विश्व लगानीकर्ता सप्ताहअन्तर्गत सुर्खेतमा प्रभातफेरी र लगानीकर्ता सचेतना कार्यक्रम हुने

सुर्खेत ,१९ असोज ।
विश्व लगानीकर्ता सप्ताह–२०२६ अन्तर्गत सुर्खेतमा लगानीसम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रभातफेरी तथा लगानीकर्ता शिक्षा एवं शेयर सचेतना कार्यक्रम आयोजना गरिने भएको छ।
अन्तर्राष्ट्रिय धितोपत्र आयोग संगठन (आईओएससीओ) को प्रवर्द्धनमा अक्टोबर ५ देखि ११ तारिखसम्म मनाइने विश्व लगानीकर्ता सप्ताहअन्तर्गत नेपाल धितोपत्र बोर्डको संयोजन तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनामा सुर्खेतमा कार्यक्रम गर्न लागिएको हो।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव भक्तिराम घिमिरेद्वारा नेपाल पत्रकार महासंघ सुर्खेतलाई पठाइएको पत्रअनुसार असोज १९ गते सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म प्रभातफेरी आयोजना हुनेछ। प्रभातफेरी जुम्लारोडस्थित गण्डकी लाइन इम्पेरियल सेक्युरिटिज कम्पनीको कार्यालयअगाडिबाट सुरु भई मंगलगढीचोक हुँदै बजार क्षेत्र, वीरेन्द्रचोक, एरीचोकलगायत स्थान परिक्रमा गरी गण्डकी लाइन इम्पेरियल सेक्युरिटिजको कार्यालयअगाडि पुगेर समापन गरिने जनाइएको छ।
प्रभातफेरीमा लगानीसम्बन्धी ज्ञान, आधारभूत तथा प्राविधिक विश्लेषण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले लगानीकर्ता, व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ।
त्यस्तै, सोही दिन साँझ ५ बजे सुर्खेतको सिद्धार्थ होटलमा लगानीकर्ता शिक्षा तथा शेयर सचेतना कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम इम्पेरियल सेक्युरिटिज कम्पनीको आयोजनामा हुने जनाइएको छ।
विश्व लगानीकर्ता सप्ताहले लगानीकर्तालाई धितोपत्र बजार, लगानीका अवसर, जोखिम व्यवस्थापन तथा सुरक्षित र सचेत लगानीका विषयमा जानकारी गराउने उद्देश्य राखेको छ। नेपालमा पनि पछिल्लो समय शेयर बजारमा सर्वसाधारणको सहभागिता बढ्दै गएकाले लगानीसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धिलाई महत्वपूर्ण मानिएको छ।
आयोजकले प्रभातफेरी तथा सचेतना कार्यक्रममा पत्रकार, लगानीकर्ता, व्यवसायी, विद्यार्थी तथा सरोकारवाला सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।






