सल्यानकाे सारदाका मेयर भण्डारीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

सुर्खेत, २० असाेज ।
सल्यानकाे शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घाेषणा गरेका छन् । भण्डारीले कर्णाली प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घाेषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारीसँगै ‘समृद्ध कांग्रेस, समृद्ध कर्णाली’ भन्ने नारा अघि सारेका छन् । पार्टी रूपान्तरणसँगै कर्णालीको समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंकाे खुला मञ्चमा जारी छ ।
भण्डारी २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट शारदा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।
भण्डारीले पार्टीको संगठन सुदृढीकरण, रूपान्तरण र कर्णालीको आर्थिक तथा सामाजिक विकासका मुद्दालाई प्राथमिकतामा राख्दै केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मतदान गरी विजयी गराउन अपिलसमेत गरेका छन् ।
२०४४ वैशाख ९ गते सल्यानको साविक बरला गाविसमा जन्मिएका भण्डारीको राजनीतिक प्रवेश नेपाल विद्यार्थी संघबाट भएकाे थियाे । २०६० सालमा नेविसंघको जिल्ला सदस्य बनेसँगै सुरु भएको उनको विद्यार्थी राजनीतिक यात्रा त्यसपछि निरन्तर अघि बढ्यो । उनले सल्यानमा कांगेसको संगठन निर्माण र विस्तारमा ठुलो योगदान पुर्याएका छन् ।
२०६३ सालमा उनले सिआइटी कलेजको इकाइ सभापतिको जिम्मेवारी पाए । दुई वर्षपछि, २०६५ सालमा उनी प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय सचिव बने । विद्यार्थी संगठनमा जिम्मेवारी बढ्दै गएपछि उनको सक्रियता फेरि गृहजिल्लातर्फ फर्कियो । २०६६ सालमा नेविसंघ सल्यानको जिल्ला सदस्य बनेका भण्डारी सहसचिव र सचिव हुँदै जिल्ला उपाध्यक्षको जिम्मेवारीमा पुगे । विद्यार्थी संगठनको जिल्ला नेतृत्वमा उनको उपस्थिति बलियो हुँदै जाँदा पार्टी राजनीतिमा पनि उनको भूमिका विस्तार हुन थाल्यो । कांग्रेसको १२औँ महाधिवेशनमा २०६७ सालमा उनी क्षेत्रीय प्रतिनिधि बने । त्यसको दुई वर्षपछि २०६९ सालमा नेविसंघ सल्यानको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले । विद्यार्थी संगठनको नेतृत्वमा रहँदा बनाएको राजनीतिक आधारलाई उनले त्यसपछि कांग्रेसको मूल संगठनमा विस्तार गर्दै लगे ।
२०७२ सालको कांग्रेसको १३औँ महाधिवेशनमा उनी जिल्लाबाट उत्कृष्ट मतसहित सदस्यमा निर्वाचित भएको विवरणमा उल्लेख छ । त्यसपछि २०७५ सालमा पार्टीका अत्यधिक बहुमत जिल्ला सदस्यको प्रस्तावमा उनी सचिवमा मनोनित भए । २०७८ सालको कांग्रेसको १४औँ महाधिवेशन उनको राजनीतिक यात्राको अर्को महत्वपूर्ण चरण बन्यो । उक्त महाधिवेशनमा जिल्लाकै उत्कृष्ट मतसहित उनी दोस्रो कार्यकालका लागि सचिव निर्वाचित भएका थिए । पार्टी संगठनमा सक्रिय रहँदै आएका भण्डारीको राजनीतिक परिचय त्यसपछि स्थानीय सरकारसँग जोडियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी शारदा नगरपालिकाको नगर प्रमुख निर्वाचित भएका थिए ।






