एम्बुलेन्स आएन, बाटोमै सुत्केरी

रुकुम पश्चिम,१२ पाैष ।

 आठबिसकोट नगरपालिका–११ की २९ वर्षीया रेश्मा बबालले गत शुक्रबार आफ्नो तेस्रो सन्तानलाई बाटोमै जन्म दिइन् । रेश्मालाई बिहानैदेखि सुत्केरी व्यथाले च्याप्न थालेको थियो । उनका श्रीमान् गणेशले नगर अस्पतालको एम्बुलेन्सलाई खबर गरे ।

एम्बुलेन्स आउन समय लाग्ने भनियो । र, छिमेकीको सहयोगमा दुई घण्टाको पैदल बाटोमा हुँदै बाकेरै सडकसम्म पु¥याए । गणेशले सडकमा पुर्याएपछि थप दुई घण्टा पर्खंदा पनि एम्बुलेन्स आएन । सुत्केरी व्यथाले च्याप्न थालेपछि स्टेचर खोजेर बोकेरै अस्पतालतर्फ दौडाइयो । त्यसको १५ मिनेटपछि बाटोमै रेश्माको बच्चा जन्मियो । ११ नं वडाकै गत्तासैनास्थित सडकमै रेश्माले छोरालाई जन्म दिइन् । केही बेरपछि मात्रै एम्बुलेन्स पुग्यो । आमा र बच्चालाई नजिकै रहेको नगर अस्पतालमा पुर्याइयो ।

अहिले आमा र बच्चाको अवस्था सामान्य छ । त्यो दिन नगर अस्पतालको एम्बुलेन्स बिरामी लिएर जिल्ला बाहिर गएको थियो । अरू गाडी पनि तत्काल उपलब्ध नभएका कारण रेश्माले बाटोमै प्रसूति हुनुपरेको नगर अस्पताल प्रमुख धनञ्जय रिजालले बताए । यस बारेमा आफूलाई कुनै जानकारी नभएको र भएको भए कुनै न कुनै व्यवस्था भने गर्ने नगरप्रमुख रवि केसीले प्रतिक्रिया दिए ।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यसअघि पनि साउन १७ गते आठबिसकोट नगरपालिकाकै २२ वर्षीया पार्वती विकले एम्बुलेन्स नपाएपछि बोकेरै चौरजहारी अस्पताल लैजाँदै गर्दा बाटोमै प्रसूति भएकी थिइन् । त्यसको पाँच दिन नबित्दै साउन १७ गते त्रिवेणी गाउँपालिका–२ की करिश्मा पुनले पनि अस्पतालसम्म पुग्ने सडक नहुदाँ एम्बुलेन्स र गाडी आउन सकेन । उनलाई पनि बाटोमै सुत्केरी हुनुपर्यो ।

रेश्मा, पार्वती र करिश्मा प्रतिनिधि पात्र हुन्, जसको यो दुःखद घटना बाहिर आयो । यसबाहेक रुकुम पश्चिमका ग्रामीण भेगमा अहिले पनि धेरै गर्भवतीहरू जोखिम मोलेर प्रसूति हुन बाध्य भएको इन्सेक रुकुम पश्चिम प्रतिनिधि मनीषा केसी बताउँछिन् । रेकर्ड र जानकारीमा आउन नसकेका धेरै यस्ता घटनाका कारण आमा र बच्चाको ज्यानसमेत गएको हुन सक्ने मनीषाको अनुमान छ ।

रुकुम पश्चिमका ६ वटै स्थानीय तहका विभिन्न २२ स्थानमा प्रसूति सुविधासहितका स्वास्थ्य संस्था छन् । जिल्ला अस्पताल सल्लेमा विशेषज्ञ सेवासमेत उपलब्ध छ । जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ केहल विक्रम जीसीका अनुसार अस्पतालमै सुत्केरी हुन आउनेको दर बढ्दो क्रममा छ ।

तर करिब आधा जति महिला अहिले पनि प्रसूतिलाई सामान्य रूपमा लिने गरेका कारण आमा र बच्चाको ज्यान जोखिममा रहेको जीसी बताउँछन् । उनी भन्छन्, ‘गर्भवती भएपछि नियमित जाँचसमेत नगराउने र एकैचोटि सुत्केरी व्यथाले च्यापेपछि मात्रै अस्पताल खोज्ने परम्पराका कारण पनि महिला स्वास्थ्य चुनौतीपूर्ण छ ।’

विभिन्न सरकारी तथा गैरसरकारी निकायले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरिरहेको भए पनि यसको समुचित परिचालन हुन नसकेको जिल्ला अस्पताल सल्लेका जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीको भनाइ छ । स्वास्थ्य क्षेत्रमा भइरहेको लगानीलाई एकद्वार प्रणालीमार्फत भित्र्याउने र यसको योजनाबद्ध तरिकाले परिचालन गर्न सके मात्रै यसप्रकारका जोखिममा कमी आउन सक्न ओली बताउँछन् । यसका लागि सरकारले नीतिगत सुधार गरेर कार्यान्वयनमा कडा गर्नुपर्ने उनले बताए ।

कान्तिपुर 

एम्बुलेन्स आएन, बाटोमै सुत्केरी

महान्यायाधिवक्तामा दिनमणि पोखरेल सिफारिस

नुन–चामल माग्दै हस्ताक्षर संकलन अभियान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!