हिउँमा पुरिएका युवकको शव ल्याउन सुरक्षाकर्मी परिचालन

सुर्खेत, २१ असोज ।
हुम्ला र मुगु जिल्लाको सिमावर्ती क्षेत्र मिमि पाटनस्थित हिँउ पहिरोमा परी मृत्यु र वेपत्ता भएकाहरुको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन् । गएको २८ भदौमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ का अङ्गबहादुर रोकाया र ललितजंग बडुवालसहित १३ जना हुम्लाको चंखेली गाउँपालिका–२ र मुगुम कार्मारोङ गाउँपालिका–७ को सिमावर्ती क्षेत्र मिमि वनमा जडिबुटी संकलन गर्न पुगेका थिए ।
वनमा जडिबुटी संकलन गर्नेक्रममा चंखेलीका–२ का स्थानीयसँग झडप भएपछि भाग्नेक्रममा लेक लागेर एक जनाको मृत्यु भएको थियो भने दुई जना वेपत्ता भएका थिए । खोजिको क्रममा वेपत्ता मध्ये रोकायाको शव भेटिएको हो । घटनास्थलमा पाँच फिटसम्म हिउँ जमेर रोकायाको शव ल्याउन कठिनाई भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेकाले रोकायाको शव ल्याउन र वेपत्ता बडुवालको खोजी कार्यमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए । उनका अनुसार रोकायाको शव हुम्लाको चंखेली गाउँपालिका–२ र मुगुको सीमास्थित मिमि पाटन क्षेत्रमा हिउँले पुरिएको अवस्थामा शनिबार (१७ असोज) दिउँसो १२ः२० बजे फेला परेको थियो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार (१९ असो) नेपाली सेनाका सात, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका ६ गरी २० जनाको संयुक्त उद्धार टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ । घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र त्यस क्षेत्रमा पछिल्लो समय परेको बाक्लो हिउँका कारण टोलीलाई घटनास्थलसम्म पुग्न कठिन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोकायाको शवलाई स्थानीयले कम्मलले छोपेर वरिपरि ढुंगा राखी सुरक्षित गरेका छन ।






