एमसिसी नेपालको जडिबुटी र युरेनियम कब्जा गर्ने उद्देश्य भएकाे अाराेप

रगवीर विश्वकर्मा
सुर्खेत, १४ फागुन ।
एमसिसीको बिरूद्धमा संयुक्त जनआन्दोलन समिति सुर्खेतको आयोजनामा शुक्रबार सुर्खेतमा कोण् सभा सम्पन्न गरियो । कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश सचिव पूर्णबहादुर शाहीले जल, जंगल, जमिन, नदिनाला, खानी, जडिबुटी युरेनियम लगायतका साधन स्रोत कब्जा गर्ने, लुट्ने उद्देश्यले आएको हुँदा एमसिसी खारेज हुनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र समाजवादीका कर्णाली प्रदेश इन्चार्ज धर्मराज बडुवालले एमसिसीलाई स्वायत्ततामा हस्तक्षेप गर्दै नेपालका ऐन, कानुन, संविधानलाई अधिन गर्ने कुचेष्टा भएकोले खारेज हुनुपर्ने बताउनुभयो । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका सुर्खेत जिल्ला अध्यक्ष यमनले भारतमा आएर जसरी अंग्रेजले शासन गरेको थियो त्यो भन्दा खतर्नाक तरिकाले आएकोले एमसिसी खारेज गर्न माग गर्नुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य विप्लवले संसारका धेरै ठाउँमा सेना राखे जस्तै नेपाललाई पनि आइपिएसको अंग बनाउँदै आफ्नो सेना ल्याएर चीनलाई घेराबन्दी गर्ने भएकोले एमसिसी भित्र सडयन्त्र भएको बताउनुभयो ।
सुर्खेतको एरीचोकमा शुक्रबार दिउँसो १ बजे देखि ३ बजेसम्म सम्पन्न उक्त कोण सभामा कबिता शाही र रमिता शाहीले एमसिसी बिरोधी देउडा गित प्रस्तुत गर्नुभएको थियो भने केही गजल र कविता समेतको प्रस्तुति रहेको कार्यक्रमको संचालन बिष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।







