कर्णालीमा अहिले पनि २६ हजार बालबालिकाको जन्मदर्ता हुन बाँकी

सुर्खेत ।

कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाको जन्मदर्ता नभएको पाइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार ६ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याकं अनुसार २५ हजार नौ सय ९० जना बालबालिकाको जन्म दर्ता नभएको हो ।

जन्म दर्ता गराएका ८७ दशमलव तीन प्रतिशत बालबालिकामध्ये बालकभन्दा शून्य दशमलव सात प्रतिशत बालिका धेरै रहेको तथ्याकंमा उल्लेख छ । कर्णालीमा सबै बालबालिकाको जन्म दर्ता नहुनुको कारण सचेतनाको अभाव भएको सरोकारवाला बताउँछन् ।

बाल अधिकारकर्मी नवराज विसीले आफ्ना छोराछोरीको समयमै जन्म दर्ता गराउनुपर्छ भन्ने ज्ञान नभएको बताए । उनले बुबा पत्ता नलागेका बालबालिको पनि जन्म दर्ता गर्न सकिने भए पनि त्यस्ता बालबालिकाको जन्म दर्ता नगर्ने गरिएको बताए ।

सरकारी तवरबाट कोही पनि बालबालिका जन्म दर्ता गर्नबाट वञ्चित नहुन् भनेर नीति नियम आएको भए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै उनले यो कार्यान्वयनमा स्थानीय सरकारको भूमिका धेरै हुने बताए ।

यता, कर्णाली प्रदेश सरकारले जन्म दर्ता गर्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै अहिले पनि जन्म दर्ताको बारेमा सबै नागरिक जानकार हुन नसकेको बताएको छ । सामाजिक विकास मन्त्रालयले जन्म दर्ताबाट छुटेका बालबालिकाको कारण पत्ता लगाइ त्यहीअनुसारको सचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

मन्त्रालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता ज्ञवालीले सबै बालबालिकाको जन्म दर्ता गराउनुपर्छ भनेर विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिएको बताएका हुन् । उनले जन्म दर्तासम्बन्धी कानुनी जानकारी पनि दिने गरिएको बताए ।

 

कर्णालीमा अहिले पनि २६ हजार बालबालिकाको जन्मदर्ता हुन बाँकी

१८ जना विद्यार्थीलाई छात्रवृति प्रदान

कर्णालीमा अहिले पनि २६ हजार बालबालिकाको जन्मदर्ता हुन बाँकी

जनप्रतिनिधिलाई नागरिकको साझा बन्न मन्त्री बीसीको आग्रह