समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा कोहलपुरमा निःशुल्क अर्थोपेडिक तथा दन्त शिविर

बाँके,२३ असोज ।
सामान्य स्वास्थ्य समस्याका लागि समेत अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले बाँकेको कोहलपुरमा निःशुल्क अर्थोपेडिक तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कौशल्या मेमोरियल अस्पतालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा कोहलपुर नगरपालिका–१४ मा आयोजित शिविरमा एक सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण, उपचार तथा विशेषज्ञ चिकित्सकीय परामर्श सेवा लिएका छन् ।
शिविरमा अर्थोपेडिक सर्जन डा. घनश्याम चापागाईं, दन्त चिकित्सक डा. सुरक्षा योगीलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्यसम्बन्धी परामर्श दिएको थियो ।
विशेषगरी हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्या, ढाड तथा कम्मर दुख्ने, जोर्नी दुख्नेलगायत समस्या भएका बिरामीले अर्थोपेडिक विशेषज्ञसँग प्रत्यक्ष परामर्श लिएका थिए । त्यसैगरी दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी समस्या भएका स्थानीयले दन्त चिकित्सकबाट परीक्षण तथा आवश्यक उपचारसम्बन्धी सुझाव लिएका थिए ।

स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य परीक्षण तथा परामर्शका लागि टाढाको अस्पताल धाउनुपर्ने बाध्यता कम भएको स्थानीयले बताएका छन् । आर्थिक तथा भौगोलिक कारणले नियमित रूपमा विशेषज्ञ सेवा लिन नसक्ने नागरिकका लागि यस्ता शिविर उपयोगी हुने अस्पतालले जनाएको छ ।
कौशल्या मेमोरियल अस्पतालले कोहलपुर नगरपालिकाका पाँचवटा वडालाई लक्षित गरी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ । अस्पतालका अनुसार समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य समस्या समयमै पहिचान गर्ने र आवश्यक उपचार तथा परामर्शका लागि सहजीकरण गर्ने उद्देश्यले शिविरलाई निरन्तरता दिइएको हो ।
अस्पतालले स्वास्थ्य समस्या जटिल भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिलाई कम गर्न समयमै स्वास्थ्य परीक्षण गराउने बानी विकास गर्नसमेत यस्ता शिविरले सहयोग पुग्ने जनाएको छ । विशेषगरी हाडजोर्नी, दाँत तथा मुखको समस्या सुरुआती चरणमै पहिचान भएमा आवश्यक उपचार तथा सावधानी अपनाउन सहज हुने चिकित्सकहरूले बताएका छन् ।
शिविर सञ्चालन तथा व्यवस्थापनमा स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको समेत महत्वपूर्ण भूमिका रहेको अस्पतालले जनाएको छ । शिविर सफल बनाउन सहयोग गरेको भन्दै अस्पतालले स्वास्थ्य चौकीका इन्चार्ज सुदीप देवकोटासहित सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगी टोलीप्रति धन्यवाद व्यक्त गरेको छ ।
समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने यस्ता अभियानले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनुका साथै सामान्य स्वास्थ्य समस्याका लागि समेत टाढा जानुपर्ने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ । साथै, समयमै स्वास्थ्य परीक्षण, रोगको पहिचान र चिकित्सकीय परामर्श लिन नागरिकलाई प्रोत्साहित गर्ने भएकाले यस्ता शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।






