्वामष्ट
४. बुडुमष्ट
५.कालाशीलामष्ट
६. दुग्धशीलामष्ट
७. मटेश्वरमष्ट
८. छान्नामष्ट
९. काँडामष्ट
१०. विनायकमष्ट
११. तलिगोठीमष्ट
१२. लिउदीमष्ट ।
कतैकतै चलनचल्तीमा रहेका पन्ध्र मष्टो पनि पाइएका छन् । ठाउँ विशेषले तिनीहरुको नाम र संख्या फरक पर्न जान्छ । जुन देहाय बमोजिम छन् ः (१) बुढ़मष्टो (२) कालामष्टो (३) बॉममष्टो (४) थापामष्टो (५) वाबिरामष्टो (६) लिउडीमष्टो (७) कामलमष्टो (८) सिममष्टो (९) रुमालमष्टा (१०) ढँडारेमष्टो (११) दुसापानीमष्टो (१२) डढीसितलमष्टो (१३) दारेमष्टो (१४) कुर्मीमष्टो (१५) आद्यमष्टो
प्रज्ञा नेपाली बृहत शब्दकोषमा बाह्रमष्ट भन्नाले खसहरुले मान्ने गरेका बाह्रमस्ट देवहरु ः देवालीमा बोकाको आलो रगत चढाएर कुलपूजा गरिने खसहरुका देवता भनेर १.आदिमस्ट, २.ढँडारेमस्ट, ३.दाह्रो वा बाबिरोमस्ट, ४.थार्पुमस्ट, ५.खप्तडमस्ट, ६.कालोमस्ट, ७.लाटोमस्ट, ८.मण्डलीमस्ट, ९.डढुवामस्ट, १०.कैलेमस्ट, ११.धौलेमस्ट, १२.क्षेत्रपालमस्ट, १३.बङ्गडामस्ट, १४.खमालमस्टका नामहरु उल्लेख गरिएको छ ।
– मष्ट देवतासँग सम्बन्धित किंबदन्तीहरु ः
कर्णाली क्षेत्रमा मष्ट सम्बन्धी एक किंवदन्ती प्रचलित रहेको छ, प्राचिन कालमा जब जंगलबाट मानिसहरु घर बनाई बस्न थालेका थिए तब संसारमा खानेकुराको सङ्कट सुरु हुन लाग्यो सबै अल्छि हुन थालेकोले जंगलमा गएर खानेकुरा ल्याउन र पाउन धेरै दुख थियो । त्यतिबेला खानेकुरा बचाउनको लागि सँगसँगै एउटा संस्कारको विकास भएको थियो बुढा बा आमालाई जङ्गल लगेर छोडिदिने, त्यहि कुसंस्कार सँगसँगै मष्ठ नाम गरेका एक बालक पनि हुर्किरहेका थिए जब मष्ठ सोह्र बहिनि भवानीपछिका कान्छो एक्लो छोरा भएकोले १५÷१६ बर्षको हँुदा बुबाआमा निकै बुढा भएर थलिएर बसेका थिए ।
मष्ठलाई गाँउघरमा सबैले सल्लाह दिँदै थिए कि तिम्रा बा आमालाई जङ्गल कहिले लिन्छौ ? घरमा बुझ्न खोज्दा बा ले भन्नुभयो, “हो बाबु संसारको रित यस्तै छ, बुढा भएपछि तिमिहरुलाई हामी बोझ बन्छौं खानाको अनिकाल छ तिमिले एकदिन जंगल छोड्नै पर्छ….” यो कुराले किशोर बालक मष्ठको मष्तिस्कमा ठुलो चोट पुग्छ । उसलाई पचाउनै नसकिने पिडा आईलाग्छ तर पनि समाजको करकाप कुसंस्कारको बाध्यताले उसले एकाविहानै नचाहदा नचाहँदै बुवालाई डाँडाको जङ्गल लगेर एउटा कोटि ढुंगाबाट बनेको सानो कुटीमा छोडेर आउँछ । उ घर आईसकेपछि रोइ कराइ गर्छ तर पनि उसका कुरा कसैले सुन्ने पक्षमा थिएनन् । भोलिपल्ट गाउँलेको आँखा छलेर लुकाउदै बा लाई खाना लगेर खुवाउँछ बा ले धेरै अर्ति उपदेश दिएर घर पठाउछन् । यसरी केहि दिन बितिसकेका हुन्छन् तर एक दिन संधै जस्तै खाना लगेर जाँदा उक्त कोटिमा मष्ठका बाबा हुदैनन् केवल उनले लगेको हतियार भाला आकारको लौरो बाहेक केहि हुँदैन ।
