सम्पादकीय : साखले होइन, कामले जोगिन्छ कांग्रेस

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण सन्देश छ, कांग्रेस अब आफ्नो विगतको साख बेचेर चल्न सक्दैन । इतिहास गौरवपूर्ण होला, योगदान ठूलो होला, तर, इतिहासको ब्याज खाएर वर्तमानको असफलता ढाक्न सकिँदैन । यही कठोर सत्यलाई स्वीकार गरेर थापाले पार्टी रूपान्तरणको बहस अघि सारेका छन् । अब प्रश्न प्रतिवेदन कति आकर्षक छ भन्ने होइन, त्यसमा लेखिएको कुरा कांग्रेसले कति इमानदारीपूर्वक व्यवहारमा उतार्छ भन्ने हो । कांग्रेसको पछिल्लो राजनीतिक संकट आकस्मिक होइन । सत्ताकेन्द्रित राजनीति, भागबण्डा, भ्रष्टाचारमा संरक्षण, गुटगत स्वार्थ र जनअपेक्षाअनुसार सुशासन दिन नसक्नुले पार्टी र नागरिकबीच दूरी बढाएको हो । निर्वाचनमा पराजय र युवाको विद्रोह त्यसैको परिणामका रूपमा थापाले स्वीकार गरेका छन् । यो स्वीकारोक्ति महत्वपूर्ण छ, तर पर्याप्त छैन । गल्ती स्वीकार्नु राजनीतिक साहस हो भने त्यही गल्ती दोहोरिन नदिनु राजनीतिक चरित्र हो ।
कांग्रेसले पटकपटक आत्मसमीक्षा गरेको छ । सुधारका दस्तावेज पनि बनेका छन् । तर, व्यवहार पुरानै रहँदा दस्तावेजहरू कागजमै थन्किएका छन् । त्यसैले यसपटकको खतरा पनि प्रतिवेदन परिवर्तनको घोषणापत्र बन्ने कि पुरानै राजनीतिक संस्कारलाई नयाँ शब्दमा प्रस्तुत गर्ने ? भन्ने हो । कांग्रेसले यसको उत्तर भाषणले होइन, निर्णय र आचरणले दिनुपर्नेछ । थापाले बीपी कोइरालाको लोकतान्त्रिक समाजवादलाई आजको पुस्तासँग जोड्ने प्रयास गरेका छन् । ‘हलो जोतिरहेको किसान’बाट ‘हातमा पासपोर्ट बोकेको युवा’सम्म समाज आइपुगेको छ । युवाको आकांक्षा, रोजगारी, उद्यम, उत्पादन र देशभित्र अवसरको प्रश्नलाई कांग्रेसले अब नारामा होइन, नीतिको केन्द्रमा राख्नैपर्छ । राष्ट्रियता भनेको केवल बाह्य हस्तक्षेपबाट मुक्ति होइन, आफ्नै नागरिकलाई अवसर दिन सक्ने आर्थिक सामर्थ्य पनि हो । लोकतन्त्र भनेको चुनाव जितेर सरकार बनाउनु मात्र होइन, नागरिकको दैनिक जीवनमा राज्यको उपस्थिति र परिणाम अनुभूति गराउनु हो ।
निजी क्षेत्र, उत्पादन र न्यायमा आधारित तीनखम्बे आर्थिक मोडल, सार्वजनिक नियुक्तिमा योग्यता, दुई वर्षको ‘कुलिङ अफ’ अवधि, प्रधानमन्त्रीको कार्यकालमा सीमा र भ्रष्टाचारमा संलग्नलाई पार्टीगत संरक्षण नदिने प्रतिबद्धता सुन्दा आकर्षक छन् । तर, कांग्रेसको विश्वसनीयता यस्ता प्रस्ताव घोषणा गरेकोमा होइन, आफ्नै नेता–कार्यकर्ताको हकमा पनि उही मापदण्ड लागू गर्न सक्ने क्षमतामा निर्भर हुनेछ । भ्रष्टाचारमा ‘आफ्नो’ र ‘पराइ’ छुट्याइयो भने शून्य सहनशीलताको नारा आफैंमा उपहास बन्नेछ । युवालाई संगठनमा जोड्ने ‘युथ काउन्सिल’, अनुभवी पुस्ताको ज्ञान उपयोग गर्ने ‘विजडम काउन्सिल’ र आन्दोलनमा योगदान दिएका परिवारका लागि अक्षय कोषजस्ता प्रस्ताव सकारात्मक छन् । तर, पुस्तान्तरण भनेको नयाँ अनुहारलाई पदमा ल्याउनु मात्र होइन; निर्णय प्रक्रियाबाट पुरानो गुटगत संस्कृति हटाउनु पनि हो । थापाको प्रतिवेदनले कांग्रेसलाई आफ्नो विगतको गौरव सम्झेर बस्ने कि त्यस गौरवलाई वर्तमानको जिम्मेवारीमा बदल्ने भन्ने अवसर दिएको छ । कांग्रेसको साख इतिहासले बनाएको हो, तर भविष्यको साख वर्तमानको कामले मात्र जोगाउनेछ ।





