सम्पादकीय : अब राष्ट्रिय खेलकुद नसरोस्‌

दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पाँचपटकसम्म मिति सरेपछि अन्ततः आगामी मंसिरमा हुने निश्चितप्रायः बनेको छ । कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुदको यो महाकुम्भ पटक–पटक सर्दै जानु आफैंमा राज्यको खेलकुद व्यवस्थापनप्रतिको गम्भीर प्रश्न हो । अब पनि कुनै बहानामा प्रतियोगिता सार्ने अवस्था आउनु हुँदैन । तोकिएको मितिमा प्रतियोगिता सम्पन्न गर्नु नै सरकार र आयोजकका लागि पहिलो र अन्तिम परीक्षा हो । कर्णालीले ३ कार्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो । त्यसअनुसार पहिलोपटक २ देखि ९ मंसिर २०८१ सम्म प्रतियोगिता गर्ने निर्णय भयो । तर, प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त मितिमा प्रतियोगिता हुन सकेन । त्यसपछि २३ देखि ३० चैत २०८१, ३ देखि १० जेठ २०८२ र चौथोपटक फागुनमा प्रतियोगिता गर्ने गरी मिति तोकिए पनि कार्यान्वयन हुन सकेन ।

पछिल्लो पटक राष्ट्रिय खेलकुद परिषद्को १२५ औँ बोर्ड बैठकले १६ देखि २९ मंसिर २०८३ सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेपछि तयारीले गति लिनु सकारात्मक पक्ष हो । मुख्य आयोजक संघीय सरकारले समेत यसपटक प्रतियोगिता सम्पन्न गर्ने दृढता देखाएको छ । आइतबार बसेको १० औँ राष्ट्रिय खेलकुद–२०८३ मूल आयोजक समितिको बैठकले तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्‍याउनु त्यसैको संकेत हो । निर्णयअनुसार प्रतियोगिता सुर्खेतलगायत कर्णालीका ६ जिल्लामा १६ देखि २७ मंसिरसम्म सञ्चालन गर्ने तयारी छ । सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ गरी ११ टिमले सहभागिता जनाउनेछन् । ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ । संघीय सरकारले प्रतियोगिताका लागि ७१ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि समेत आवश्यक प्रक्रिया अघि बढाइने भएको छ । तर, बजेट र निर्णय मात्र पर्याप्त छैनन् । विगतमा पनि मिति तोकिएको थियो, निर्णय भएका थिए र तयारीका प्रतिबद्धता जनाइएका थिए । समस्या कार्यान्वयनमै देखिएको हो । त्यसैले यसपटक तयारीको प्रत्येक चरणलाई समयतालिकासहित अघि बढाउन आवश्यक छ । पूर्वाधार, खेलाडीको आवास, यातायात, सुरक्षा, स्वास्थ्य, खेल सामग्री, मैदानको व्यवस्थापन र स्वयंसेवक परिचालनजस्ता विषयमा अन्तिम समयमा हतार गर्ने प्रवृत्ति दोहोरिनु हुँदैन । 

प्रतियोगिता सञ्चालनमा सार्वजनिक–निजी साझेदारीको अवधारणा अपनाउने निर्णय पनि सकारात्मक छ । निजी क्षेत्र, खेलसम्बद्ध संघसंस्था, स्थानीय तह र अन्य सरोकारवालालाई विश्वासमा लिएर अघि बढ्न सके प्रतियोगिताको व्यवस्थापन मात्र होइन, कर्णालीको खेल पर्यटन र आर्थिक गतिविधिमा समेत दीर्घकालीन प्रभाव पार्न सक्छ । कर्णालीका लागि यो प्रतियोगिता केवल खेलकुद आयोजना होइन, आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पनि हो । पटकपटक स्थगित भएको प्रतियोगितालाई अब व्यवस्थित रूपमा सम्पन्न गरेर कर्णालीले राष्ट्रिय खेलकुदको नयाँ अध्याय सुरु गर्नुपर्छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राखेप र खेलसम्बद्ध निकायबीच प्रभावकारी समन्वय अपरिहार्य छ । अब मिति तोक्ने होइन, मिति पालना गर्ने समय हो । विगतका कमजोरीबाट पाठ सिक्दै १० औँ राष्ट्रिय खेलकुदलाई निर्धारित समयमै भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्नु सरकारको दायित्व हो । यसपटक पनि प्रतियोगिता सरेमा त्यसको असर खेलाडी र खेल क्षेत्रमा मात्र होइन, राज्यको विश्वसनीयतामाथि समेत पर्नेछ ।

सम्पादकीय : अब राष्ट्रिय खेलकुद नसरोस्‌

चाडपर्व लक्षित सुरक्षा कडा, बाँकेमा एक हजारभन्दा

सम्पादकीय : अब राष्ट्रिय खेलकुद नसरोस्‌

१५ औँ महाधिवेशनमा थापाको राजनीतिक प्रतिवेदन  विगतको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!