मष्ठले यताउति हेर्दा राती भिषण आक्रमण भएजस्तो घटना स्थल देख्छन् । केहि रगतका थोपाहरु र बाघका रौ हरु र धस्सिएको जमिन च्यातिएका झारपातहरु देखेर उनीले अनुमान लगाए कि बालाई बाघले खाईसकेछ । त्यतिबेलाको क्षण उनका लागि यति पिडादायी भयो कि उनि बेहोस हुन मात्र बाँकि थियो । आँसुले वरपरको वातावरण हेर्न नि मुस्किल भैरहेको थियो ।
हत्तपत्त बाको हतियार समाउदै रगत झारपातले पुछ्दै छातिमा टाँसेर पश्चाताप मोडमा एकहोरो रोइरहन्छन् एकटकले उभिएर मौनधारण सहित आँसु खसाउँछन् केहि समयपछि बाबाले छोडेर गएको अन्तिम चिनो लौरोलाई त्यहि थान वा कुटिमा गाडेर त्यसलाई मौलो मानेर पुजा गर्दै भन्छन् बा ! तिम्रो आत्माले शान्ति पाओस् मलाई क्षमा गर्नु, सँधै मेरो रक्षा गर्नु, रेखदेख गर्नु, घरमा आउने राक्षसी सैतान बाट टाढा राख्नु, म हरेक यहि समयमा तिमिलाई लिन आईरहेनेछु प्रसाद खान आउनु…..यस्तै भन्दै पतुर्दै, काँप्दै बालाई ल्याएको खाना (प्रसाद) चढाएर घर फर्किएको दिन हालको प्रचलित पात्रो अनुसार बैशाख चतुर्दर्शीको दिन हो भने बैशाख पुर्णिमाको दिन घरमा ल्याई बाको आत्मालाई भण्डारमा (घरको चोखो ठाँउ) पुजा गर्ने प्रचलन चलिआएको छ । कार्तिक पुर्णिमाको दिन आमाको अवसान भएको भन्ने किंवदन्ती रहेको छ ।
यहि प्रचलन अनुसार हाम्रो स्थानीय समुदायमा कतैकतै भाद्र एवम् बैशाख महिना र अन्य औंसी, पूर्णिमा जस्ता विशेष धार्मिक पर्वहरूमा पनि मष्ट पूजा गर्ने गरिन्छ र त्यस बखत जात्रा, उत्सवहरू समेत मनाइन्छ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा ढँडार मष्टाको उत्पत्ति सम्बन्धमा यस्तो किंवदन्ती रहेको छ, धेरै बर्ष पहिले उत्तराखण्डका बद्री, केदार, यमुनोत्तरी, गङ्गोत्तरी, सिमला, हरिद्वार, ऋषिकेश, अमरनाथ, नन्दादेवी आदि तीर्थस्थलको दर्शन गर्न कुशा भट्ट नामका एक सज्जन यात्रारत रहेछन् ।
सोही क्षेत्र यात्रारत रहँदा शङ्खद्वारमा एउटा शिला प्राप्त गरेछन् र शिला कन्तुरमा हालेछन् । राती सपनामा त्यो शिला देखिएछ र शिलाले आफू बेबिलोनियातिरको बाँबिरा नामक देवता भएको साथै उनले साइँपाल हिमालको प्रसवण क्षेत्रमा बस्न चाहेको बताएछन् । त्यसपछि उनले ढँडारमा माडौं (थान) बनाई शिलाको स्थापना गरे । त्यस ठाँउमा बनेल आई गोठालाको दही चोरेछ । यो थाह पाएर पक्रन खोज्दा गोठाला अचेत भएछन् । नजिकका मानिसलाई गुहारेछन् । उक्त समयमा जसराज भन्ने ग्वालालाई कम्पन छुटेछ । ऊ पतुर्न थालेछ, “म बाँबिरा वा मरुत हुँ । यताका मानिसले मेरो भागगुरो दिन छोडेका छन् । म यस थलामा औतिएको छु । म तिमी सारा खसहरूको कुलमूली हुँ । दैत्यहरूको प्रहारबाट भवानीलाई जोगाउन आएको हुँ ।
