दशैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके, २१ असोज ।
भारतबाट दशैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरूको भीड लागेको छ । दशैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिए । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दशैँ मनाउन जमुनाहा नाका हुँदै घर फर्किएको उनले बताए ।
“अहिले बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीहरूको लर्को लागिरहेको छ, प्रत्येक दिन दश हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गर्नुभएको छ”, उनले भने, “सीमावर्ती क्षेत्रमा उहाँहरूमाथि हुनसक्ने लुटपाटलगायतका आपराधिक घटना हुन नदिन नेपाल प्रहरीले आवश्यक समन्वय गर्दै आएको छ ।”
भारतको नयाँ दिल्ली, मुम्बइ र हिमाञ्चल प्रदेशका विभिन्न सहरमा काम गरेर नेपालीहरू दसैँ पर्व मनाउन यतिबेला घर फर्किरहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिक सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्नेजस्ता घटना हुन नदिई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।
“नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भने, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर जमुनाहा नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।”
भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो सङ्ख्यामा स्वदेश फर्किने यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उनले जानकारी दिए ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताउँदै भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरे । भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा पनि मङ्गलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।
जमुनाहा नाकामा यात्रु सहायता कक्ष
भारतबाट दशैँ मनाउन स्वदेश फर्किने नेपालीको सहज र सुरक्षित यात्राका लागि नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा लुटपाट, ठगीलगायतका घटना हुन नदिन तथा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सहायता कक्ष सञ्चालन गरिएको बताए ।
“नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भने, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।” सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइनेछ ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।
प्रहरी उपरीक्षक जिसीका अनुसार भारतबाट फर्किने नेपालीलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा आजदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । उक्त कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको छ ।






