सुर्खेतमा विश्व लगानीकर्ता सप्ताह, सचेत लगानीमा जोड

सुर्खेत ,१९ असोज ।

पूँजी बजारमा लगानीकर्ताको सहभागिता बढेसँगै लगानीसम्बन्धी ज्ञान, जोखिमको पहिचान र सही सूचनाको पहुँचलाई पनि सँगसँगै विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत सुर्खेतमा आयोजित प्रभातफेरी तथा लगानीकर्ता सचेतना कार्यक्रममा सहभागी वक्ताहरूले सूचनामा आधारित, विवेकपूर्ण र जिम्मेवार लगानी व्यवहार विकास गर्न आवश्यक रहेको बताएका हुन्।


स्टक ब्रोकर एसोसिएसन तथा इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजनामा भएको कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, निर्देशक अम्बिका प्रसाद गिरी, अधिकृत राजुबहादुर जी.सी., सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्कासहित बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लगानीकर्ता, विद्यार्थी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताले नेपालमा पछिल्लो समय पूँजी बजारप्रति नयाँ तथा युवा लगानीकर्ताको आकर्षण र सहभागिता निरन्तर बढिरहेको उल्लेख गर्दै यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। तर लगानीको आकर्षणसँगै जोखिमको ज्ञान, सही सूचना र जिम्मेवार लगानी व्यवहारको विकास पनि उत्तिकै आवश्यक रहेको उहाँको भनाइ थियो।


लगानीकर्तालाई सही सूचना उपलब्ध गराउने, पूँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने र जोखिम बुझेर लगानी गर्ने वातावरण निर्माण गर्नु सबै सरोकारवालाको साझा दायित्व रहेको कार्यक्रममा बताइएको थियो।
स्टक ब्रोकरहरू लगानीकर्ता र पूँजी बजारबीचको महत्वपूर्ण सम्पर्क बिन्दु भएकाले लगानीकर्ता संरक्षण, पारदर्शिता, सेवाको गुणस्तर तथा लगानीकर्ताको विश्वास कायम राख्ने विषयमा ब्रोकर कम्पनीहरूको विशेष जिम्मेवारी रहनेमा पनि जोड दिइएको थियो।
कार्यक्रममा इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडले कर्णाली प्रदेशलाई प्राथमिकतामा राख्दै वि.सं. २०७६ सालदेखि शेयर कारोबार तथा डिम्याट सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइयो। कम्पनीले विभिन्न समयमा पूँजी बजारसम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै स्थानीय लगानीकर्तालाई पूँजी बजारबारे जानकारी र ज्ञान प्रदान गर्दै आएको जनाएको छ।
कम्पनीका प्रतिनिधिले आफ्नो उद्देश्य शेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्नुमा मात्र सीमित नभई जानकार, सचेत र जिम्मेवार लगानीकर्ता निर्माण गर्नु पनि रहेको बताउनुभयो। आगामी दिनमा नेपाल धितोपत्र बोर्ड तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा पारदर्शी, व्यवस्थित, विश्वसनीय, समावेशी तथा लगानीमैत्री पूँजी बजार निर्माणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।


अन्तर्राष्ट्रिय धितोपत्र नियामक संगठन (आईओएससीओ) को पहलमा सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउन थालिएको हो। लगानीकर्ता शिक्षा, संरक्षण तथा वित्तीय साक्षरता अभिवृद्धि गर्दै लगानीकर्तालाई जोखिमबारे सचेत गराउने र सूचित, विवेकपूर्ण तथा जिम्मेवार लगानी निर्णयका लागि प्रोत्साहित गर्ने उद्देश्यले सप्ताह आयोजना हुँदै आएको छ।
नेपालमा पनि नेपाल धितोपत्र बोर्डको नेतृत्व तथा पहलमा हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी विश्व लगानीकर्ता सप्ताह मनाइँदै आएको छ। यस वर्ष स्टक ब्रोकर एसोसिएसनको पहलमा काठमाडौं उपत्यकाबाहिर विराटनगर, पोखरा र सुर्खेतमा एकै समयमा प्रभातफेरी आयोजना गरिएको हो।


सुर्खेतमा आयोजित प्रभातफेरीमा सहभागीहरूले पूँजी बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने सन्देशसहित बजार क्षेत्रको परिक्रमा गरेका थिए। कार्यक्रमले विशेषगरी युवा तथा नयाँ लगानीकर्तालाई लगानी गर्दा पर्याप्त अध्ययन, सही सूचना र जोखिम मूल्याङ्कन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन नियामक निकाय, ब्रोकर कम्पनी, वित्तीय संस्था, लगानीकर्ता, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको बताएका थिए।

सुर्खेतमा विश्व लगानीकर्ता सप्ताह, सचेत लगानीमा जोड

सुर्खेतमा विश्व लगानीकर्ता सप्ताह, सचेत लगानीमा जोड

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!