मुगुमा खाद्यान्न ढुवानी सुरु


मुगु ।
मुगुमा चालु आर्थिक वर्षको खाद्यान्न ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिडेट जनाएको छ ।
खाद्य ढुवानीको लागि ठेक्का स्वीकृत नभए पनि उपभोक्ताको समस्यालाई मध्यनजर गरी अग्रिम ढुवानी सुरु गरिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिडेटका प्रमुख पुष्कर भामले बताए ।
लिमिडेटको मुख्य गोदाम गमगढीमा चालु आर्थिक वर्षको ६ सय क्विन्टल खाद्यान्न नेपालगञ्जदेखि ढुवानी भइ सकेको उनको भनाइ छ ।
वर्षातमा सडकको अवस्था जोखिम हुँदा खाद्यान्न ढुवानीमा समस्या भए पनि दसैं तिहारको लागि भने प्रयाप्त खाद्यन्न ढुवानी हुने भामले बताए ।
दसैं तिहार र स्थानीय चाड पर्वलाई ध्यानमा राखेर उपभोक्तालाई मर्का नहोस् भन्ने उद्देश्यले नेपालगञ्जदेखि सडक मार्गबाट खाद्य ढुवानी सुरु गरिएको भामले जानकारी दिए ।
जिल्ला सदरमुकाममा पुगेको खाद्यान्न ग्रामीण भेगका डिपोहरुमा पनि पठाउन सुरु गरिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।
चालु आर्थिक वर्षमा गमगढी लिमिडेटको गोदाममा १० हजार क्विन्टल सहित जिल्लाभर १७ हजार खाद्य कोटा स्वीकृत भएको लिमिडेट प्रमुख भामले जानकारी दिए ।
गत असारदेखि गोदाममा खाद्यान्न सकिएपछि श्रीकोट, सोरुकोट र पुलू खाद्य डिपो साथै कालै र रातापानी बिक्री केन्द्र बन्द अवस्थामा छन् । लामो समयदेखि ग्रामीण भेगका डिपोमा खाद्यन्न नहुँदा उपभोक्ताहरू ब्यापारीको महँगो चामल किनेर खान बाध्य छन् ।






