चितुवाको आक्रमण र हराउने क्रमले खैरापुरका कृष्णसार संकटमा

बर्दिया,२१ असोज  ।

मुलुकमा दुर्लभ वन्यजन्तुका रूपमा सूचीकृत कृष्णसारको प्रमुख बासस्थान बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा यसको संख्या घट्दै गएको छ। संरक्षण क्षेत्रभित्रै कृष्णसारको मृत्यु हुने र हराउने क्रम बढेपछि यसको संरक्षणमा चुनौती थपिएको छ ।

पछिल्लो १५ महिनामा मात्रै ३४ वटा कृष्णसार मरेका छन् भने २० वटा कृष्णसारको अत्तोपत्तो लागेको छैन । संरक्षण क्षेत्रमा सबैभन्दा बढी कृष्णसार चितुवाको आक्रमणबाट मारिएका छन् । त्यसबाहेक कुकुरको आक्रमण र प्राकृतिक कारणले समेत कृष्णसारको मृत्यु हुने गरेको संरक्षण क्षेत्रको तथ्यांकले देखाएको छ ।

कृष्णसार संरक्षण क्षेत्र खैरापुरका प्रमुख भोजराज पन्थका अनुसार हराएका २० वटा कृष्णसार चितुवाले आक्रमण गरी मारेपछि बाहिर लगेर खाएको हुन सक्ने आशंका गरिएको छ । तर हराएका कृष्णसारको कुनै अंगसमेत फेला नपरेकाले यकिन अवस्था भने खुल्न नसकेको उनले बताए ।

पछिल्लो गणनाअनुसार संरक्षण क्षेत्रमा कृष्णसारको संख्या घटेर २ सय १० मा पुगेको छ । गत आर्थिक वर्षमा भाले ७५, पोथी १ सय ४९ र बच्चा १८ गरी कुल २ सय ४२ वटा कृष्णसार थिए । चालु आर्थिक वर्षको साउनदेखि संख्या घटेर अहिले भाले ५८, पोथी १ सय ४० र बच्चा १२ वटा मात्रै रहेका छन् ।

गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट १२ वटा, हुँडारको आक्रमणबाट एउटा, कुकुरको आक्रमणबाट सात वटा र प्राकृतिक कारणले २२ वटा कृष्णसार मृत अवस्थामा फेला परेका थिए । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट आठ वटा, कुकुरबाट तीन वटा र प्राकृतिक कारणले एउटा गरी थप १२ वटा कृष्णसार मरेका छन् ।

संरक्षण क्षेत्रमा चितुवाको बढ्दो उपस्थितिले कृष्णसार संरक्षणमा थप चुनौती सिर्जना गरेको छ । कृष्णसारका लागि सुरक्षित मानिएको क्षेत्र आसपासका सामुदायिक वनमा समेत चितुवाको आवतजावत बढेको संरक्षणकर्मीहरूको भनाइ छ । संरक्षण क्षेत्रनजिकैका सामुदायिक वनमा अहिले चारदेखि पाँच वटासम्म चितुवा रहेको अनुमान गरिएको छ ।

त्यसैबीच, सोमबार एउटा भाले चितुवा कृष्णसार संरक्षण क्षेत्रमा राखिएको खोरमा परेपछि नियन्त्रणमा लिइएको छ । गत जेठ २९ गतेयता मात्रै यस क्षेत्रबाट चार वटा चितुवा नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको संरक्षण क्षेत्रले जनाएको छ ।

यसअघि पनि प्राकृतिक विपद्का कारण कृष्णसारले ठूलो क्षति व्यहोर्नुपरेको थियो । २०७१ साल साउन २८ गते बबई नदीमा आएको बाढीले ४० वटा कृष्णसार बगाएको थियो । बाढी, वन्यजन्तुको आक्रमण, कुकुरको जोखिम तथा अन्य कारणले कृष्णसारको संख्या प्रभावित हुँदै आएको छ ।

कृष्णसार संरक्षणका लागि यसको बासस्थान सुरक्षित बनाउने, शिकारी वन्यजन्तुको व्यवस्थापन गर्ने तथा संरक्षण क्षेत्र आसपासका समुदायसँग समन्वय बढाउने आवश्यकता देखिएको छ । दुर्लभ वन्यजन्तुका रूपमा रहेको कृष्णसारको संख्या निरन्तर घट्दै गए संरक्षण क्षेत्रमा यसको दीर्घकालीन अस्तित्वमै असर पर्न सक्ने भएकाले संरक्षण निकायले जोखिम न्यूनीकरणमा थप ध्यान दिनुपर्ने देखिएको छ ।

चितुवाको आक्रमण र हराउने क्रमले खैरापुरका कृष्णसार संकटमा

हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे एक हजार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!