वन्यजन्तुलाई जोगिनै मुश्किल, वासस्थान नै छैनन सुरक्षित

सुर्खेत । गत मंसिरमा वीरेन्द्रनगर-५ स्थित सामुदायिक जंगल नजिकै जंगली बँदेल मृत अवस्थामा फेला पर्र्यो । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुगेको डिभिजन वन कार्यालयको टोलीले बँदेललको शरिरमा चार वटा गोली लागेको फेला पारेको थियो । गोली लागेर घाइते अवस्थामा ज्यान जोगाउन भाग्दा भाग्दै कालिकामन्दिर र वैद्यडाँडा कच्ची सडकको ओरोलोमा मृतावस्थामा फेला परेको जंगली बँदेलको शिकार गर्ने उद्देश्यले गोली हानिएको प्रष्टै भएपनि कसले गोली हान्यो भन्ने अहिलेसम्म थाहा पत्ता लाग्न सकेको छैन् ।

यसैगरी गत माघमा वीरेन्द्रनगर-४ स्थित अर्को एक सामुदायिक वन क्षेत्रभित्र मृत अवस्थामा मृग रहेको सूचना डिभिजन वन कार्यालयले पायो । घटनास्थलमा पुग्दा शिकारीले राखेको फलामे पासोमा परेर मृगको मृत्यु भएको कार्यालयको भनाई छ । गत माघ महिनामै वीरेन्द्रनगर-११ मा कार्यालयले घाइते अवस्थामा मयुर फेला पारेको थियो । पछि उपचारका क्रममा त्यसको पनि मृत्यु भयो ।
यी त प्रतिनिधिमूलक घटना मात्र हुन्, सुर्खेतमा यसअघि डिभिजन वन कार्यालयले जिउँदै उद्धार गरेका तथा मृत फेलापारेका वन्यजन्तुको अवस्था हेर्दा प्रदेशको राजधानी आसपासका वनजंगलमा रहेका वन्यजन्तुहरु चोर शिकारीबाट अझैंपनि असुरक्षित रहेको देखिन्छ । दुई लाख ४७ हजार ६ सय ४४ हेक्टर क्षेत्रफल रहेको सुर्खेत जिल्लाको ६९ दशमलव ४४ प्रतिशत भू-भाग वन क्षेत्रले ओगटेको छ । यस क्षेत्रमा चितुवा, भालु, बँदेल, बाघ, जरायोलगायतका जंगली जनावरको वासस्थान छ । यसका साथै कालिच, वनकुखुरा, मयुर, कोइलीलागयतका विविध प्रजातिका चराहरुको समेत वासस्थान छ ।
डिभिजन वन कार्यालयले वन्यजन्तु उद्धार गरेको विवरण मात्र हेर्ने हो भनेपनि यहाँ वार्षिक रुपमा थुप्रै वन्यजन्तुको घाइते अवस्थामा उद्धार तथा मृतावस्थामा फेला पारेको देखिन्छ । उद्धार भएका धेरैको जंगली जनावरपनि नाजुक या अन्तिम अवस्थाका हुन्छन् ।कतिपय त मरेको अवस्थामै भेटिन्छन् ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को साउन महिनामा दुई वटा जरायो, भदौ महिनामा मयुर, मंसिरमा चरिबाघ, पुषमा रतुवा-मृग, माघमा निगाले बाघ, गिद्ध र फागुन महिनामा मृगको उद्धार गरेको थियो ।
चोर शिकारीको पासोमा परेका, गोली लागेर घाइते भएका तथा अंगभंग भएका वन्यजन्तु उद्धार पछि पनि सबै पुनः जंगल फर्केका पनि छैनन् । चालू आर्थिक वर्षको असोजसम्मका डिभिजन वन कार्यालयले तीन जनाविरुद्ध वन्यजन्तु सम्बन्धि कसुरमा सुर्खेत जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । वन्यजन्तु कसुरमा गत साउनमा भेरीगंगाा नगरपालिका-१ निवासी एक व्यक्तिलाई कार्यालयले भालुको पित्त तस्करीको आरोपमा अदालतमा मुद्धा दायर गरेको हो ।
आ.व २०७८/०७९ मा वन्यजन्तु कसुरका दुई मुद्दामा आठ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये दुई जना अभियुक्त अहिले पनि फरार नै छन् । सुर्खेतस्थित वन क्षेत्रमा वन्यजन्तुको संख्यामा समेत वृद्धि भएको छ । यस स्वरुपमा जंगलमा आहाराको कमी हुने तथा वन्यजन्तुहरु वासस्थान फेरिरहने प्राणी भएका कारण पनि मानव समुदाय भएतिर आउने गर्छन्, खेतीको नोक्सानी गरिरहेका छन् ।
हाल बेलामौकामा फेला पर्ने गरेका मृत वन्यजन्तुको अध्ययनले पनि यहि देखाउँछ । खासगरी चोर शिकारीले राख्ने पासो तथा मार्ने उद्देश्यले राखिएका औजारले वन्यजन्तुको मृत्यु भएको र शिकारीले उठाउन नपाउँदा ती सबै त्यही अवस्थामा छाोडिएका हुन्छन् । ‘पछिल्ला घटनाक्रमहरु हेर्दा यी दुईबीचको द्वन्द्वमा वन्जन्तुले ज्यान गुमाइरहेको देखिन्छ ।’
डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत मुनबहादुर रावतले भने, अर्को समस्या के छ भने, बाली जोगाउदा हैरान भएका किसानले पासोमा वन्यजन्तुलाई पारेपछि त्यसै छाडिदिन्छन् । कानूनी फन्दाको डरले ।’ यसै द्वन्द्वमा वन्यजन्तुको ज्यान जोखिम नहोस् भनेर डिभिजन वन कार्यालयले किसानका खेतीमा वन्यजन्तुबाट भएको क्षतिको शोधभर्ना समेत गर्दै आएको भने छ तर यो विषयमा धेरै नागरिक जानकार छैनन् ।
‘स्थानीय स्तरमा हामीले सचेत बनाउने प्रयास गर्दैछौँ ।’ डिभिजन वन प्रमुख रावतले भने, ‘ किसानहरुलाई क्षतिपूर्ति सहितको रकमको समेत व्यवस्थाका बारेमा जानकारी दिदैछौँ ।’ अर्को समस्या भनेको डिभिजन वन कार्यालय आफैपनि जिल्लाभरका जंगलमा अनुसन्धान समेत गर्नसक्ने अवस्थामा छैन् । ४२ जना वन रक्षकको दरवन्दीमा ३८ पद अझै खाली नै छ ।
तर सीमित जनशक्तिको सहारामा डिभिजन वनले यसअघि काँक्रेविहार संरक्षण क्षेत्रमा नेपाल प्रहरीको सहायतामा ‘सर्च अपरेशन’ समेत चलाएको उनले जानकारी दिए । जंगलमा हुने चोरी शिकारी नियन्त्रणका लागि यस्ताखाले कार्यक्रमहरु नियमित चलाउन कार्यालयलाई सकस रहेको उनको भनाई छ ।
जंगलमा वन्यजन्तुको बढ्दो संख्याका विषयमा उनले भने, ‘अहिलेको अवस्थामा बँदेलको संख्या धेरै बढेको छ । यसले गर्दापनि उनीहरु जंगल बाहिर आउँछन् । संख्या नियन्त्रणका लागी कार्यविधि नै बनाएर शिकारलगायतका कार्यक्रम सुरु गर्नुपथ्र्यो ।’ तर जंगलमा शिकार खुलाउनका लागि प्रक्रिया निकै लामो र झन्झटिलो समेत छ ।