म स्वर्गबाट झरेर पहिले खस्मिर, केदारखस मण्डल तथा कैलाश मानसरोवर डुल्ने गर्थेँ । यहाँ माडौं स्थापना भएको छ, तापनि म बद्री, केदारदेखि सारा हिमालय क्षेत्रभित्र फैलिएका खस जातिको र तिनका नजिक पर्ने अन्य जातिको घर, गोठ र चरनमा बिराजमान छु । मन्दिर बनाउनुको सट्टा साधारण माडौं बनाई त्यसको गभिरमा खोपो राख्नु र मेरो ‘गाधी’ सम्झेर पुज्नू । मेरो बैनी भवानीको पनि सम्झना गर्नु ।” पहाडी खस समुदायको लोकपरम्परा र संस्कृतिको एकमुष्ट रुप नै मष्ट संस्कृति हो । खस समुदायको आद्य र प्रागऐतिहासिक परम्परा अझैपनि अवशेषको रुपमा देख्न र भोग्न पाइन्छ ।
– मष्ट पुजाको प्राचीन इतिहाँस
मष्ट संस्कृतिको प्राचिनता, प्राप्त तथ्य, प्रमाण, पुुरातात्विक अवशेष, पुराना लिखत र जानकारीहरुका आधारमा प्रकृति पुजा वा जीववाद नै सर्वप्राचीन आध्यात्मिक चिन्तन मानिन्छ । पुुरातात्विक खोजअनुसार प्रकृति पूजा कम्तिमा २० हजार बर्ष अघिदेखि सुरु भएको मानिन्छ । प्रकृति पूजाको उत्पत्ति थलो साइबेरिया र मध्य एसियालाई मानिन्छ । प्रकृति पुजाको मुख्य कार्यकर्तालाई धामी भनिन्छ । यसरी धामी, झाँक्री प्रथाको सुरुवात साइबेरिया वा मध्य एसियाबाटै भएको देखिन्छ । जीववाद र प्रकृति पुजा गर्ने संस्कृतिका विभिन्न रूप मध्ये मष्ट र आद्य केदार संस्कृति पनि एक मानिन्छ । त्यसैले यो संस्कृति प्रागऐतिहाँसिक कालदेखि नै निरन्तर प्रवाह भएको मान्न सकिन्छ । हुन त यस धर्मका कतिपय जन्म, मृत्यु, विवाह लगायतका संस्कार लगायतका परम्परा, प्रचलन, रितिरिवाजहरु लोप भइसकेका छन् ।
खस भाषा (नेपाली) को ठेट र प्राचिनतम् शब्द धामीहरुले पुकार्छन् । सुदुर पश्चिम र कर्णाली प्रदेशतिर धामीले पुकार्दा बोलेका शब्द उल्था गर्ने कार्यकर्तालाई खावा भनिन्छ । जुन शब्द आजभोलि दैनिक जीवनमा प्रचलनमा छैनन् । यस्तो शब्दलाई देउ भाषा समेत भन्ने गरिन्छ । निश्चित भूगोलमा रहने मष्टका भक्तजन या उपासकजनलाई पाली भनिन्छ । यसरी मष्ट संस्कृतिमा बारम्बार आइरहने शब्द जस्तैः पाली, धुमेलो (धामी पतुर्ने काम), औतिनु (आङमा चढ्नु), पडेली खेल्ने (आफ्नै भाषामा बोल्ने), पतुर्ने (बाजाको