नेपालको पहिलो क्लिन स्विप
काठमाडौँ,१० फागुन ।
नेपाल घरेलु मैदानमा क्रिकेट विश्वकप लिग–२ का सबै चार खेल जितेर ‘क्लिन स्विप’ गर्ने पहिलो टोली भएको छ । रोहित पौडेलले सानदार कप्तानी इनिङ्स खेल्दै करण केसीसँग कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार च्याम्पियन टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो ।
स्कटल्यान्डविरुद्ध मंगलबार विजयी रन प्रहार गरेपछि नेपालका कप्तान रोहित पौडेल । उनले बनाएको अविजित ९५ रनमा नेपालले २ विकेटको जित हात पारेको हो । योसँगै नेपालले विश्वकप लिग–२ का चार खेल लगातार जितेको छ । रोहितले अविजित ९५ रन बनाएपछि नेपालले भरिभराउ दर्शकबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमै पूरा ग¥यो । त्यसक्रममा रोहितले करण केसीसँग ७५ रनको अविजित साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नवौं विकेटका लागि नेपालको यो सबैभन्दा ठूलो साझेदारी हो ।
नेपालले शृंखलामा खेलेका सबै ४ खेल जितेको हो । यसअघिका खेलमा नामिबियालाई २ र ३ विकेट तथा स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । लिग–२ मा यसअघि कुनै घरेलु टोलीले सबै चार खेल जितेका थिएनन् । सन् २०२० को फेब्रुअरीमा ओमानले काठमाडौं आएर नेपाल र अमेरिकाविरुद्ध २–२ गरी लिग–२ का सबै चार खेल जितेको थियो ।
यस जितले नेपालको एकदिवसीय मान्यता जोगाइरहने आशा जीवितै राखेको छ । नेपाल २८ खेलमा २६ अंकसाथ सात राष्ट्र सहभागी लिग–२ मा अंक तालिकाको छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न नेपालले अब बाँकी रहेका ८ मध्ये ५ खेल जित्नुपर्नेछ ।
‘यो नेपालको उत्कृष्टमध्ये एक जित हो । लगातार जित्यौं भनेर धेरै उत्साही हुन जरुरी छैन । हामीले जति खेल खेल्न बाँकी छन्, ती सबै फाइनल हुन्,’ प्लेयर अफ द म्याच रोहितले भने । भारतका मोन्टी देसाई नयाँ प्रशिक्षकका रूपमा आएपछि नेपालले सबै खेल जितेको छ । उनले टिमभित्र विश्वासको वातावरण बन्दै गइरहेको बताए ।
जितका लागि ४ रन चाहिने अवस्थामा रोहितले फाइन लेगमा चौका प्रहार गरेका थिए । ‘४ रन चाहिने अवस्थामा करण (केसी) दाइसँग १–१ रन लिएर खेलौं भन्ने कुराकानी भइरहेको थियो । बल खुट्टामा आएपछि चौका प्रहार गरें, त्यसले राहतसँगै रिल्याक्स पनि बनायो’ रोहितले भने, ‘५–६ विकेट जाँदासम्म पनि आस थियो । त्यसपछि गाह्रो भए पनि करण दाइ आएपछि साझेदारी बन्दै गर्दा जितिन्छ भन्ने विश्वास भयो ।’
सातौं ओभरमा १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले १ सय १ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । करणले अविजित ३१ रन बनाउँदा ३७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । नेपालको सुरुआत राम्रो थिएन । कुशल भुर्तेल १ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । ज्ञानेन्द्र मल्लले २१ रन जोडे । रोहित एउटा छेउमा टिकिरहे पनि अर्को छेउबाट निरन्तर विकेट झरिरह्यो ।
कुशल मल्लले एउटा लामो छक्का प्रहार गरे पनि उनी धेरैबेर टिकेनन् । उनले २८ बल खेल्दै १ चौका प्रहार गर्दै १७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्रसिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भए ।
स्कटल्यान्डका प्रशिक्षक सिन बर्गरले घरेलु मैदानमा खेलिरहेकाले नेपालले जोसका साथ खेलेर जित हात पारेको बताए । स्कटल्यान्ड यस शृंखलाको पहिलो खेलमा नामिबियामाथि जित हात पार्दै लिग–२ को विजेता बनिसकेको थियो । टोलीले सबै ३६ खेलमा ५० अंक जोड्यो । आईसीसीका डेभलपमेन्ट प्रमुख विलियम ग्लेनराइटले स्कटल्यान्डलाई विजेता ट्रफी प्रदान गरेका थिए ।
यसअघि टस हारेपछि ब्याटिङमा आएको स्कटल्यान्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । जर्ज मुन्सी र काएल कोएट्जरले स्कटल्यान्डलाई सानदार सुरुआत दिलाएका थिए । पूर्वकप्तान कोएट्जरलाई सन्दीप लामिछानेले २२ रनमा आउट गरी नेपाललाई पहिलो सफलता दिलाए । सन्दीप आफ्नो पहिलो ओभरमा आएदेखि नै स्विप शट खेलेर आक्रामक देखिएका मुन्सीले ५० बलमा ९ चौका र २ छक्का प्रहार गरी ६० रन बनाए । उनको लेग स्टम्प सन्दीपले उडाइदिएका थिए ।
कप्तान रिची बेरिङ्टनलाई एलबीडब्लू आउट गरी सन्दीप ह्याट्रिक विकेट नजिक पुगेका थिए । म्याथ्यु क्रसले ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरीद्वारा सिधा थ्रोमा रनआउट हुनुपूर्व उनले ६३ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । टोमस म्याकिन्टोसलाई १ रनमा आउट गरी सन्दीपले चौथो विकेट लिए । सन्दीपले १० ओभरमा ४५ रन खर्चे ।
माइकल लिस्कलाई बोल्ड गर्दै करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने उनी सन्दीप र सोमपालपछिका तेस्रो खेलाडी हुन् । करणले ब्रेन्डन म्याकमुलेनलाई ३१ रनमा आउट गरी आफ्नो दोस्रो विकेट लिए । म्याकमुलेनले ४८ बल खेलेर ३ चौका प्रहार गरे । करणले ३ विकेट लिए । उनले ८.१ ओभरमा ४२ रन खर्चे ।
तीव्र गतिका बलर गुलशन झाको स्थानमा मौका पाएका देब्रेहाते स्पिनर ललित राजवंशीले क्रिस ग्रेभ्सलाई ७ रनमा एलबीडब्लू आउट गरी नेपाललाई नवौं सफलता दिलाए । ललितले आफ्नो १० ओभरको कोटामा १ मेडन राख्दै ३३ रन खर्चे । अर्को एक विकेट कुशल मल्लको नाममा रह्यो ।