प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु

सुर्खेत,१४  साउन ।

कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु गरिएको छ। नागरिक समाज, स्थानीय प्रहरीको सहभागितामा अभियानकै रूपमा गाँजा फँडानी थालिएको हो। हुम्ला  जिल्ला प्रहरी कार्यालयले सदरमुकाम सिमकोट क्षेत्रको गाँजाका बोटहरू नष्ट गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले गाँजाका बोटहरू फँडानी गरेको हो।

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हुम्लामा गाँजा प्रशस्त उत्पादन हुने र त्यसलाई प्रहरीले अभियानकै रूपमा नष्ट गर्न लागेको जानकारी दिए । उनले प्रहरीले दुई दिनमै १९ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको जानकारी दिए । सदरमुकाममा सिमकोट विमानस्थल, कालासिल्सा, मानसरोवर माध्यमिक विद्यालय, शिव मन्दिरलगायतका क्षेत्रमा नियमित रूपमा प्रहरीले गाँजा नष्ट गरिरहेको बताइएको छ। यस कार्यका लागि ३० जना प्रहरी खटिएको जनाइएको छ।

सिमकोटका साथै जिल्लाभरि प्रहरी चौकी र अस्थायी प्रहरी चौकी भएका स्थानमा पनि यो अभियान सुरु गरिएको छ। प्रहरीले आफँै उम्रेका गाँजाका बोट नष्ट गर्न कति समय लाग्छ भन्ने यकिन नगरेको भए पनि त्यसलाई पूर्ण रूपमा नष्ट गरिने जनाएको छ।

समाजलाई विकृतिबाट रोक्न पनि गाँजा नष्ट गर्ने कार्यमा समुदायलाई सहभागी गराउन आवश्यक रहेको जनाइएको छ। यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा रहेको प्रहरी नायब उपरीक्षक ओझाले बताए ।

 जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ। यस अभियानअन्तर्गत बिहीबार नारायण नगरपालिका–५, डाँडेबारीमा तीन सय गाँजाका बोट स्थानीय जनप्रतिनिधि र नागरिकको रोहवरमा नष्ट गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले बुधबारबाट जिल्लाका ११ स्थानीय तहमा रहेका इलाका प्रहरी चौकी र प्रहरी चौकीका प्रहरी टोली परिचालन गरी प्राकृतिक रूपमा उम्रिएका गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको बताए । उनले अभियान सञ्चालन गरेकै दिन डुङ्गेश्वर गाउँपालिका–१ को प्रहरी चौकी चुप्रा र ६ को माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले सुर्खेत–दैलेख सडकखण्डमा उम्रेका अवैध गाँजा नष्ट गरेको जानकारी दिए ।

उनले भने , “प्राकृतिक रूपमा रहेका गाँजा प्रयोग नहोस् भनेर बुधबारदेखि अभियान सञ्चालन गरी जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गर्ने कार्य सुरु गरेका छौँ। ” नौमूले, गुराँस, डुङ्गेश्वर गाउँपालिकालगायतका क्षेत्रमा प्रशस्त गाँजाका बोट छन्। यद्यपि यी गाँजा कसैले लगाएको नभई आफैँ उम्रिएका हुन्।

स्राेत ः गाेरखापत्र

प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु

स्व.रविन्द्र शम्शेर शाहलाई सरकारले शहिद घोषणा

प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु

तालिम भत्ताकै लोभमा पालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!