नुन–चामल माग्दै हस्ताक्षर संकलन अभियान

जुम्ला ,१२ पाैष ।

पातारासी क्षेत्रका स्थानीयले नुन र चामलको डिपो गाउँपालिका केन्द्रमै राखिनुपर्ने माग गरेका छन् । लामो समयदेखि माग गर्दासमेत नुन र चामलको डिपो पाउन नसकेको भन्दै घरदैलोमा पुगेर यहाँ हस्ताक्षर संकलन अभियान चलेको छ । ५ केजी नुन र २५ केजी चामलका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झट हटाउन डिपो स्थापना गर्नुपर्ने माग राखेर हस्ताक्षर अभियान चलाइएको स्थानीय भक्तबहादुर बुढाले बताए ।

उनका अनुसार गाउँगाउँमा पुगेर नुन चामलको वितरण केन्द्र राखिनुपर्ने विषयमा दबाब दिन हस्ताक्षर संकलन भइरहेको छ । यसका लागि अहिलेसम्म १ हजार ५ सय ७५ जनाले हस्ताक्षर गरिसकेका छन् ।

‘गाउँगाउँमा सिंहदरबार भनिएको छ, तर वास्तविकतामा जनताको आधारभूत आवश्यकता पनि गाउँका केन्द्रमा पाइँदैन, सरकार घरदैलोमा आएको अनुभूति कसरी गर्ने ?,’ उनले भने, ‘सामान्य नुनदेखि सुनसम्म पालिका केन्द्रमै पाइनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यता पूरा गर्न दबाब दिन यो अभियान थालिएको छ ।’

स्थानीयले संकलन गरेको हस्ताक्षर स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालय र खाद्य तथा व्यापार कम्पनी लिमिटेडमा पठाइनेछ । पातारासीमा ७ वडा छन् । चामलका लागि यहाँका बासिन्दालाई सदरमुकाम खलंगा धाउनुको विकल्प नभएको स्थानीय श्याम नेपालीले बताए ।

उनका अनुसार पातारासी–३ हुरीमहरीबाट सदरमुकाम खलंगा आउजाउ गर्न दुई दिन लाग्छ । ‘त्यसैमाथि कच्ची सडकमा नियमित सवारी चल्दैन,’ उनले भने, ‘हामीलाई त नुन–चामलकै लागि वर्षौंदेखि सास्ती भइरहेको छ ।’ नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले पातारासीका जनताको माग जायज भएको बताए । तर केन्द्रीय कार्यालयबाट स्वीकृत नहुँदा डिपो स्थापना गर्न मुस्किल भएको उनको गुनासो छ ।

कान्तिपुर 

नुन–चामल माग्दै हस्ताक्षर संकलन अभियान

एम्बुलेन्स आएन, बाटोमै सुत्केरी

नुन–चामल माग्दै हस्ताक्षर संकलन अभियान

कृषिमा परिचय बनाउँदै दम्पती

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!