नेपालगन्ज ।
बाँकेमा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्न थालेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको संख्या बढ्न थालेको देखिएको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहेका कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिए ।
विगत दुई सातादेखि इन्फ्लुएन्जा हुने क्रम बढेको उनको भनाई छ । अस्पतालले उपचारका लागि आएका बिरामी मध्येबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउने गरेको छ ।
साप्ताहिकरुपमा पठाउने गरिएको नमुनामा इन्फ्लुएन्जा देखिने क्रम बढ्दै गएको अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए ।
इन्फ्लुएन्जाको संक्रमण हुँदा मानिसलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिन्छन् । ‘पछिल्लो हप्तादेखि इन्फ्लुएन्जाका बिरामीको संख्या ह्वातै बढेको देखिन्छ । परीक्षण गरेका मध्ये ४० प्रतिशतको हाराहारीमा इन्फ्लुएन्जा पुष्टि हुन थालेको छ । मौसम परिवर्तन हुने समयमा देखिने भएकाले बिरामीको बढ्दो क्रममा रहेको प्रयोगशाला प्रमुख मिश्रले बताए ।
मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो । इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा ‘फ्लु’ भनेर बुझिन्छ । सामान्यतः नेपालमा फागुन–चैत र साउन–भदौमा ‘फ्लु’ संक्रमण बढी देखिने गरेको छ । इन्फ्लुएन्जा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । ‘यो निकै सङ्क्रामक हुन्छ । संक्रमित मानिसको श्वासप्रश्वासबाट सहजै फैलिन्छ । बिरामीको नजिक जानु नै पहिलो जोखिम हो,डा. शाहले भने ।
‘परिवारको एक सदस्यबाट अरुमा, स्कुल र होस्टलका विद्यार्थीमा एक अर्कोमा सर्ने जोखिम अत्यधिक हुने पनि उनको भनाई छ । चिकित्सकका अनुसार यस समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुन्छ ।
भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा।राजन पाण्डेले दैनिक रुघाखोकीका बिरामी उपचारका लागि आउने क्रम बढ्दो रहेको बताए । उनका अनुसार समुदायस्तरमा इन्फ्लुएन्जा फैलिरहेको छ ।

