द्वन्द्वको पीडा भुल्दै किवी खेती

सल्यान,८ फागुन ।

 सल्यानको छत्रेश्वरी गाउँपालिका–२ गुराँसेका ४८ वर्षीय तेजबहादुर योगीले ३२ रोपनीमा ६ सय ५० बोट किवी लगाएका छन् । गत वर्ष उनले किवी बिक्री गरेर १८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यो वर्ष झन्डै २० लाख रुपैयाँ कमाइ भएको छ । उनले यो वर्ष करिब ४ मेट्रिक टन किवी फलाएका थिए । ०५८ देखि किवी खेतीमा लागेका उनले यसबाटै कमाएको रकमले दाङमा घडेरीसमेत जोडेका छन् ।

गुराँसेकै ५४ वर्षीय चित्रबहादुर केसीले पनि गत वर्ष किवीबाट ४ लाख रुपैयाँ आम्दानी गरे । उनले यो वर्ष झन्डै ६ लाख रुपैयाँको किवी बेचेका छन् । उनका अनुसार थोकमा प्रतिकिलो ४ सय रुपैयाँमा गाउँबाटै बिक्री भइरहेको छ । सशस्त्र द्वन्द्वको समयमा जिल्लामा सबैभन्दा बढी क्षति बेहोरेको क्षेत्र गुराँसे गाउँ हो । एकै ठाउँमा तीन पटकसम्म भिडन्त भएको थियो

। सेना र विद्रोहीमात्र नभई सर्वसाधारणसहित ११ जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते भएका थिए । ८० वटाभन्दा बढी घर जलेको थियो । स्थानीयले अहिलेसम्म गोलीको खोका भेट्ने गरेको बताउँछन् । द्वन्द्वको त्यो पीडा बिर्सिंदै उनीहरू व्यावसायिक किवी खेतीमा लागेका हुन् । अहिले यहाँका झन्डै ३० परिवारले व्यावसायिक किवी खेती गर्दै आएका छन् ।

‘किवी खेतीले जीवनस्तर बदलियो, रोजगारीका लागि सधैं भारतमा मजदुरी गर्न जानुपर्ने बाध्यताको अन्त्य भयो,’ केसीले भने, ‘व्यावसायिक खेतीले द्वन्द्वको पीडालाई कम गर्न सहयोग गरेको छ ।’ उनका अनुसार गाउँको किवी दाङ, नेपालगन्ज, बुटवल, भैरहवालगायत स्थानमा निकासी हुने गरेको छ ।

अर्का किसान योगीले गत वर्षभन्दा यो वर्ष उत्पादन बढेको बताए । ‘खाद्य बाली लगाउँदा घरका ७ जनाको परिवारलाई ६ महिना खान पुग्दैनथ्यो, परिवारको वर्षभरिको खर्चको जोहो गर्न कम्तीमा ३ महिना भारतमा मजदुरी गर्न जानुको विकल्प नै थिएन,’ उनले भने, ‘अहिले परिवारका सबै सदस्यले घरमै रोजगारी पाएका छौं ।’ उनले किवीको आम्दानीले गाउँमै ७ रोपनी जग्गासमेत जोड्न सफल भएको बताए ।

बारीमा झन्डै ४ सय किवीका बोट लगाएका स्थानीय डिल्लीबहादुर केसीको बारीका झन्डै ३ सय बोटले उत्पादन दिन्छ । उनले यो वर्ष झन्डै ५ लाख रुपैयाँ कमाइ गरेको जनाए । पाखो जग्गामा खाद्य बाली उत्पादन हुन छाडेपछि किवी खेतीमा लागेको बताए । ‘एउटै बोटबाटै ५० किलोसम्म उत्पादन हुन्छ, खेती गर्न सजिलो छ, बजारको समस्या छैन,’ उनले भने, ‘किवी खोज्न व्यापारीहरू गाडी लिएर गाउँमै आउँछन् ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार गुराँसेमा मात्रै करिब १ हजार रोपनी क्षेत्रफलमा किवी खेती भइरहेको छ । कार्यालयले किसानलाई बर्सेनि १५ लाख रुपैयाँसम्म अनुदान दिँदै आएको छ । सल्यानमा २०५८ सालदेखि किवी खेती सुरु भएको कार्यालय प्रमुख भरतकुमार बस्नेतले बताए । गुराँसेमा गत वर्ष २५ मेट्रिक टन किवी उत्पादन भएको थियो । जिल्लाभरि करिब ८ सय हेक्टरमा किवी लगाइएको छ ।

कान्तिपुर 

द्वन्द्वको पीडा भुल्दै किवी खेती

YUGAAWHAN NATIONAL DAILY (2079-11-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *