चाडपर्व लक्षित सुरक्षा कडा, बाँकेमा एक हजारभन्दा बढी प्रहरी परिचालन

बाँके ,२० असोज ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बाँके प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणसँगै भारतबाट घर फर्किने नेपालीलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी नेपालगन्जको जमुनाहा नाका तथा नेपालगन्ज र कोहलपुर बसपार्कमा मंगलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिँदैछ।
भारतबाट फर्किने नेपालीलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन यात्रु सहायता कक्ष सञ्चालन गर्न लागिएको एसपी जिसीले बताउनुभयो। उहाँका अनुसार सहायता कक्षमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरीसमेत परिचालन हुनेछन्। यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउने, यातायातसम्बन्धी सहजीकरण गर्ने तथा समस्या परे तत्काल सहयोग गर्ने व्यवस्था मिलाइएको छ।
चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि जिल्लामा नेपाल प्रहरीका एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको एसपी जिसीले जानकारी दिनुभयो। आवश्यकताअनुसार प्रहरी गणबाट थप जनशक्ति परिचालन गर्ने तयारीसमेत गरिएको उहाँले बताउनुभयो।
चोरी, लुटपाट, पाकेटमारीलगायतका आपराधिक गतिविधि नियन्त्रणका लागि नेपालगन्ज, कोहलपुरसहितका प्रमुख बजार तथा भीडभाड हुने क्षेत्रमा मोबाइल र पैदल गस्ती बढाइएको प्रहरीले जनाएको छ। भीडभाडको मौका छोपेर हुन सक्ने चोरी तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।
एसपी जिसीले सर्वसाधारणलाई ढुक्क भएर चाडपर्व मनाउने वातावरण बनाउन सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइएको बताउनुभयो।
ट्राफिक नियम उल्लंघन गर्नेलाई तत्काल कारबाही
चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने भएकाले जिल्लाको ट्राफिक व्यवस्थापनमा समेत कडाइ गरिएको छ। जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा विभिन्न स्थानमा सवारीसाधन जाँच तथा निगरानी गर्ने व्यवस्था मिलाइएको एसपी जिसीले बताउनुभयो।
तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई तत्काल कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।
‘ट्राफिक नियमविपरीत कार्य गरेको पाइएमा चालकलाई ठाउँका ठाउँ कारबाही गर्ने नीति बनाइएको छ,’ एसपी जिसीले भन्नुभयो।
चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा छिटो गन्तव्यमा पुग्ने नाममा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न सडक तथा राजमार्गमा जनपद र ट्राफिक प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो।
लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले मुख्य सडक तथा राजमार्गमा निगरानी थप कडा पारिएको छ। मापसे, तीव्र गति र लापरबाहीपूर्वक सवारी चलाउने कार्य नियन्त्रणका लागि नियमित जाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।
जमुनाहादेखि बसपार्कसम्म विशेष निगरानी
भारतबाट फर्किने यात्रुको सुरक्षा तथा सहजीकरणका लागि जमुनाहा नाकादेखि नेपालगन्जका बसपार्कसम्म विशेष निगरानी राखिएको छ। सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधि तथा ओसारपसार नियन्त्रणका लागि समेत सुरक्षा निगरानी बढाइएको एसपी जिसीले बताउनुभयो।
उहाँले चाडपर्वका समयमा कुनै समस्या परे वा शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ।
सवारी चालकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, तीव्र गति नियन्त्रण गर्न तथा अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ। प्रहरीको सक्रिय सुरक्षा निगरानी र नागरिकको समेत सहयोगबाट चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सकिने उहाँको भनाइ छ।