तालमा या बाजाबिना नाच्ने), घाई (बाजाको ताल) आदि सयौं शब्दहरू शब्दकोशमा पाइँदैनन् । त्यसैले यो विशिष्ट संस्कृति लोक अनुप्राणित हो भन्दा कत्ति फरक पर्दैन । वेद, पुराण आदि ग्रन्थमा कहीँ कतै उल्लेख नभएकाले विद्वानहरूले मष्टा संस्कृतिलाई अवैदिक संस्कृति भनी स्वीकार गरेका छन् । प्रमाण र तथ्यहरुले मष्ट संस्कृति वेदभन्दा प्राचीनतम् देखिन्छ ।
भाषा एवम् संस्कृतिविद् डा.जयराज पन्तले धामी पतुर्दा बोल्ने भाषा प्राचीन भएको र बर्तमानमा त्यो बोली दैनिक जीवनमा उपयोगमा नआउने उल्लेख गरेका छन् । हाल प्रचलनमा नरहेका र प्राचीनकालमा बोलिने छत्तरया अर्थात् छत्रपति राजा वा ठकुरी, लौड्या अर्थात् क्षत्रीय, पूजार्या अर्थात् पुजारी, भणर्या अर्थात् भण्डारी, भोकर्या अर्थात् भोकर बजाउने व्यक्ति, धौल्या अर्थात् ढोली, मुस्या अर्थात् कामी, ताकला अर्थात् ब्राह्मण, ताकली अर्थात् ब्राह्मणी, ज्वाँती अर्थात् चेलीबेटी वा कन्या, भईय्या अर्थात् समकक्षी देवता, दामडा अर्थात् रूपैयाँ, पेलो अर्थात् सुन, जिब्ब्या अर्थात् वचन वा बोली वा उपदेश, सन्निघट्ट अर्थात् संकट, ठेक अर्थात् वर्ष जस्ता अनेकौं शब्दहरू धामीले बोल्ने भाषामा प्रयोग हुन्छ ।
यसरी मष्टा, आद्य केदार र भवानी खस उपासना परम्पराका मूल स्रोत हुन् । यिनको आदिमता र प्राचीनताको स्रोत प्रागऐतिहासिक कालदेखिका सयौं घटना, आपत विपद, पशुपालन र कृषिकर्म गर्दा देखा परेका समस्याको निराकरण गर्न अपनाइएको उपायबाट प्राप्त अनुभवको संगालो हुनुपर्छ । अलिखित संस्कृति भएकाले ती अनुभवहरू अभिलेखिकरण हुन सकेनन् । मष्टालाई लोक कल्याणकारी, भक्त वत्सल, भक्तहरूको समस्या निराकरण गर्ने, ठूलो समूहमा वाहन या भान या वीर या बाँठ भएका देवता मानिन्छ । मष्टा अविवाहित देवता हुन् भन्ने लोक मत छ । उनी लोकहितका खातिर सदा चिन्तनशील रहने देवता हुन् । बृहत परिवारका सदस्य मष्टाका धेरै नातेदार रहेको जनविश्वास छ ।
– बाह्र भाई मष्टा र नौ दुर्गा भवानी
लोकमतले मष्टा बाह्र भाइ र भवानी नौ बहिनी भएको विश्वास गर्छ । परापूर्व कालमा खस जातिका बाह्र समूह रहेको र प्रत्येक समूहले छुट्टाछुट्टै मष्टा उपासना गर्ने भएकाले बाह्र भाइ मष्ट भन्न थालिएको अनुमान पनि गरिएको छ । बाह्र भाइ मष्ट कुन कुन हुन् मतैक्य छैन् । तर यो मत अत्याधिक प्रचलित छ । मष्टोको बाह्र भाइ र नव दुर्गा भुवानीलाई नौ बहिनी भनिन्छ तापनि बाह्र भाइ मष्टो को–को हुन् मतैक्य छैन । कहिलेकाहीँ १३ नाम पनि निस्कन्छन् ।
