सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

सुर्खेत ।
सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिहंको प्रमुख आतिथ्यता एवं नेपाल स्थित संयुक्त राष्ट्र संघका संयोजक हाना गायक हम्दीको विशेष आतिथ्यतामा ग्र्याजुएट स्कुल अफ ल द्वारा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि एवं उपकुलपति प्रा. डा. नन्द बहादुर सिहंले सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा कार्यक्रम अन्तर्गत ग्र्याजुएट स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरुले गरेको सकारात्मक कार्यको प्रशंसा गरेका थिए ।
उनले ग्र्याजुएट स्कुल अफ ल लाई अन्तरराष्ट्रिय स्तरको कानून अध्ययन–अध्यापन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने कुरामा आफु लागिपरेको र त्यसको लागि विभिन्न कार्यहरु अगाडी बढिसकेको समेत जानकारी दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्थित संयुक्त राष्ट्र संघका संयोजक हाना गायक हम्दीले सामाजिक न्यायको क्षेत्रमा ग्र्याजुएट स्कुल अफ ल तथा विद्यार्थीहरुले गरेको योगदानको उच्च मुल्यांकन गर्दै खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा उपकुलपति प्रा. डा. नन्द बहादुर सिहं तथा हाना गायक हम्दीले ग्र्याजुएट स्कुल अफ लद्वारा प्रकाशित कानूनी अध्ययन को जर्नलको अनावरण समेत गरेका थिए ।

त्यस्तै ग्र्याजुएट स्कुल अफ ल का सह–प्राध्यापक विनय कुमार झाले सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा सम्बन्धी प्रस्तुतीकरण दिएका थिए, भने ग्र्याजुएट स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरुले कानुन संग सम्बन्धित सामाजिक न्यायका लागि गरेका विभिन्न सकारात्मक प्रयास र कार्यहरुबारे अनुभव प्रस्तुत गरेका थिए ।
मध्यपश्चिम विश्वविद्यालय, केन्द्रीय कार्यालय स्थित कन्फ्रेन्स हलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता ग्र्याजुएट स्कुल अफ ल का निर्देशक सुरेन्द्र कुमार अधिकारीले गरेका हुन्, भने अतिथिको रुपमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल, डीन सह–प्रा. डा. लीलाधर तिवारी, प्रिन्सिपल जस्बिर रोका, ग्ल्म्ए कर्णाली प्रदेशका प्रमुख एवं पोर्टफोलियो प्रबन्धक टेक टमाटा, संयुक्त राष्ट्र संघका अन्य प्रतिनिधिहरु, ग्र्याजुएट स्कुल अफ ल का प्राध्यापक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम को साझेदारीमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृधि परियोजना दोस्रो चरणको कार्यक्रम कर्णाली प्रदेशमा समेत संचालनमा रहेको छ, भने सो अन्तर्गत मध्यपश्चिम विश्वविद्यालय, ग्र्याजुएट स्कुल अफ ल मा सामाजिक न्यायका लागि सामाजिक कानूनी शिक्षा कार्यक्रम संचालनमा रहेको छ ।







