कर्णालीको हवाई उडानमा ईन्धन सहुलियत कार्यान्वयनमा ढिलाई , पर्याप्त उडान नहुँदा यात्रीलाई सधैं सास्ती

पुनम वि.सी.
सुर्खेत, १३ असोज ।
कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले भनेका थिए, ‘कर्णाली प्रदेशमा हवाई सेवालाई भरपर्दो, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थलबाट प्रदेशभित्रका विमानस्थनमा हुने यात्रु हवाई उडान संख्याका आधारमा हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गर्न रकम विनियोजन गरेको छु ।’

सुर्खेत केन्द्र बनाई कर्णालीका अन्य जिल्लामा उडान भर्ने एयरलाइन्सहरुलाई ईन्धनमा सहुलियत दिने उद्देश्यले कर्णाली प्रदेश सरकारले चालू आ.व.मा एक करोड २० लाख रुपैयाँ समेत विनियोजन गरेको छ ।

तर हवाई इन्धनमा सहुलियत दिने घोषणा भएर बजेट विनियोजनसमेत भईसकेको अवस्थामा भएपनि घोषणा कार्यान्वयनका लागि आवश्यक कार्यविधि पनि बनिसकेको छैन भने सरकारी स्किममा एयरलाइन्सहरुले पनि उतिसार्हो चासो देखाएका छैनन् ।

सडक यातायात कठिन रहेका कर्णालीका पहाडी र दुर्गम जिल्लाका नागरिकहरुलाई नियमित रुपमा सहज, शुलभ हवाई सेवा निरन्तर रुपमा गराउने उद्देश्यले प्रदेश सरकारले यस्तो कार्यक्रम ल्याएको हो । एयरलायन्सहरुलाई इन्धनमा सुविधा दिने घोषणा गर्नुअघि प्रदेश सरकारले कर्णालीका ज्येष्ठ नागरिकहरुका लागि विमान टिकटमा एक हजार रुपैयाँ सहुलियत दिदै आएको थियो ।

प्रदेश सरकारले सुर्खेत केन्द्र हुँदै हवाईजहाजबाट कर्णालीका अन्य जिल्ला जाने र आउने ज्येष्ठ नागरिकका लागि प्रत्येक टिकटमा एक हजार रुपैयाँ सहुलियत दिने गरेको थियो । कर्णालीका दुर्गम भेगका नागरिकको विमान टिकटमा सहुलियत कार्यक्रममा पहुँच नै कम हुन थालेपछि कर्णाली प्रदेश सरकारले सुर्खेत केन्द्र बनाई विमान उडान भर्ने एयरलाईन्सलाई नै इन्धनमा सहुलियत दिने कार्यक्रम ल्याएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले इन्धन सहुलियतका लागि कार्यविधि निर्माण प्रक्रिया अघि बढेको बताउँदै हुम्ला, डोल्पा र मुगुमा उडान भर्ने जहाजहरुका लागि इन्धन सहुलियत दिने योजना रहेको जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले कर्णालीमा हवाई उडानलाई निरन्तरता दिनका लागि एयरलाइन्सहरुलाई आकर्षित गर्ने घोषणा गरेपनि पहाडी जिल्लामा नियमित हवाई उडान नहुँदा यात्रीहरुको समस्या ज्यूँका त्यूँ नै रहेको छ ।

सडक सञ्जालले नछोएका कर्णालीका उच्च पहाडी र हिमाली जिल्लाहरुमा यातायातको एक मात्र साधन भनेकै हवाई मात्र हो । तरपनि महंगोमा टिकट किन्नुपर्ने, किन्न खोजेपनि समयमा टिकट नपाइने र पाएपनि जहाज निर्धारित दिन र समयमा नउड्ने, कर्णालीवासीले वर्षौदेखि यिनै समस्या झेल्दै र खेप्दै आउनुपरिरहेको छ ।

अहिले दशैंको समयमा पनि कर्णालीमा अन्तर प्रदेशीय उडानहरु भएका छैनन् । यो समस्याले खासगरी हुम्ला, डोल्पा र मुगु जिल्लाका नागरिकलाई दशैंको समयमा घर फर्कन सास्ती खेप्नपर्ने वाध्यता छ ।

हुम्ला सिमकोट गाउँपालिका–२ का मनोज बोहोरा पनि अहिले विमानहरुको उडान समस्याका कारण सुर्खेतमै अल्झिएका छन् । मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत उनको दशैं विदाका कारण कक्षा बन्द भईसक्यो । अब एकैपल्ट तिहारपछि मात्र कक्षा हुन्छ । तर बोहोरा भने यसपालि दशैंमा घर फर्कने योजनामा छैनन् ।

‘जेठ महिनामा सुर्खेत झर्दापनि मुश्किलले जहाज पाइएको थियो । चार–पाँच दिन एयरपोर्ट धाएपछि बल्ल नेपालगञ्जका लागि उड्न पाए । उनले भने, ‘अहिलेपनि त्यस्तै अवस्था हो, जहाज चढ्न नेपालगञ्जबाट जानुपर्छ । यहाँ जहाज पाइदैन । गइयो भने पनि फर्कने बेला फेरि समस्या उस्तै ।’

कर्णालीमा सुर्खेतसहित कुल ९ वटा विमानस्थल छन् । तीमध्ये सात विमानस्थल सञ्चालनमा छन् । तर पनि ती विमानस्थलहरुमा हाल न्यून उडानहरु हुन्छन् । सुर्खेतबाट हुने उडानको संख्यापनि कमै छ । सुर्खेत विमानस्थलका प्रमुख देवेन्द्र पाण्डेले भने, ‘मंगलबार (हिजो)त, काठमाडौंको बाहेक एउटा पनि उडान भएन । यहाको अवस्था यस्तै नै छ । जहाजहरु कर्णाली आउन मान्दैनन् ।’

कर्णालीमा खासगरी हुम्लाको सिमकोट विमानस्थल बढी उडान हुने विमानस्थलमध्ये एक हो । यो क्षेत्र सडक सञ्जालसँग जोडिएको छैन । त्यसैलेपनि हुम्लाका नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका नाागरिकहरुलाई हवाई सेवा बाध्यात्मक परिस्थिति बनेको छ ।

यसैगरी जिल्लाको सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाका नागरिक भने सडक सञ्जालको समेत प्रयोग गर्ने गरेपनि उनीहरुको लागि सुरक्षित यात्रा भने हवाई उडान नै हो । ‘निजी एयरलान्सहरु सबै व्यापारी नै हुन् । यसअघि जोमसोम क्षेत्रमा व्यापार बढेपछि उनिहरु उतै गए । कर्णालीमा पनि माग भएपछि उनीहरुले चार्टर उडान भर्छन् । पाण्डे भन्छन्, यसरी चार्टर उडान भर्ने गर्दा नागरिकले भने विमान टिकट पाउन मुस्किल पर्छ ।’

कर्णालीमा हाल काठमाण्डौँबाट दैनिक एक मात्र उडान नियमित भएको छ । सुर्खेत केन्द्र बनाएर कर्णालीको हिमाली जिल्लामा नियमित उडान भर्ने विमानको संख्या कम छ । डोल्पा र जुम्लाका लागि मासिक रुपमा एक–दुई उडान मात्र भईरहेको पाण्डेले जानकारी दिए ।

कर्णालीको हवाई उडानमा ईन्धन सहुलियत कार्यान्वयनमा ढिलाई , पर्याप्त उडान नहुँदा यात्रीलाई सधैं सास्ती

हृदयघात भई मृत्यु भएका कृष्ण बहादुर सुनारको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!