जनप्रतिनिधिलाई नागरिकको साझा बन्न मन्त्री बीसीको आग्रह

दैलेख ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णबहादुर बीसीले जनप्रतिनिधिहरुले साझा व्यक्ति भएर काम गर्न आग्रह गरेका छन् ।
जिल्ला समन्वय समिति दैलेखले शनिवारदेखि शुरु गरेको दुई दिने प्रगति समीक्षा कार्यक्रममा उनले भने, ‘चुनाव लड्दा कुनै एक दलबाट उम्मेदवार बनिन्छ तर जितिसकेपछि साझा बन्नुपर्छ, हामी साझा भयौं कि भएनौं आत्म समीक्षा गरौं ।’
मन्त्री बीसीले धेरै भनाई खाएर जिल्लामा पारिएका विकास योजनाहरुमा पारदर्शी र गुणस्तर समस्या देखिएको औंल्याउदै लक्षित वर्गको जीवनस्तर उठाउन राष्ट्रसेवक कर्मचारीहरुको इमान्दार सहयोग चाहिएको उनको आग्रह थियो ।
कर्णाली प्रदेश सरकारले एक वर्षमा दश हजार व्यक्तिलाई स्वरोजगार दिलाउने, कृषि खेतीलाई आधुनिक प्रणालीमा पहुँच बढाउने, कर्णालीको पहिचानका रैथाने बालीको प्रवद्र्धन लगायतका रचनात्मक काम गर्न लागेकोले राजनीतिक नेतृत्व र नागरिक समाजको सहयोग आवश्यक रहेको उनले बताए ।
जिल्लाका ११ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत लगायत दैलेखको विकासे काममा गरिरहेका सरकारी तथा गैरसरकारी निकायले अघिल्लो आर्थिक वर्ष २०७९-०८० अवधिमा भए गरेका विकास गतिविधि, अनुभव र सिकाईका आधारमा आगामी कार्यक्रम प्रभावकारी बनाउन प्रगति समीक्षा कार्यक्रम राखिएको जिल्ला समन्वय अधिकारी रेशमबहादुर बुढाको भनाई छ ।






