जुम्लामा ग्यास लिक हुँदा घरमा आगलागी, ६ जनाको सकुशल उद्धार

जुम्ला,७ फागुन ।
जुम्लाको चन्दननाथ नगरपालिका–६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा ग्यास लिक भएर आगलागी भएको छ । तीनतले घरको भूइँतलामा आगलागी हुँदा ४ वटा कोठा, भ¥याङमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
उनका अनुसार घर भाडामा बसेका नवराज खड्का खाना पकाउँदै गर्दा एक्कासी रेगुलेटरमा आगो बलेको थियो । लिक भइरहेको आगो निभाउन खोज्दा ग्यास सिलिन्डर ढलेर अन्य कपडामा फैलिएको उनले बताए ।
आगलागीको समयमा दोस्रो र तेस्रो तलामा रहेका मानिसहरुलाई सकुशल उद्धार गरिएको हो । घरको भूइँतलामा आगलागी भएपछि दोस्रो र तेस्रो तलामा रहेकी सरस्वती बुढ्थापा, प्रमिला बुढा, कर्मकन्या हमाल, पूजा बुढा र माया लक्ष्मी बुढालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नजिकै निर्माणाधीन घरमा भर्याङ लगाएर उद्धार गरिएको थियो ।
स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको सहयोगमा आगो निभाइएको थियो । प्रहरी प्रमुख डिएसपी प्रह्लाद कार्कीले पछिल्लो समयमा ग्यास लिक हुँदा आगलागी बढेकोले सबैले सचेत हुनुपर्ने बताए ।
कान्तिपुर