ती हुन् ः १. बुुडुु मष्टो २. कः मष्टो ३. बा मष्टो ४. थार्प मष्टो ५. दाह्रो मष्टो वा बाबिरो मष्टो ६. लिउँडी मष्टो ७. कामल मष्टो ८. सिम मष्टो ९. रमाल मष्टो १०. ढँडार मष्टो ११. ढुसापानी मष्टो १२. डढी सिमल मष्टो १३. कुर्मी मष्टो ।
बाह्र भेदको सुरूवात आदि मष्टोदेखि नै सुरू हुन्छ र रूमाल मष्टो, दाह्रे मष्टो, खप्तड मष्टो, टेढी मष्ट, मण्डली मष्ट, दूधे मष्टो, लडे मष्टो, रूद्र मष्ट, कैली मष्ट र काला मष्ट हुन् । यिनमा ४ भेद विभेद वा समूह भेद पाइन्छ । खस वा कश अबककष्तभक वा काशी जातिले बेबिलोनियामा शासन गर्दा देखि नै उनीहरु टुर्गु तगचनग का उपासक थिए । पछि टुर्गु तगचनग को विस्तारै अपभ्रंश भै तगचनब (टुर्गा) हुदै टुर्गा बाट दुर्गा बनेको प्रतीत हुन्छ । सुदूर पश्चिमतिर दुर्गालाई धुर्गा वा दुरू भन्ने गरेको पनि पाइन्छ । खस उपासनाको नारी पक्ष दुर्गा भवानी नै हुन् । प्राचीन महामातृका दुुर्गा र कालिका हुन् ।
मष्टाका नौ दिदीहरूमा यसप्रकार छन्, कालिका, मालिका, कनका सुन्दरी, त्रिपुरासुन्दरी, जालपा, खेसमालिनी, ठिङ्याल्नी, हिमालिनी र विन्ध्यावासिनी । यी नाम यसरी पनि आउँछ ः कालिका, मालिका, भवानी, जालपा, सुनन्दा, अलकनन्दा, कनकासुन्दरी, त्रिपुरासुन्दरी र उग्रतारा । मालिका र त्रिपुरा सुन्दरीका सात–सात र नौ–नौ दिदीबहिनीहरु भएको सुन्न पाइन्छ । नौ दुर्गा भवानीहरूमध्ये कालिका, मालिका, खेमिलिनी, दुलेल्ली, कनकासुन्दरी र त्रिपुरासुन्दरी नेपाल एकीकरण पछिका अभिलेखहरूमा पनि पाइएको छ ।
मालिका भवानीका दिदीबहिनीहरु दरबार मालिका वा कोट मालिका, चिमरा मालिका, बडिमालिका, चुलिमालिका, पुङ्गमालिका, भुरचुला मालिका र बासी मालिका । त्रिपुरा सुन्दरीका नौ दिदीबहिनीहरु काफ्लासैनी, पोटलासैनी, बोदलासैनी, निङ्गालासैनी, डिलासैनी, निलासैनी, रणसैनी, जिलासैनी र बिजुलासैनी । त्रिपुरासुन्दरी र निङ्गलासैनी भन्नु एउटै हो भनिन्छ । ब्राह्मणिक धर्मशास्त्रमा उल्लेखित नवदुर्गाहरू यसप्रकार छन्, शैलपुत्री, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्द माता, कत्स्यायनी, ब्रह्मचारिणी, कालरात्री, सिद्धि, दात्री र महागौरी । कर्णालीमा मष्टोका नौ दिदीबहिनी नौ दुर्गा भवानीको लोकोक्ति यसप्रकार रहेको पाइन्छ ।
“भवानीको नवै बैनी वन–वन छायाँ ।।
डाँके लेक कर्णालीका गाड सेरा पायाँ ।।”
मष्टका बाह्र भाइ भनिए तापनि ठाउँअनुसार जनजिब्रोमा भन्ने गरिएका मष्टको नाम पृथक–पृथक भेटिन्छन् । बाह्र मष्ट र नौ दुर्गा केवल बाह्र र नौको संख्यामा मात्र छैनन् । त्यो भन्दा अधिक सङ्ख्यामा पनि पाइएका छन् ।
