दीर्घ विरामीलाई पाँच हजार
रुकुम पश्चिम,२८ पाैष ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले दीर्घ रोगका विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने गरेको छ । नगरपालिकाले केन्द्रीय कार्यक्रमअनुसार विभिन्न दीर्घ रोगका विरामीलाई मासिक उपचार खर्चसमेत उपलब्ध गराउन थालेको हो ।
चालु आर्थिक वर्षको साउन महिनादेखि नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, मिर्गौलाको डायलाइसिस गराइरहेका, क्यान्सर पीडित र चोटका कारण पक्षघात भई शरीरको तल्लो भाग नचल्ने समस्या भएका विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने थालेको हो ।
प्रत्येक महिना विरामीको खातामा जानेगरी उक्त रकम दिने व्यवस्था गरिएको, अहिलेसम्म १२ जनाले यो सेवा पाइसकेको र तत्कालका लागि स्थानीय तहले नै व्यवस्थापन गरेपनि पछि भने संघीय सरकारले उपलब्ध गराउने नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक बेदाराम ओलीले बताए ।
‘अहिले दीर्घ रोगका विरामीको उपचार खर्च नगरपालिकाले व्यहोर्ने गरेको छ,’ उनले भने,‘पछि संघीय सरकारले नै त्यो व्यवस्थापन गर्ने योजना रहेको छ । तर, अहिलेसम्म पनि यो कार्यक्रम लागू भएको छैन ।’ त्यस्तै, नगरपालिकाले दीर्घ रोगका विरामी क्यान्सर तथा मुटु रोग पीडितले उपचार सहुलियतका लागि सिफारिस लिने गरेको सह–संयोजक ओलीले जानकारी दिए ।
त्यस्तो, उपचार सहुलियत लिनेमा संख्या बढ्दै गएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा क्यान्सर रोग तथा मुटु रोगका विरामीले उपचार सहुलियतका लागि १७ जनाले सिफारिस लिइसकेका छन् ।
यसका लागि विरामी भर्ना भई उपचार गराइरहेको अस्पतालले सम्बन्धित व्यक्तिको रोग पुष्टि गरेको पत्र, वडाको सिफारिस र विरामीको व्यक्तिगत निवेदनका आधारमा पालिकाले सिफारिस दिने दिएमा नगरपालिकाले एक लाख रुपैयाँसम्मको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरेको छ ।






