१५ औँ महाधिवेशनमा थापाको राजनीतिक प्रतिवेदन  विगतको साख होइन, बदलिएको कार्यशैलीबाट कांग्रेस अघि बढ्ने

ओम शाही

सुर्खेत, २० असोज । 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतको साख बेचेर नभई, व्यवहार बदलेर अघि बढे मात्रै पार्टी रुपान्तरण गर्न सकिने सन्देशका साथ आफ्‌नो राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका छन् । आइबारदेखि काठमाण्डौंको खुला मञ्चमा जारी कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा थापाले छलफलका आफ्‌नो राजनीतिक प्रतिवदेन प्रस्तुत गरेका हुन् । 

४६ पृष्ठ लामो प्रतिवेदनमा उनले निर्वाचन पराजय र युवा विद्रोहलाई नागरिक असन्तोषको परिणाम मानेका छन् भने भ्रष्टाचार, भागबण्डा र सत्ताकेन्द्रित राजनीतिबाट कांग्रेस मुक्त हुनुपर्ने प्रस्ताव गरेका छन् । थापाले आफ्‌नो राजनीतिक प्रतिवेदनलाई परम्परागत राजनीतिक दस्तावेज नभई कांग्रेसको भावी दिशा, शासकीय निष्ठा र नागरिकसँग जोड्ने सामाजिक सम्बन्ध सेतुका रुपमा व्याख्या गरेका छन् । 

उनले प्रतिवेदनमा विगतका गल्ती र शासकीय असफलताको निर्मम आत्मसमीक्षा गरेका छन् । उनले इतिहासको योगदान र संवैधानिक उपलब्धि (२००७, २०४६, २०६२/६३ र २०७२ को संविधान) देखाएर वर्तमानका कमजोरी र अकर्मण्यता ढाक्न नमिल्ने स्पष्ट पारेका छन् । प्रतिवेदनमा थापाले विशेष गरी गएको २१ फागुनको निर्वाचनमा भोगेको पराजय र २३–२४ भदौको युवा विद्रोहलाई नागरिक असन्तोषका गम्भीर राजनीतिक अभिव्यक्तिका रूपमा स्वीकार गरेका छन् । 

सत्ताकेन्द्रित राजनीति, भ्रष्टाचारमा संरक्षण, भागबण्डा र जनअपेक्षा अनुसार सुशासन दिन नसकेको स्वीकार गर्दै विशेष महाधिवेशनमार्फत जनतासमक्ष सार्वजनिक क्षमायाचना गरिसकिएको सन्दर्भलाई थापा पुनः दोहोर्‍याएका छन् । यसले कांग्रेस अब विगतको साख बेचेर होइन, वर्तमानको कार्यशैली र व्यवहार बदलेर अघि बढ्न खोजेको तर्फ संकेत गर्छ । 

विपीको समाजवादलाई थप व्याख्या

सभापति थापाले संस्थापक नेता विपी कोइरालाको लोकतान्त्रिक समाजवादलाई वैचारिक आधारका रुपमा राख्दै थप समकालिन व्याख्या गरेको छ । थापाको प्रतिवेदनमा वैचारिक रूपान्तरण ‘हलो जोत्ने किसान’ देखि ‘पासपोर्ट बोकेको युवा’सम्म कांग्रेसको मूल मन्त्र ‘राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवाद’ लाई २१ औँ शताब्दीको परिवर्तित परिवेशअनुसार समकालिन नयाँ व्याख्या दिइएको छ । 

बाह्य नियन्त्रणबाट मुक्ति मात्र नभई आन्तरिक उत्पादन, आत्मनिर्भरता र जनताको सामूहिक स्वशासन अभिवृद्धि गर्ने सामर्थ्यका रूपमा अर्थ्याइएको छ । यस्तै, आवधिक निर्वाचन र औपचारिकतामा सीमित नभई नागरिकको दैनिक जीवनमा नतिजा दिने ‘कार्यशील लोकतन्त्र’  को अवधारणा थापाले आफ्‌नो राजनीतिक प्रतिवेदनमा अघि सारेका छन् । संस्थापक नेता बीपी कोइरालाको ऐतिहासिक विम्ब ‘हलो जोतिरहेको किसान’ लाई आत्मसात गर्दै आजको सामाजिक–आर्थिक यथार्थ मानिएको ‘हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवा’ लाई विकास नीतिको केन्द्रमा राखिएको छ । 