-एक भाई मष्टा र सोह्र बहिनी भवानी
विविध नामले स्मरण र उपासना गरेतापनि मष्ट एकै हुन् भन्ने अर्को लोकमत पनि छ । यो लोक साहित्यको किंवदन्ती, फाग, मागल, सगुन, चैत, भोलाइलो जस्ता विधामा समेत सुन्न पाइन्छ । बझाङतिर विशेषरुपमा यो मत प्रचलनमा छ । डोटी शैलेश्वरी मन्दिरको उत्तरतिर दुधेमष्ट माडौं छ । शैलेश्वरी लगायत सोह्र भवानीको एकमात्र भाइ मष्ट हुन भन्ने स्थानीयजनमा गहिरो विश्वास रहेको पाइन्छ ।
सोह्र बहिनी दुर्गा भवानी यसप्रकार छन्, १. जालपा देवी, २. लाखमा देवी, ३. पुन्यगिरि देवी, ४. निगला देवी, ५. दुर्गा देवी, ६. सुर्मा देवी, ७. कालिका देवी, ८. खनारी देवी, ९. मालिका देवी, १०. त्रिपुरासुन्दरी देवी, ११. नन्दा देवी, १२. उग्रतारा देवी, १३. कनका सुन्दरी देवी, १४. भुवनेश्वरी देवी, १५. वागेश्वरी देवी, १६. शैलेश्वरी देवी ।
– मष्टाका सेवकहरू
मष्टाका सेवकहरूलाई ठाँउ अनुसार वीर, बाँठ, भान, वाहन आदि भन्ने चलन छ । मष्टाको अनुचर वा सेवक वा गणका सदस्यलाई वीर वा वाहन वा भान भनिन्छ । आद्य केदारका पनि सेवकहरू हुन्छन् । केदार वा केदार समूहका देवताहरूको पनि सेवकहरू छन् । ती वाहन (भान) हरूलाई बाउन्न वीर (५२ थरी सेवक) भन्ने चलन छ । यी वीरहरू शक्तिशाली, लोककल्याण गर्ने र मष्टाको सेवक भएको विश्वास गरिन्छ । कतै कतै ५२ सय वीर र १६ सय मसानी भन्ने चलन पनि रहेको पाइन्छ । डोटीमा माडौं भएका कपल्लेकी केदारका भान वा सेवक लाटो, मसानी, सिमराडो, राजरै, सालमुनी, गौडीवाग, डाँडावाग, भुमरे, निमाउने आदि रहेको मानिन्छ ।
स्थानीय नदीनाला, बाटोघाटो, पहाड, भञ्ज्याङ खोला, नदी, खेतगरा, वन जंगल, भीरपाखा आदि स्थानमा रहने देवीदेवताहरुलाई मष्टाको सेवक मानिएको छ । यी भानहरू शक्तिशाली हुन्छन् । यिनीहरू सर्प, घोडा, बिरालो, कुकुर, लामपुच्छ्र्रे र बाँदर आदि रूपमा हुन्छन् । बूडू मष्टोका भानहरू फुटाशिली, भान्या, लाप्के र छ्यढुस्का हुन् ।
ढँडार मष्टाको भान चाप चुल्डी, लोडेसिमी, सिपदुल्यौ र नीलाग्रे हुन् । यी मध्ये छ्यदुस्का बाँदरको रूप लिएर हिँड्छन् । लोडेसिमी बदेलको रूप लिएर हिंड्छन् । सिपदुल्यौ बाघ बनेर हिँड्छन् । निलाग्रेहरू राक्षसको रूप लिएर हिँड्छन् । आद्य केदार, मष्टा र भवानीका सयौं, हजारौं सेवकहरू भएको जनविश्वास रहेको पाइन्छ ।
(लेखक ः श्री शिशु जागरण माध्यमिक विद्यालय बागचौर नगरपालिका–९, खोरबारे सल्यानमा कार्यरत शिक्षक हुन् ।)






