तालीममा सीमित महिला जनप्रतिनिधि

हुम्ला,२८ पाैष ।

हुम्लाका महिला जनप्रतिनिधिले गाउँसभामा प्रस्तुत हुने प्रस्तावमा आफूहरुले केही नबुझे पनि ताली बजाएर पारित गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। सामान्य लेखपढ गर्नसमेत नजान्ने हुँदा गाउँसभामा पेश हुने ऐन, नियम तथा कार्यविधिहरुलाई ताली बजाएर पास गर्नुको आफूहरुसँग विकल्प नरहेको उनीहरुको भनाइ छ।

सिमकोट गाउँपालिका–२ की दलित महिला सदस्य कौरा सुनारले हिउँदे गाउँसभामा विधान समितिका संयोजक काङ्सो लामाले प्रस्ताव गरेर पारित भएको ऐन, नियम, कार्यविधिका बारेमा आफूले केही नबुझेको गुनासो गरिन्। पारित भएको कार्यविधिमा के व्यवस्था छ भन्नेसम्म जानकारी नपाएरै पारित गर्नुपर्दा आफूलाई दुःखित तुल्याएको सुनारको भनाइ छ।

गाउँसभाकी अर्की सदस्य काली सुनारले बेलामा पढ्न नपाएका कारण अहिले आएर समस्या भएको बताउँदै सभामा प्रस्तुत हुने प्रस्तावबारे जानकारी गराउनुपर्ने माग गरिन्। पारित भएका ऐन, कानूनले गरेको व्यवस्थाका बारेमा जानकारी नभएरै ‘हुन्छ’ भन्नुपर्ने बाध्यताबारे माथिल्ला निकायले बुझिदिनुपर्ने उनले बताइन्। सभामा आफ्नो उपस्थिति केवल उपस्थितिका लागि भएको भन्दै अर्थपूर्ण सहभागिता हुन नसकेको उनले बताइन्।

खार्पुनाथ गाउँपालिका–४ की वडा सदस्य जसमती शाहीले गाउँसभा र कार्यपालिकाको बैठकमा उपस्थित हुने काम मात्र भएको बताइन्। नपढेको मानिसको गाउँसभामा कामै नभएको बताउदै उनले सहभागी हुने, बैठक भत्ता र खाजा खाने कामबाहेक अन्य केही हुन नसक्ने बताइन्।

उनीहरु त केवल प्रतिनिधि पात्र मात्र हुन्। जिल्लाका सात वटा गाउँपालिकाका ४४ वडामा ७८ जना महिला सदस्यको अवस्था उस्तै रहेको छ। यसका लागि महिला सदस्यहरुले आफूलाई ऐन कानूनबारे अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताएका छन्। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायाले महिला जनप्रतिनिधिको यस्तो बाध्यता रहेको स्वीकार गरिन्। समावेशीताको सिद्धान्त राम्रो भए पनि कानुन बनाउनुपर्ने जस्तो कामका लागि पढेलेखका जनप्रतिनिधि आवश्यक रहेको उनले बताइन्।

दीर्घ विरामीलाई पाँच हजार

तालीममा सीमित महिला जनप्रतिनिधि

YUGAAWHAN NATIONAL DAILY (2079-09-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!