प्रतिवेदनले ‘संरचनात्मक मूल्यमा निरन्तरता र साधनमा समयानुकूलता’ लाई कांग्रेसको नयाँ आर्थिक दर्शनका रूपमा स्थापित गरेको छ । सभापति थापाको प्रतिवेदनले आर्थिक समृद्धिका लागि तीन खम्बामा आधारित आर्थिक मोडेल अघि सारेको छ । 

पहिलो, उदार अर्थतन्त्रमा निजी क्षेत्रलाई समृद्धिको प्रमुख इन्जिन मान्दै नीतिगत स्थिरता, पारदर्शी नियमन र लगानीमैत्री वातावरण सिर्जना गर्ने, दोस्रो, उत्पादनमुखी अर्थतन्त्रमा आन्तरिक उत्पादन, नवप्रवर्तन, उद्यमशीलता र युवा सहभागितामा आधारित दिगो आर्थिक वृद्धि हासिल गर्ने, तेस्रोतमा न्यायमूलक अर्थतन्त्रमा विपन्न र सीमान्तकृत वर्गलाई संरक्षण, क्षमता अभिवृद्धि र रोजगारीको ढाँचाबाट रोजगारी र सम्पत्तिको मालिक बनाउने संकल्प थापाको छ । यसका साथै, पार्टीलाई चुनावी जोडघटाउमा मात्र सीमित नराखी सामाजिक रूपान्तरण र नागरिक सरोकारको आन्दोलनसँग जोड्न ‘राट्रका लागि नेपाली कांग्रेस’ अभियान सञ्चालन गर्ने प्रतिवेदनमा घोषणा गरिएको छ ।

सिद्धान्तहीन चुनावी गठबन्धन नगर्ने घोषणा

प्रतिवेदनले शासकीय मर्यादा र सदाचारका लागि स्पष्ट ‘हामी के गर्नेछौँ, के गर्नेछैनौँ’ भन्ने कडा नीतिगत दायरा तोकेको छ । आगामी निर्वाचनहरूमा पार्टीको आफ्नै चुनाव चिह्न, विचार र उम्मेदवारसहित चुनावी मैदानमा जाने र सिद्धान्तहीन चुनावी गठबन्धन नगर्ने प्रतिबद्धता सभापति थापाले जनाएका छन् । 

संवैधानिक तथा सार्वजनिक नियुक्तिमा दलगत निकटता हटाएर योग्यताका आधारमा चयन गर्ने र अनिवार्य दुई वर्षको कुलिङ अफ अवधि लागु गर्ने प्रस्ताव सभापति थापाले अघि सारेका छन् । यस्तै, प्रधानमन्त्रीको कार्यकालको सीमा अधिकतम दुई कार्यकाल मात्र रहने गरी संवैधानिक सीमा निर्धारण गर्ने प्रस्ताव थापाको छ । भ्रष्टाचारको शून्य सहनशीलताको शिद्धान्त अनुसार भ्रष्टाचार र अनियमिततामा जोडिएका आफ्ना वा अर्का जुनसुकै नेता/कार्यकर्ता भए पनि पार्टीगत संरक्षण र बचाउ नगर्ने पनि थापाले प्रतिवेदनमा भनेका छन् । 

सङ्गठनात्मक नवीनता र पुस्तान्तरणका लागि संगठनलाई आदेशमुखी र भद्दा संरचनाबाट मुक्त गरी क्रियाशील बनाउन पाँच पुस्ताको सहयात्राको अवधारणा अघि सारिएको छ । पार्टी सभापतिसँग प्रत्यक्ष नीतिगत संवादका लागि १६ देखि २१ वर्षका युवा सम्मिलित ‘युथ काउन्सिल’ र अनुभवी नेताहरूको ‘विजडम काउन्सिल’ गठन गर्ने थापाको घोषणा छ । यस्तै, सहिद परिवार, द्वन्द्वपीडित, घाइते र पार्टी आन्दोलनमा क्षति व्यहोरेका कार्यकर्ताका परिवारको शिक्षा र स्वास्थ्य सहयोगका लागि १० करोड रुपैयाँको पारदर्शी अक्षय कोष स्थापना गर्ने प्रस्ताव थापाको राजनीतिक प्रतिवेदनमा गरिएको छ ।

१५ औँ महाधिवेशनमा थापाको राजनीतिक प्रतिवेदन   विगतको साख होइन, बदलिएको कार्यशैलीबाट कांग्रेस अघि बढ्ने

सम्पादकीय : अब राष्ट्रिय खेलकुद नसरोस्‌

१५ औँ महाधिवेशनमा थापाको राजनीतिक प्रतिवेदन   विगतको साख होइन, बदलिएको कार्यशैलीबाट कांग्रेस अघि बढ्ने

चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल 

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!