थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

बर्दिया, २७ असोज । 

बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ । साँझ पर्नासाथ गाउँका बडघर वा मटावाँको घरआँगनमा भेला हुने स्थानीय मादल र मञ्जिराको तालमा गीत गाउँदै हुर्डुङग्वा नाच्न थालेका छन् । देसाउरी थारू समुदायमा दसैँको सांस्कृतिक पहिचानका रूपमा रहेको हुर्डुङग्वा नाच हरेरी पूजा गरेपछि सुरु हुने परम्परा छ । 

दशैँका अवसरमा गाउँका महिला तथा पुरुष सामूहिक रूपमा सहभागी भएर नाच्ने र गीत गाउने गर्छन् । बर्दियामा देसाउरी थारू समुदायको बाक्लो बसोबास रहेकाले यहाँका गाउँमा हुर्डुङग्वा नाचको विशेष रौनक देखिन्छ ।

गुलरिया नगरपालिका–१२ भैसाही गाउँमा दसैँ नजिकिएसँगै हरेक दिन राति हुर्डुङग्वा नाच भइरहेको स्थानीय तेतिराम थारुले बताए । “दशैँ घरआँगनमै आइसकेकाले गाउँभरिका मानिस मिलेर सामूहिक रूपमा नाचिरहेका छौँ,” उनले भने । हुर्डुङग्वा नाच सुरु गर्दा लचारी गीत गाउने चलन छ । ‘नदियाके तिरे रे तिरे धन बसवरिया हो, धन बसवरिया । वही बाँस काटि रे कै पिजरा बनावय हो’ जस्ता गीतको भाकाबाट नाच सुरु गरिन्छ । 

दिनभरी खेतबारीको काम सकेपछि साँझ गाउँले भेला भएर रातीसम्म गीत गाउने र नाच्ने गर्छन् । बाँसगढी नगरपालिका–६ मोतिपुरमा पनि दैनिक हुर्डुङग्वा नाच भइरहेको स्थानीय रामकिसुन थारुले बताए । नाचलाई व्यवस्थित र आकर्षक बनाउन मादल मर्मत गर्ने, गीत गाउने व्यक्ति छनौंट गर्ने तथा नाच्ने र मादल बजाउने टोली तयार पार्ने काम भइरहेको छ । 

हुर्डुङग्वा नाचमा दुई समूह बनाएर गीत गाउने र नाच्ने गरिन्छ । पुरुष–पुरुष वा महिला–पुरुषका समूह बनाएर नाचिने यस परम्परामा नाच टोलीका मुख्य अगुवालाई ‘मोहिया’ र दोस्रो अगुवालाई ‘पिछगुन्या’ भनिन्छ ।  नाच्ने पुरुषले महिलाको भेषमा ‘बठिन्या’ को भूमिका निर्वाह गर्ने परम्परा छ । 

एकातिर मञ्जिरा र अर्कोतिर मादल बजाइन्छ । दुवै समूहले पालैपालो गीत दोहोर्‍याउँदै लय र तालमा सामूहिक नृत्य प्रस्तुत गर्छन् । हुर्डुङग्वाका गीतलाई समय र अवसर अनुसार विभिन्न प्रकारमा वर्गीकरण गरिएको थारू संस्कृतिका जानकार प्रशुराम थारुले बताए । उनका अनुसार दिउँसो गाइने गीतलाई ‘दिनगित्वा’, राति गाइनेलाई ‘कहरा’ र बिहान गाइनेलाई ‘बिहगरा’ भनिन्छ । 

यसबाहेक लचारी, फूलवार, चुदरी बिलाप र महिरावानजस्ता गीत गाउने चलन छ । यी गीत रामायण तथा शिव–पार्वतीको महिमासँग जोडिएका छन् । बारबर्दिया बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागी थारुका अनुसार भदौमा गरिने हरेरी पूजादेखि सुरु हुने हुर्डुङग्वा नाच दसैँ सकिएको करिब एक सातासम्म चल्ने परम्परा छ । 

सामान्य अवस्थामा राति नाचिने यो नाच नवमीदेखि दसैँसम्म पनि नाच्ने गरिन्छ । देसाउरी थारू समुदायको बसोबास बर्दियासँगै बाँके, दाङ, कैलाली र कञ्चनपुरमा छ । गीत र नाचको मूल परम्परा उस्तै भए पनि गाउँठाउँ अनुसार नाच्ने शैलीमा केही भिन्नता रहेको थारुले बताए ।  मादल र मञ्जिराको तालमा सामूहिक गीतसँगै प्रस्तुत गरिने हुर्डुङग्वा नाच थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा हो ।

थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण

थारू बस्तीमा हुर्डुङग्वा नाचको रौनक

पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!