शिक्षक सेवा आयोगः कोटामै शिक्षक अनुत्तीर्ण

पुनम वि.सी.
सुर्खेत, ७ फागुन ।
कर्णाली प्रदेशका लागि प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको परीक्षाको नतिजामा माग संख्याको आधारमा समेत परीक्षार्थीहरु उत्तीर्ण हुन सकेका छैनन् । शिक्षक सेवा आयोगले बिहिबार प्रकाशित गरेको नतिजामा कर्णालीका जिल्लाहरुका लागि कुल दुई सय २८ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । यसमा खुला कोटातर्फ एक सय ८१ जना र समावेशीतर्फ कुल ४७ जना उत्तीर्ण भएका हुन् ।
२०७८÷०७९ आर्थिक वर्षमा आयोगले यस विज्ञापनमा कुल तीन सय ६५ जना शिक्षक माग गरेको थियो । आयोगको विज्ञापनमा खुलातर्फ दुई सय ७१ जना र समावेशीतर्फ ९४ जना शिक्षक माग गरिएको थियो । खुलातर्फका आवेदनमा जाजरकोट र दैलेखमा मात्र मागको पूर्ण संख्यामा परीक्षार्थी उत्तीर्ण भएका छन् । जाजरकोटमा ४२ जनाको खुलातर्फको कोटामा ४२ जना नै उत्तीर्ण छन् । यसैगरी दैलेखमा भने ७६ जनाको कोटामा ७६ जना नै उत्तीर्ण भएको देखिन्छ ।
तर अन्य जिल्लाहरुमा भने माग संख्याभन्दा पनि न्यून संख्यामा परीक्षार्थीहरु छनौट भएका छन् । रुकुममा पश्चिममा खुलातर्फ आठ जना माग गरिएकोमा एक जना मात्र उत्तीर्ण भए । यसैगरी हुम्लामा १९ जनाको मागमा सात जना, मुगुमा ३६ जनाको मागमा १३ जना, डोल्पामा ४० जनाको मागमा २८ जना, कालिकोटमा ३३ जनाको मागमा ११ जना र जुम्लामा १७ जनाको मागमा तीन जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यता समावेशी तर्फका कोटाहरुको अवस्था समेत उस्तै छ । समावेशी कोट तर्फ महिला कोटामा ३१ जनाको मागमा २५ जना, आदिवासी÷जनजाती कोटामा २६ जनाको मागमा चार जना, मधेशी कोटामा २२ जनाको मागमा सात जना, दलित कोटामा नौंजनाको मागमा पाँच जना, पिछडिएको क्षेत्र र अपाङ्गता कोटामा तीन–तीन जनाको मागमा तीन–तीन जना नै उत्तीर्ण भएका छन् ।
जाजरकोट जिल्लामा समावेशी कोटामध्ये महिला कोटामा १२ जना माग गरिएकोमा ६ जना मात्र उत्तीर्ण भएका छन् । आदिवासी÷जनजाती तर्फ नौं जनाको मागमा दुई जना मात्र उत्तीर्ण छन्, मधेशी कोटामा आठ जनाको मागमा दुई जना, दलित कोटामा तीन जनाको मागमा एक जना, पिछडिएको क्षेत्र तर्फ एक जनाको मागमा एक जना उत्तीर्ण छन् ।
दैलेख जिल्लाको महिला कोटामा १९ जनाको माग थियो । यस कोटामा शत्प्रतिशत संख्यामा १९ जना नै उत्तीर्ण भएका छन् । यसैगरी आदिवासी÷जनजाती कोटामा १७ जनाको माग छ । मधेशी कोटामा २२ को मागमा सात जना, दलित कोटामा नौं जनाको मागमा पाँच जना उत्तीर्ण भएका छन् । यसैगरी जिल्लामा पिछडिएको क्षेत्र र अपाङ्गता कोटामा तीन–तीन जनाको कोटामा तीन–तीन जना नै उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका परीक्षार्थी लिखित तथा मौखितलगायतका सबै परीक्षाबाट उत्तीर्ण भएका हुन् ।
हजारौंको संख्यामा आवेदन
आयोगको विज्ञापनमा हजारौं परीक्षार्थीको आवेदन परेको थियो । यस विज्ञापनको लिखित परीक्षामा मात्र कुल आठ हजार दुई सय २१ जना परीक्षार्थी सहभागी भएका थिए । गत वर्ष २०७८ को चैत्रमा आयोगले यस विज्ञापनमा लिखित परीक्षा सञ्चालन गरेको थियो । सो पछि २०७९ वैशाखमा आएको नतिजामा कुल एक हजार एक सय ९१ जना मात्र उत्तीर्ण भएको शिक्षक सेवा आयोगको तथ्यांक छ । सो पछि असार १३ गतेबाट परीक्षार्थीका लागि विषयगत परीक्षा सञ्चालन भएका थिए ।






