दैलेखमा बस्दै आएका राउटे दसैँ खर्चको जोहो गरिदिन मुख्यमन्त्री चौधरीलाई गरे आग्रह

सुर्खेत ।
दैलेखमा बस्दै आएका फिरन्ते जीवन बिताइरहेका राउटेहरू दसैँ खर्चका लागि दाङ पुगेका छन् । फिरन्ते जीवन बिताइरहेका राउटेहरू दसैँ खर्चको जोहोमा दाङ पुगेका हुन् ।
उनीहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर दसैँ खर्चको जोहो गरिदिन आग्रह गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई मुख्यमन्त्री कार्यालयमा भेटेर राउटे मुखियाले दसैँ खर्चको प्रबन्ध गरिदिन आग्रह गरेका छन् । राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीले चौधरीलाई भेटेर आफूहरूका समस्या सुनाएका छन् ।
राउटे शाहीले सरकारसँग दसैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई खर्चको व्यवस्था गर्न आग्रह गरे । ‘अब दसैँ आइसक्यो । हाम्रो जनताले दसैँमा बलि पनि दिनुपर्छ । खसी पनि खानुपर्छ । सरकारले पैसा दिनु प¥यो,’ शाहीको आग्रह थियो । उनका अनुसार ८६ घर परिवारलाई खसीका लागि सरकारले दुई लाख दिनुपर्ने छ ।
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको लागि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दसैँ खर्चका लागि आवश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए ।
राउटेलाई खर्चकै कारण दसैँ मनाउन समस्या भएमा लुम्बिनी प्रदेश सरकारले पनि केही सहयोग गर्ने मुख्यमन्त्री चौधरीले बताए । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।





